अर्थ

कुकुरकाे सहयाेगमा लाखाैँकाे भेडापालन

धवलागिरी गाउँपालिका–५,मल्कवाङमा हिमबहादुर छन्त्याल (देवान) को भेडीगोठमा कुकुर । तस्बिर : हरिकृष्ण गौतम

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा हिमबहादुर छन्त्याल (देवान) को खर्कमा रहेका पाँच सय भेडाहरूसँगै पाँच वटा भोटे कुकुर छन्। तीन वर्षदेखि खर्कमै बिताउने गरेका छन्त्यालका भेडाको बथानको प्रमुख रक्षक नै कुकुर हो। 

घना जंगलमा भेडाबाख्रा र आफ्नो सुरक्षाको लागि छन्त्यालले एउटा कुकुरलाई ८० हजार नगद दिएर किनेर मुस्ताङ र रोल्पाबाट ल्याएका थिए। जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा उनले काँडेमाला लगाईदिएका छन्। दिनभरी भेडासँगै हुने कुकुर रातको समयमा जंगलमा छरिएर बस्छन्। करिब १२ वर्षसम्म मलेसिया र सिंगापुरमा बिताएर भेडापालनमा सक्रिय भएका छन्त्यालको करिब ६० लाखको लगानीमा सुरु गरेको भेडापालनमा सबैभन्दा भरपर्दो सहयोगी नै कुकुर बनेको छ।  

छन्त्यालजस्तै रघुगंगा गाउँपालिका–८ दुवाडीका डालचन्द विश्वकर्माका साढे दुई सय भेडाबाख्रालाई जंगली जनावरबाट जोगाउन गोठको सुरक्षा गर्ने जिम्मा कुकुरकै हो। गाउँदेखि २/३ दिनको पैदल यात्रापछि पुगिने धौलागिरि हिमालको फेदीसम्मै चरणको लागि लैजानुपर्ने भएकाले ‘कुकुर’ गोठमा अनिवार्य हुन्छ। ‘कुकुर नहुँदा चितुवाले भेडा सखाप पार्छ,‘लगानी जोगाउन कुकुरको सहयोग आवश्यक छ’ छन्त्यालले भने। उनले गोठमै जन्मिएको छाउरालाई १० हजारमा समेत बिक्री गरेको बताउँदै कुकुरको लगानी समेत सुरक्षित रहेको बताए। गतवर्ष गोठमा कुकुर नहुँदा चितुवाले करिब ५ लाख बराबरको भेडा मारेको छन्त्यालले बताए।  

अनकन्टार हिमालको फेदीमा गरिने भेगाबाख्रा पालनको लागि भने कुकुर अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेको अर्का ब्यवसायी विकले बताए। ‘यहाँ मेरो साथि भनेकै कुकुर हो,‘कुकुरले मेरो नै ज्यान जोगाएको छ’ उनले भने। जंगली जनावर बाघ, भालुको सख्ंया रहेकाले गोठमा आक्रमण गरेपनि सजिलै प्रतिकार गर्ने गरेको उनले बताए। एकान्त, बस्तीदेखि धेरै टाढा र घना जंगलमा बस्ने सबैजसो गोठालाहरुले साथी र प्रतिबद्ध रक्षकको रुपमा २ भन्दा बढी कुकुर पालेको मल्कवाङमा अमर छन्त्यालले बताए। 

कुकुर बिना गोठको जिवन र भेडाबाख्रापालन सम्भव नहुने उनले बताए। म्याग्दीका हिमाली क्षेत्रमा भेडापालन गर्नेहरुले पालेको कुकुरबाट जन्मिएका छाउरा समेत पोखरा लगायत काठमाडौबाट समेत बुकिङ हुने गरेको छ। हिन्दु नेपालीको दोस्रो महानपर्व तिहारमा कुकुर तिहारमा समेत गोठमै भब्य पूजा हुने गरेको छ। हिन्दु मान्यता अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानको रुपमा कुकुरलाई पूजा गरिन्छ।

प्रकाशित: २९ कार्तिक २०७७ १२:५९ शनिबार