अर्थ

नियमनसहित नाका सञ्चालन गर्न सुझाव

सीमा बन्द, आवागमन चालु

वीरगन्जसँग जोडिएको भारतीय सीमास्थित मितेरी पुल । फाइल तस्बिर: नागरिक

गत कातिक ६ गतेदेखि छिमेकी मुलुक भारतले आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय सीमानाका खोल्यो। नेपाल सरकारले भने कात्तिक २९ सम्म नाका नखोल्ने निर्णय गरेको छ। तर वीरगन्ज क्षेत्रमा सीमापारिबाट बेरोकटोक आवागमन भइरहेको छ। बिहार प्रान्तमा जारी प्रदेशस्तरीय निर्वाचनका लागि सीमा नाका बन्द रहेको समयबाहेक भारतबाट नेपाल पस्न कुनै अवरोध छैन।

नेपालतर्फ नाका बन्द रहे पनि जनजीवनका लागि आवश्यकता र बाध्यताका कारण मानिसको आवागमन जारी रहेको सरोकारवालाको भनाइ छ। सीमानाका एकतर्फी रुपमा बन्द रहँदा त्यसको प्रतिकूल असर जनजीवन र अर्थतन्त्रमा परेको उनीहरुको टिप्पणी छ। ‘अर्थतन्त्र चलायमान गराउन पनि नाका खोलिनुपर्छ तर व्यवस्थित ढंगले। मानिसको आवागमन रोकिएको छैन, लुकीछिपी आइरहेका छन्, गइरहेका छन्। त्यसलाई व्यवस्थित गर्न जरुरी छ,’ प्रदेश २ का सांसद ओमप्रकाश शर्माले भने, ‘व्यवस्थित र नियमबद्ध ढंगले सीमानाका खुला नगरे अब गाह्रो हुन्छ।’ व्यापार व्यवसायमात्र होइन, औषधि उपचार, अध्ययन, जागिर–जीविकोपार्जनका लागि दुवै देशका नागरिक परस्पर आश्रित रहेकाले नियमनसहित नाका सञ्चालन आवश्यक रहेको उनको तर्क छ।

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मापदण्ड बनाएर सीमामा औपचारिक आवागमन सुचारु गर्नुपर्ने बताए। ‘मापदण्ड निर्धारण गरेर औपचारिक रुपमा आउन जान दिने खालको व्यवस्था गर्न सकिन्छ,’, उनले भने, ‘नेपाली अर्थतन्त्र उकास्न यहाँ पर्यटक आउने वातावरण बनाउन आवश्यक छ। त्यसको लागि सीमानाका त खोल्नै पर्छ।’ सबै ठाउँबाट प्रवेश नदिई नेपालमा मुख्य १० वटा प्रवेश नाकामा आवागमन खोल्नुपर्ने उनको भनाइ छ। राजधानी काठमाडौं कोरोना संक्रमणबाट बढी प्रभावित भएको हुनाले त्यहाँका लागि सरकारले विशेष व्यवस्था लागु गरी बाँकी क्षेत्रका लागि आवागमन खोल्नुपर्ने उनले बताए।

बिहार प्रान्तमा जारी प्रदेशस्तरीय निर्वाचनका लागि सीमानाका बन्द रहेको समयबाहेक भारतबाट नेपाल पस्न कुनै अवरोध छैन।

नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैधले नेपाल सरकारले भारतसँगको सीमानाका सतर्कताका मापदण्ड अपनाएर खोल्नुपर्ने बताए। ‘हवाई मार्ग हुँदै दैनिक हजारौं मानिस भित्रिरहेकै छन्। स्थलमार्गबाट हुने आवागमन व्यवस्थित बनाउँदै अब सुचारु गर्नुपर्छ,’ उनले भने, ‘चोरबाटो प्रवेश गर्ने अवस्था हटाएर स्वास्थ्य सुरक्षाको मापदण्ड बनाई आउनेजाने व्यवस्था गर्नुपर्छ।’

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट अनाधिकृत रुपमा प्रवेश गरेका दुईवटा चारपांग्रे गाडी समातेर भन्सार चलान गरेको छ। चोरी पैठारी भएको आशंकामा प्रहरीले गाडी शुक्रबार वीरगन्ज–१० आदर्शनगरबाट नियन्त्रणमा लिएको थियो। बिआर ०५ डब्लु ५२८३ नम्बरको एउटा कार र डिएल ९ सि ५६४४ नम्बरको अर्को गाडी प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाएको हो। पछिल्ला दिनमा वीरगन्ज महानगरपालिका र ग्रामीण क्षेत्रमा भारतीय नम्बरका मोटरसाइकल जताततै देखिन्छन्, छिटपुट रुपमा चारपांग्रे पनि हिँडेको भेटिन्छ।

प्रकाशित: २४ कार्तिक २०७७ ०२:३७ सोमबार

नाका सञ्चालन