अर्थ

दसैंमा जुम्ला, सर्खेत, नेपालगन्ज सहुलियत उडान

गो कर्णाली टुर एन्ड ट्राभल्सले सीता एयरमार्फत कात्तिक १ देखि सुर्खेत–जुम्ला, जुम्ला–नेपालगन्ज सहुलियत हवाई उडान गरिरहेको छ। कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि जुम्लावासी निकै खुसी छन्।

पहिले पाँच हजार पाँच सय रुपैयाँमा उडान भरिँदै आएकामा अहिले चार हजार एक सय रुपैयाँमा उडान हुन थालेको हो। ट्राभल्सका सञ्चालक ललित महतका अनुसार सहुलियत उडान लामो समयसम्म कायम रहनेछ। कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दसैंमा जिल्लाबाहिर र जुम्लाबाट घर जाने तयारीमा रहेका मानिसका लागि सहुलियत उडान सेवा शुरु भएको बताए।    

उनले भने, ‘कोरोनाको समयमा सबै क्षेत्र प्रभावित छ। समयमै सस्तो टिकटमा आवतजावत गर्न पाइयोस् भनेर सहुलियत उडान गरिएको हो।’ पहिलेको तुलनामा अहिले एक हजार चार सय रुपैयाँ कममा उड्न पाइने भएको हो। कर्णालीको हवाई भाडामा नागरिकले धेरै पैसा फाल्नु पर्ने बाध्यता हटेको सञ्चालक महत बताउँछन्। उनले भने, ‘सहुलियत उडानले आन्तरिक तथा बाह्य पर्यटनलाई निकै टेवा पुग्नेछ। पर्यटन प्रर्वद्धनका क्रियाकलापमा सहयोग पुग्नेछ।’

सहुलियत उडान सेवाका लागि सीता र गो कर्णाली टुर एन्ड ट्राभल्सबीच सम्झौता भएको छ। सहुलियत उडान हुन थालेपछि स्थानीय सडकमार्गभन्दा पनि हवाई मार्गमार्फत घर फर्किरहेका छन्। अन्य जहाजले नेपालगन्ज–जुम्ला वा सुर्खेत–जुम्ला पाँच हजार पाँच सय भाडा लिइरहेका छन्। गो कर्णालीले एक्कासी सहुलियत उडान भर्न थालेपछि जहाज चढ्ने यात्रुको भिड नै लाग्न थालेको छ।  

सहुलियत उडान सुरु भएपछिका उडानमा झन्डै दुई सय बढीले जहाजमा यात्रा गरेका छन्।  अहिले नेपालगन्जको जहाँज दैनिक भएको र सुर्खेतदेखि जुम्लाका लागि कात्तिक ५, ६ र ७ गते उडान कायम गरिएको छ। पहिले सुर्खेतबाट जहाज उडान नहुँदा निकै समस्या भइरहेको थियो।  

यो बेलाको भाडादरले जनतालाई सजिलो बनाएकाले सहज परिस्थितिमा पनि सहुलियत उडान निरन्तर गर्ने प्रयास भइरहेको सीता एयरले जानकारी दिएको छ। सिता एयर नेपालगन्ज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिलेजस्तै अन्य समयमा पनि सेवा दिइने गो कर्णालीसँग समझदारी भइसकेको बताए। सहुलियत उडानलाई जतिसक्दो प्रयोग गर्न आग्रह गरिएको छ।  

यो सेवा जनताका लागि निकै राम्रो भएको अधिकारकर्मी बताउँछन्। हवाई क्षेत्रको सहुलियत सर्वसाधारणको सहजताका लागि लामो समयदेखि आवाज उठाउँदै आएका उपभोक्ता महासंघ नेपालका उपमहासचिव बिष्णु प्रसाद तिमिल्सेना बताउँछन्। यो सेवा नागरिकको पक्षमा भएको हुदाँ निरन्तरता दिनुपर्ने तर्क गरे। गो कर्णालीका सञ्चालक ललित महत जुम्लावासीको सहुलियतका लागि भइरहेको यो कार्यले यात्रा निकै सहज बनाएको बताए।

उनले भने, ‘पहिले दसैं तिहारमा सबैभन्दा महंगो जहाज भाडा तिर्नुपर्ने कर्णालीवासीको बाध्यता हुन्थ्यो। यो संकटपूर्ण अवस्थामा पनि निकै सहज रुपमा सहुलियत उडान भरिरहेका छौं।  

 

 

प्रकाशित: ५ कार्तिक २०७७ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App