अर्थ

रसुवागढी नाका जोड्ने सडकको ६२ प्रतिशत काम सकियो

रसुवागढी नाका जोड्ने सडक खण्डको पहिलो खण्डमा पर्ने गल्छी मैलुङ सडकको स्तरोन्नति गरिँदै । तस्बिर: नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ–रसुवागढी सडक अन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम ६२ प्रतिशत सकिएको छ । नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ ।  

जसअन्तर्गत पहिलो खण्डमा पर्ने गल्छी–मैलुङ सडक खण्डको ६२ प्रतिशत भौतिक प्रगति भएको हो । यो खण्डको दूरी ४६ किलोमिटर छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका अनुसार सडकमा पहिलो चरणको २१ किलोमिटर कालोपत्रे गरिएकामा १३ किलोमिटर दोस्रो चरणको कालोपत्रे गरिएको छ ।  

अहिले कालोपत्रे गर्ने, वाल लगाउने र पहरा काट्ने लगायत काम चलिरहेको छ । गल्छी मैलुङ सडकको स्तरोन्नतिको काम आगामी पुससम्मका लागि थप गरिएको छ । दोस्रो खण्डको रूपमा रहेको मैलुङ–स्याफ्रुबेसी सडकको स्तरोन्नतिका लागि निर्माण व्यवसायीसँग सम्झौता भएर निर्माण कार्य अघि बढेको छ । वर्षाका कारण सडक खण्डको विभिन्न स्थानमा पहिरो झरेकामा अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।  

त्यसैगरी, स्याफ्रु–रसुवागढी खण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकामा अहिले काम अघि बढेको छैन । नेपाली पक्षले बिजुलीको पोल सार्ने कार्य अघि बढाएको छ । कोभिड–१९ का कारण यो सडक खण्डको काम अघि बढ्न नसकेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए ।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डमा निर्माण हुने ३२ वटा पुलमध्ये ११ वटाको डिजाइन र निर्माण कार्य भइरहेको छ । जसमा १० वटाको अहिले निर्माण कार्य भइरहेको योजनाले जनाएको छ । ५ वटा पुल मूल्यांकनको चरणमा रहेको छ । बाँकी पुलको डिपिआर भइरहेको र यसै आर्थिक वर्षमा सम्झौता हुने उनले बताए ।  

सल्लेरी खण्डमा जग्गा यकिन गर्न नसकिएको भनेर नापी कार्यालयले जानकारी दिएको, टिमुरे खण्डमा लामो समयदेखि मुआब्जाको दररेट निर्धारण हुन नसकेको, यस आर्थिक वर्षमा विनियोजित रकम वितरण भइसकेको र थप ५९ करोड माग गरी फाइल अर्थ मन्त्रालयमा पुगेको भए पनि प्राप्त हुन नसकेको योजनाले जनाएको छ ।  

पिपलटारदेखि ढुंगेसम्म अदालतको स्टे अर्डरका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए । यी समस्याका कारण सडकको स्तरोन्नतिमा ढिलाइ भएको हो । यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर छ । बेत्रावती–मैलुङ स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन । गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नु पर्दैन ।  

मैलुङ­–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ देखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ । 

प्रकाशित: २५ कार्तिक २०७७ ०५:१३ मंगलबार

गल्छी–मैलुङ–रसुवागढी सडक