अर्थ

सुरु भयो नियमित प्याराग्लाइडिङ

जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो। 

उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवर्धन संरक्षण समिति र बैतडी अमेजिङ एड्भेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो। जिल्लामा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन भएको यो पहिलोपटक हो। गएको वर्ष उक्त गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो।

कम्तीमा पनि १५ देखि २० मिनेटसम्मको उक्त प्याराग्लाइडिङ यात्रा सुरु भएपछि अहिले त्यहाँ आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेको छतिवन पर्यटन प्रवर्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए। उनले भने, “हाम्रो गाउँपालिकामा असङ्ख्य पर्यटकस्थल रहेका छन्, जसको प्रचारप्रसार हुनसकेको थिएन, अहिले हामीले प्याराग्लाइडिङमार्फत ती क्षेत्रको प्रचारप्रसार गर्दैछौँ र पर्यटक पनि आउन थालेका छन्।”

रुबसकाँडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने तथा प्याराग्लाइडिङको कूल चार हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ। प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिछिल गरी तीन स्थानमा गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी दिए। रासस

प्रकाशित: ३० आश्विन २०७७ ०७:०८ शुक्रबार