अर्थ

माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्न २२२ करोडको हकप्रद शेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको लगानी जुटाउनको लागि दुई अर्ब २२ करोड रुपैयाँ बराबरको शेयरधनीहरुका लागि हकपद शेयर जारी गर्ने भएको छ। कम्पनीले दार्चुलामा निर्माणाधीन माथिल्लो चमेलिया आयोजनाको लागि शेयरधनीबाट हकपद शेयर जारी गरेर लगानी जुटाउन लागेको हो।  

कम्पनीका सञ्चालक द्वारिका न्यौपानेले कम्पनीले ४० मेगावाट क्षमताको तेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि शेयरधनीहरुबाट शेयर पुँजी जुटाउन हकप्रद शेयर जारी गरेर लगानी जुटाउन लागेको बताए। ‘कम्पनीले साविकका शेयरधनीका लागि एक शेयर बराबर नयाँ ०.४७ रेसिङको दरमा हकपद शेयरमा लगानी गर्न सक्नेछन्,’ उनले भने, ‘कम्पनीले प्रति शेयर एक सयका दरले ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री गर्न लागेको हौं।’  

कम्पनीका सञ्चालक न्यौपानेले कम्पनीले कुल लागत सात अर्ब ४० करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात दुई अर्ब २२ करोड रुपैयाँ आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरेर लगानी जुटाउने योजनामा रहेको बताए। बाँकी ७० प्रतिशतले हुने रकम रु. ५१८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी गरी आयोजनाको सह–वित्तियकरण बनाई बैंक ऋण प्रवाह गर्नेगरी वित्तिय व्यवस्थापन गर्ने सम्झौता गत असोज ११ गते भइसकेको छ।

कम्पनीले असोज १४ गतेदेखि कार्तिक ४ गतेसम्म शेयर निष्काशन तथा बिक्री गर्न सकिने जनायो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १८ असोजमा स्वीकृत प्राप्त गरेको थियो। कम्पनीको हालको अधिकृत पूँजी रु. ५०० करोड, जारी पूँजी रु.४०० करोड र चुक्तापूँजी रु.११९.०७ करोड रहेको छ। आ.व. २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तिय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १३६ करोड रहेको, जगेडा कोष तथा संचित नाफामा रु. १७ करोड रहेको र प्रति शेयर आम्दानी रु. ८.०४ रहेको छ।  कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरे २०७२ सालदेखि राष्ट्रिय ग्रिडमा पठाएर व्यापारिक उत्पादन गरिरहेको छ। सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो। कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना पनि २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आइरहेको छ।

यो आयोजना दार्चुला जिल्लाको अपि हिमाल र मार्मा गाउँपालिकामा भई बग्ने चमेलिया नदीको पानी उपयोग गरेर निर्माण गर्न लागिएको हो। अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा आयोजनाको बाँध निर्माण गरिनेछ। करिव ६ किलोमिटर लामो र ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरिनेछ।

आयोजनाबाट उत्पादन भएको बिजुली १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनछ। ‘आयोजना आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ,’ उनले भने, ‘उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ।’ कम्पनीका अनुसार आयोजनाको विद्युत बिक्रिबाट पहिलो वर्षमा एक  अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ। यस आयमा आठ वर्षसम्म तीन प्रतिशतका दरले वृद्धि हँदै जानेछ।   

प्रकाशित: २४ आश्विन २०७७ ११:०३ शनिबार

माथिल्लो चमेलिया जलविद्युत