अर्थ

उत्पादनमुखी काममा लाग्न प्रदेश सरकारको अपिल

कर्णाली प्रदेश

विश्वभरि फैलिएको कोभिड­–१९ अर्थात् कोरोना भाइरस लामो समयसम्म न्यूनीकरण नभएपछि कर्णाली प्रदेश सरकारले रोजगारी गुमाएर घर फर्किएका युवायुवतीलाई उत्पादनमुखी काममा जोडिन अपिल गरेको छ । कोरोना भाइरसको औषधि बनि नसकेको र घर फर्किएका युवायुवती कामविहीन हुँदा प्रदेश सरकारले उनीहरूलाई उत्पादनमुखी काममा जोडिन अपिल गरेको हो ।

गाउँमा फर्किएको श्रमशक्ति गाउँमै उत्पादनमुखी काममा जोडिँदा सिंगो मुलुकको आर्थिक समृद्धि हुने कर्णाली प्रदेश सरकारको भनाइ छ । अहिले घर फर्किएकाहरू उत्पादनमुखी काममा जोडिएर आयआर्जन गर्नुपर्ने प्रदेश सरकारले बताएको छ । कोरोना भाइरस त्रासबीच रोजगारी गुमाएर फर्किएकाहरूका लागि विशेष ‘प्याकेज’ नभए पनि सरकारले सञ्चालन गरेका अन्य कार्यक्रममा जोडिन सकिने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । ‘अहिले तत्काललाई यो वा त्योलाई भनेर कार्यक्रम छैन,’ प्रदेश सरकारकी प्रवक्तासमेत भएकी उनले भनिन्, ‘ऊ र म नभनेर कार्यक्रममा सबै जोडिन सक्नुहुन्छ ।’  

आगामी दिनमा प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावितलाई लक्षित गरेर कार्यक्रम ल्याउने भन्दै उनले भनिन्, ‘अहिले विभिन्न उत्पादनमूलक काममा जोडिन सकिन्छ ।’ कृषि कामका लागि आर्थिक समस्या हुन नदिन प्रदेश सरकारले ब्याजमा अनुदानजस्ता कार्यक्रमसमेत ल्याएको उनले बताइन् । विभिन्न कृषिजन्य कामबाट आयआर्जन गर्न सकिने उनको भनाइ छ ।

कृषिको सम्भावना भएको कर्णालीमा जडीबुटी, तरकारी, फलफूल, अन्य कृषिजस्ता उत्पादनमुखी काममा जोडिन सकिने प्रदेश सरकारको भनाइ छ ।

‘पैसा छैन भनेर काम नगरेर बस्नु भएन,’ उनले भनिन्, ‘ऋण लिएर काम गर्न सकिन्छ । जसको ब्याज प्रदेश सरकारले तिर्छ ।’ अर्गानिक नमुना बस्ती निर्माणमा समेत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन् । अहिले नै पहिलेजस्तो गरी काम गर्न सकिने स्थिति नभएको भन्दै उनले घरमा उत्पादनमुखी काम गर्दा कोरोना संक्रमणको जोखिम पनि नहुने र आर्थिक लाभ पनि लिन सकिने बताइन् । कोरोना भाइरसको त्रासका कारण सरकारका कार्यक्रमसमेत प्रभावित हुँदा रोजगारी गुमाएकाहरू कामविहीन भएका थिए ।  

कृषिको सम्भावना भएको कर्णालीमा जडीबुटी, तरकारी, फलफूल, अन्य कृषिजस्ता उत्पादनमुखी काममा जोडिन सकिने प्रदेश सरकारले जनाएको छ । आलु, टमाटर, सागसब्जीलगायत तरकारी, माछा, बाख्रा, कुखुरा पालनजस्ता कामबाट आयआर्जन गर्न सकिने नागरिक समाजका खिम रेग्मीले जानकारी दिए । ‘घरमा खाली समय बस्नुभन्दा उत्पादनमुखी काममा लाग्दा आयआर्जन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘जसले गर्दा घरमै रोजगारी सिर्जना हुन्छ ।’

कोरोना भाइरसका कारण रोजगारी गुमाएर घर फर्किएकाले आफू लक्षित कार्यक्रम ल्याउने अपेक्षा गरेका थिए तर, स्थानीय र प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएकाहरूलाई लक्षित गरेर कुनै कार्यक्रममा ल्याउन सकेका छैनन् । फलस्वरूप घर फर्किएका युवायुवती पुनः कोरोना संक्रमणको जोखिम मोल्दै रोजगारीका लागि गन्तव्यमा हिँडेका छन् । कोरोना संक्रमणका कारण गाउँ फर्किएकालाई लक्षित गरेर कार्यक्रम ल्याउन प्रदेश तथा स्थानीय सरकार चुक्दा देशले ठूलो श्रम शक्ति विदेश पठाउनु पर्ने बाध्यता छ ।  

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट ल्याएको छ । प्रदेश सरकारले कोरोना संक्रमणबाट उत्पन्न महामारी, त्यसले सिर्जना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ । यस्ता कार्यक्रममा सबैजना सहभागी हुनुपर्ने प्रदेश सरकारले बताएको छ । अन्य पूर्वाधार र मुख्यमन्त्री रोजगार कार्यक्रममा समेत कामविहीन भएकाहरू जोडिन सकिने बताइएको छ ।

प्रकाशित: ९ मंसिर २०७७ ०४:३१ मंगलबार

कर्णाली प्रदेश उत्पादनमुखी काम