निर्माण गरिएको एक वर्ष नबित्दै मानमत–कलैया–मटिअर्वा हुलाकी सडक भत्किन सुरु भएको छ । गलत डिजाइन र टिपरहरूको चापका कारण हुलाकी सडक भत्किन थालेको हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने पिलुवादेखि भारतसँगको सीमा नाकामा पर्ने मटिअर्वा छोटी भन्सारसम्म जोड्न उद्देश्यले भारतीय सहयोगमा उक्त हुलाकी सडक निर्माण कार्य अगाडि बढाइएको थियो ।
२७ किलोमिटर लामो मानमत–कलैया–मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिष÷डिएस जेभी निर्माण कम्पनीले २०७६ वैशाखसम्ममा निर्माण सम्पन्न गर्नेगरी ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरिएको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।
मानमत–कलैया– मटिअर्वा हुलाकी सडकका भत्किएको भागहरू मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको हुलाकी राजमार्ग आयोजना प्रमुख रोहित कुमार बिशुरालले जानकारी दिए । निर्माण कम्पनीलाई नै निर्माण सम्पन्न गरेको समयदेखि २ वर्षभित्र उक्त सडकको कुनै भाग भत्किएमा मर्मत गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको उनले बताए ।
कलैया उपमहानगरपालिकाको २४ श्रीपुर र सखुई टोलमा मानमत–कलैया–मटिअर्वा सडक खण्ड भत्केको स्थानीयको भनाइ छ । निर्माण कम्पनीका प्रतिनिधि निपेन्द्र कार्कीले सवारी साधनको भारअनुसार डिजाइन र निर्माण नगराइँदा सडक भत्कन सुरु भएको बताए ।
बढीमा १५ टनसम्म भारी बोकेर सवारी साधन चल्ने डिजाइन गरेर उक्त सडक निर्माण गरिएको कम्पनीले जनाएको छ । अहिले सडक निर्माण भएपछि २५ टनसम्म भारी लोड गरेर गाडीहरू गुड्ने गरेकाले यो समस्या आएको कार्कीको भनाइ छ ।
सडकको भार क्षमताभन्दा झन्डै दोब्बर भारी लोड गरेर सवारी साधन गुड्ने भएकाले पनि उक्त सडक सडकको एक दुई स्थानमा मात्रै सडक भत्केको र त्यसको मर्मत गर्न सुरु गरिएको कार्कीले बताए ।
कलैया बजारमै अधुरो रह्यो सडक
२७ किलोमिटर लामो मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डअन्तर्गत पर्ने कलैया बजार क्षेत्रभित्रको लगभग चार किलोमिटर लामो सडक अधुरो नै रहेको छ ।
तोकिएको ठेक्काको सयम बितेपछि कलैया बजार क्षेत्रका स्थानीयले सडकमा पर्ने भौतिक संचरना खाली गर्दा सडक अधुरै रहन गएको हुलाकी राजमार्ग आयोजना प्रमुख बिशुरालले बताए ।
साविक सडकको मध्य भागदेखि दायाँ बायाँ १५–१५ मिटरसम्म खाली गर्नु पर्नेमा स्थानीयले सुरुमा बजार क्षेत्रको सडकलाई ७.५–७.५ मिटर मै निर्माण गर्न माग गरेर विरोध सुरु गरेको र त्यसपछि मुआब्जा बढाउन अनावश्यक माग गर्दा ठेक्काको म्याद बितेपछि सडक अधुरो रहन गएको आयोजनाका अधिकारीको भनाइ छ ।
कलैया बजार क्षेत्रका सडक निर्माण हुन नसकेका कारण सरकारको एक अर्बभन्दा बढी लगानी र स्थानीयले सडकका लागि भत्काएको भौतिक संरचना दुवै खेर जाने अवस्थामा पुगेको सरोकारवालाको गुनासो छ ।
प्रकाशित: ९ मंसिर २०७७ ०४:१४ मंगलबार