अर्थ

बेसार खेतीप्रति रौतहटका किसान आकर्षित

रौतहटको केही गाउँमा बेसार खेतीप्रति सर्वसाधारण किसान आकर्षित भएको देखिएको छ। बेसार खेतीले राम्रो आम्दानी दिने आशाले किसानहरु बेसार खेतीप्रति आकर्षित भएका हुन्।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ समनपुरका कामेश्वर सहनीले दाजुभाइ मिलेर करिब डेढ बिगाहा जमिनमा बेसार खेती गरेका छन्। समनपुरमा करिब पचास बिगाहा खेतीमा बेसार लगाइएको सहनीको भनाइ छ। मुख्य गरी बागमती नदीको बगर र त्यसको आसपासमा बेसार खेती गरिएको सहनीको भनाइ छ।  

बेसार खेतीको लागि बागमती नदीको बगरको माटो उपयुक्त भएको तथा यस वर्ष बेसार खेतीको लागि उपयुक्त पानी परेको हुनाले बेसार खेती फस्टाएको र उत्पादन राम्रो हुने विश्वास लिएको अर्का किसान सन्तोष सहनीको दाबी छ। बेसार खेतीको लागि मौसम उपयुक्त भएकोले अपेक्षा गरेको जस्तो बेसारको उत्पादन हुने र अहिले बेसारको मूलय पनि राम्रो रहेकोले किसानले पर्याप्त आम्दान गर्ने सम्भावना रहेको पनि सहनीको भनाइ छ।  

गढीमाई नगरपालिकाको समनपुर, बलुवा, धर्मपुर, बखरी, पकाहा, बलुवा, हरैयालगायतका गाउँका किसानले व्यावसायिक बेसार खेती गरेका छन्। व्यावसायिक बेसार खेतीप्रति किसानको आकर्षण बढेको देखिएको छ।  

बेसार खेती पनि नगदे बाली भएको र तत्कालै नबिग्रिने भएकोले किसानको आकर्षण बेसार खेतीप्रति बढेको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवको भनाइ छ। उत्पादन पनि राम्रो हुने र हातमा नगद पनि पर्ने भएकोले किसानहरु बेसार खेतीप्रति आकर्षित भएका हुन्, मेयर यादव भन्छन्।

प्रकाशित: १२ मंसिर २०७७ ०८:१६ शुक्रबार

बेसार खेती