अर्थ

बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात

ताप्लेजुङको फुङ्लिङमा उत्पादित तरकारी धमाधम झापातर्फ निर्यात हुन थालेको छ। फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको बुङ्कुलुङमा उत्पादित तरकारी झापाको बिर्तामोडतर्फ निर्यात हुन थालेको हो।  

पछिल्लो तीनसाता यता बुङ्कुलुङबाट मात्र १० हजार किलोग्राम बन्दाकोपी झापाको बिर्तामोड निर्यात गरिएको स्थानीय तरकारी उत्पादक पासाङ्रिता शेर्पाले जानकारी दिए। उनका अनुसार व्यक्ति र समूहमा मिलेर उत्पादन गरेका तरकारी बाली झापातर्फ पठाइन्छ। क्रियटिएभ बद्रर्स समूह खोलेर त्यहाँ व्यवसायिक उत्पादन हुने गरेको छ भने व्यक्तिले उत्पादन गरेका तरकारी समेत बिक्रीका लागि पठाइन्छ।  

यसअघि मुला,काउली र टमाटर समेत बिक्रीका लागि झापातर्फ पठाइएको शेर्पाले जानकारी दिए। धेरै उत्पादन हुने तरकारीबाली मध्येको एक प्रजाति आलु भने जिल्लामै खपत हुने भएकोले निर्यात गर्न नसकिएको उनले बताए। स्थानीय बजारको माग धानेर उब्रिएको तरकारी झापामार्फत तराइका बिभिन्न जिल्लामा निर्यात गरिने उनले जानकारी दिए। समूहमा उत्पादन भएको तरकारी क्रियटिएभ बद्रर्सले आफ्नै सवारीमार्फत झापातर्फ पु¥याउँछ। व्यक्तिले उत्पादन गरेका तरकारी उत्पादन स्थलमै गएर प्रचलित मूल्यमा खरिद गरेर झापाबाट पठाइन्छ।  

बुङ्कुलुङ तरकारी उत्पादनका लागि निकै राम्रो मानिन्छ। हरियो साग, काउली, ब्रोकाउली, मूला, टमाटर, गाँजर, आलु र बन्दाकोबी यो क्षेत्रमा सबैभन्दा बढी मात्रामा उत्पादन हुन्छ। हरेक हप्ताको शनिबार र मंगलबार फुङ्लिङमा लाग्ने हाटमा समेत यहाँ उत्पादन भएको तरकारी बिक्रीका लागि ल्याइन्छ। आलुका लागि यो त पकेट क्षेत्र नै हो।  

अर्गानिक उत्पादनमा ध्यान दिइने भएकोले यहाँको तरकारीबालीमा रसायनिक मलको प्रयोग नहुने शेर्पाले जानकारी दिए। अर्गानिक उत्पादनकै लागि किसानलाई जैविक मल बनाउने सीप समेत हस्तान्तरण गरिएको छ। घरेलु कार्यालय ताप्लेजुङका उद्योग अधिकृत देउप्रकाश तामाङले अघिल्लो आर्थिक वर्षको कार्यक्रममार्फत त्यहाँ जैविक मल बनाउने र प्रयोग गर्ने सम्वन्धी अनुशिक्षण सञ्चालन गरिएको बताए। गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)मार्फत बुङ्कुलुङमा जैविक मलको प्रयोग र अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादन सम्वन्धी तालिम गराइएको थियो।  

तालिम सहजीकरण संस्था कञ्चनजंघा महिला विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल न्यौपानेले तालिमको प्रतिफल अहिले त्यहाँ भइरहेको अर्गानिक उत्पादन र बजारीकरणले दिइरहेको भन्दै प्रसन्नता व्यक्त गरे।

प्रकाशित: २० कार्तिक २०७७ ०७:५१ बिहीबार

बुङ्कुलुङको तरकारी झापातर्फ निर्यात