अर्थ

आठ महिनादेखि केबलकार बन्द हुँदा व्यवसाय चौपट

गत वर्ष १० लाख भक्तजनले केबलकार भएर मनकामना मन्दिरसम्मको यात्रा गरेका थिए। केबलकारले मात्रै ५५ देखि ६० करोडको कारोवार गर्‍यो। बिगत ८ महिनायता मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकारमा भक्तजन छैनन्, न त एक रुपैयाँ आम्दानी नै छ। गत चैत ८ गतेदेखि बन्द केबलकार अहिले सम्म बन्द रहेको स्टेशन म्यानेजर उज्वल शेरचनले बताए।

‘केबलकारलाई पुरानै अवस्थामा फर्कन अझै धेरै समय लाग्न सक्छ’ उनले भने ‘वार्षिक आउने भक्तजन मध्ये दुई लाख भारतीय हुन्थे।’ कोरोनाको बढ्दो संक्रमणसँगै छिमेकी देश भारतबाट तत्काल भक्तजन पहिले जसरी आउने सम्भावना छैन। देशभित्रका भक्तजन पनि भिडभाड गरेर आउजाउ गर्ने अवस्था तत्काल रहँदैन। सरकारले मठ मन्दिर, धार्मीकस्थलहरु खोल्न अनुमती नदिएकाले केबलकार आफैँले संचालन गर्न समस्या भएको मनकामना दर्शन प्रालीले जनाएको छ।  

केबुलकार बन्द हुँदा मनकामना दर्शन प्रालीलाई मात्र होइन त्यस क्षेत्रका स्थानीयको ब्यापार व्यवसाय पनि चौपट भएको छ। चितवनको कुरिनटारदेखि मनकामना मन्दिर आसपासका ब्यापार व्यवसाय चलेको छैन। उद्योग बाणिज्य संघ मनकामना बजार इकाईले ब्यापारी व्यवसायी र स्थानीयको अनुरोधमा आयोजना गरेको भेलाले तत्काल केबलकार र मन्दिर खोल्नुपर्ने निश्कर्ष निकालेको हो।  

उद्योग बाणिज्य संघ मनकामना बजार इकाईका अनुसार ६० भन्दा बढी होटल र अन्य गरी एक सय ५० भन्दा बढी ब्यवसायी मारमा परेका छन्। मनकामना बजार क्षेत्रको व्यवसाय मन्दिर आउने भक्तजन लक्षित हो। केबलकार बन्द भएपछि भक्तजन आउने क्रम घटेको छ। सडकबाटो भएर आउने, पैदल आउनेहरु पनि मन्दिर बन्द हुँदा पुगेका छैनन्। केबलकार बन्द हुँदा स्थानीयलाई आउजाउ गर्न समेत सास्ती भएको छ।  

मनकामना बजार इकाईका अध्यक्ष हरि श्रेष्ठले भने ‘स्थानीयले केबलकार खोल्न र व्यवसाय संचालन गर्न चाहेका छन्।’ आइतबार स्थानीयको भेलाले वडा नम्बर २ र ३ लाई पत्राचार गर्दै मनकामना मन्दिर र मनकामना दर्शन प्रालीले संचालन गर्ने केबलकार सुचारु गराउन पहल गरिदिन आग्रह गरेका छन्। ‘केही सयमभित्र पहल भएन र खुलेन भने हामी अर्को बिकल्प खोज्नुपर्ने अवस्थामा छौँ’ इकाई अध्यक्ष श्रेष्ठले भने।

मनकामना दर्शन प्रालीले स्थानीय सरकार र सर्वसाधारणले अनुमती दिएको एक साताभित्र केबलकार चलाउन सक्ने जनाएको छ।  वडा नम्बर ३ का वडा अध्यक्ष अचलबाबु थापाले केबलकार खोल्न समस्या नभएको तर मन्दिर खोल्न समस्या भएको बताए। अहिले पनि भक्तजन गाडी र पैदल हिँडेर फाट्टफुट्ट आइरहेकाले उनीहरुको सजिलोका लागि केबलकार खोल्न सकिने उनले बताए। ‘मन्दिर खोल्दा मानिसको आउजाउ बढी हुन्छ, कोरोनाको डर हुने भएकाले भोली मन्दिर बन्द गर्नुपर्ने अवस्था आयो भने सन्देश राम्रो जाँदैन’ उनले भने। बाहिरबाट दर्शन गरेर फर्कने गरी केबलकार भने संचालन गर्ने विषयमा सरोकारवालाबीच थप छलफल गर्ने तयारी वडा कार्यालयको छ।

प्रकाशित: ९ मंसिर २०७७ ०८:४५ मंगलबार