अर्थ

लाङटाङ क्षेत्रका होटल सञ्चालन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाका अनुसार १९ दिनपछि होटल खोलिएको हो । लाङटाङ पदमार्गमा सञ्चालित सम्पूर्ण होटल सञ्चालनमा आएको छ । लाङटाङ आउने पर्यटकले पिसिआर गरेर आउन उनले आग्रह गरेका छन् ।  

‘हाम्रो क्षेत्रमा अहिलेसम्म कोरोना देखिएको छैन,’ उनले भने, ‘मान्छेको आवतजावत बढेपछि जोखिम बढी हुन्छ ।’ पिसिआर परीक्षण गरेर आएमा सबैजना ढुक्क हुने उनको भनाइ छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि गएको कार्तिक १८ गतेदेखि यस क्षेत्रमा सञ्चालित होटल, लज तथा चियापसल बन्द गरिएको थियो । त्यसअघि लाङटाङ क्षेत्रमा दैनिक ६० जनासम्म स्वदेशी पर्यटक गइरहेका थिए ।  

पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिन लगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आइसकेको गोसाइँकुण्ड गाउँपालिका–४ को वडा कार्यालयले जनाएको छ ।  

असोजदेखि कात्तिक १५ सम्म लाङटाङ जाने नेपाली पर्यटकको संख्यामा वृद्धि हुँदै गएको र होटल बन्द भएपछि सून्यमा झरेको क्यान्जिनका होटल व्यवसायी ग्याल्बु लामाले बताए । ‘यस क्षेत्रका होटल बन्द हुनुअघि दैनिक ६० जनासम्म पर्यटक आइरहेका थिए,’ उनले भने, ‘होटल सञ्चालनमा आएपछि पुनः पर्यटकको आगमन हुने आसा छ ।’ जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् । लाङटाङ पुग्ने पर्यटकमध्ये सीमित पर्यटकले गन्जला पास गर्ने गरेका छन् । केही पर्यटक भने धार्मिकस्थल गोसाइँकुण्ड हुँदै सुन्दरीजलसमेत जान्छन् ।

प्रकाशित: ९ मंसिर २०७७ ०४:२० मंगलबार

लाङटाङ क्षेत्र होटल सञ्चालन