अर्थ

तमोर जलाशययुक्त परियोजनाः मापदण्ड बाहिरका जग्गाको हकभोग खुल्ने

लगानी बोर्डले दियो सैद्धान्तिक सहमति

तमोर जलाशययुक्त परियोजनाका कारण रोकिएका समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका जग्गाको हकभोग कात्तिक महिनाबाट खुल्ला गर्न लगानी बोर्डले सैद्धान्तिक सहमति दिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले क्षेत्रमा निजी स्वामित्वका जग्गा नापी कार्यालयबाट उचाई एकिन गरी कारोबार गर्न पाउने व्यवस्थाका लागि गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको थियो।  

परियोजना क्षेत्रमा निजी स्वामित्वका जग्गा रोक्काको बिद्यमान प्रावधानबाट जनतामा प्रत्यक्ष असर परेको भन्दै प्रशासन कार्यालयले तमोर जलाशययुक्त परियोजनाका कारण कारोवार रोकिएका क्षेत्रहरुमा नापी कार्यालयबाट उचाई एकिन गरी व्यवस्थाका लागि गृहमा अनुरोध गरेको थियो। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जग्गा रोक्का प्रकृयाले अंशबण्डा, नामसारी, ऋण लेनदेनसहितका दैनिक व्यवहारका काम रोकिएको भन्दै गरिएको अनुरोध पत्र अनुसार अब ६ सय मिटर उचाई भन्दा माथिका जग्गाको हकभोग खुल्ला हुने लगभग निश्चित भएको जानकारी दिए।

‘पत्र आइसकेको त छैन, तर लगानी बोर्डले आजभोलीमै ६ सय मिटर उचाई भन्दा माथिका जग्गाको हकभोग खुल्ला हुने प्रकृतिको पत्र पठाउने जानकारी आएको छ’ प्रजिअ चापागाँइले भने। तमोर जलाशययुक्त परियोजनाका लागि गृह मन्त्रालय र लगानी बोर्डले पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का समुद्री सतहबाट ६ सय मिटर उचाईसम्मका निजी जग्गाको हकभोग रोक्का राख्न प्रशासन कार्यालयमा पत्र पठाएका थिए। गृह मन्त्रालयले २०७६ पुस ६ गते तथा लगानी बोर्डले पहिलो पटक २०७६ साल मंसिर २४ र दोस्रो पटक माघ १४ गते पठाएको पत्रका आधारमा ३ पालिकाका ६ वटा वडाका निजी जग्गाको हकभोग तथा कारोवार रोकिएको छ।  

पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका कित्तालाई नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार खुल्ला गरिदिन प्रशासनले गृहमार्फत लगानी बोर्डमा अनुरोध गरेको थियो। लगानी बोर्डको पत्रले समुद्री सतहबाट ६ सय मिटर माथि करिव ३ हजार मिटर उचाइमा रहेका जग्गाका कित्ताहरु पनि सोलोडोलो रुपमा रोक्का भएको अवस्था समेतको जानकारी प्रशासनले गृह मन्त्रालय र लगानी बोर्डलाई गराएको थियो। 

लगानी बोर्डको पत्र अनुसार प्रकृया अघि बढाउँदा पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का जनताका दैनिक जीवनयापनका लागि सञ्चालन हुने प्रशासनिक काम सोलोडोलो रोकिएकोले उचाई एकिन गरी मापदण्ड भन्दा बाहिरका जग्गाको कारोवार फुकुवाका लागि प्रशासनले गृह मन्त्रालय र लगानी बोर्डमा अनुरोध पत्र पठाएको थियो।  

पुराना श्रेस्ता तथा दस्तावेजमा भने ताप्लेजुङको उचाई समुद्री सतहबाट ७ सय ७७ मिटर रहेको छ। गृह र लगानी बोर्डले समुद्री सतहबाट ६ सय मिटर उचाईसम्मका निजी जग्गाको हकभोग रोक्का राख्न भनेका भनेपनि पत्र लेख्दा पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का सबै जग्गालाई क्षेत्राधिकार भित्र समेटेको थियो। 

अब भने यि क्षेत्रका जग्गाको उचाई एकिन गरी समुद्री सतहबाट ६ सय मिटर भन्दा माथिको जग्गा भएको खण्डमा हकभोग अधिकार खुल्ला हुने संकेत देखिएको छ। यो संगै यि क्षेत्रमा अहिले सम्म रोकिएको जग्गाको कारोवार पनि खुल्ने छ।

प्रकाशित: २४ आश्विन २०७७ ११:०९ शनिबार

तमोर जलाशययुक्त परियोजना