अर्थ

फटिक्कै छैन भौतिक दूरी

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सानाठूला चारपांग्रे गाडीको नवीकरण, जाँचपास, सवारी पासलगायत कामका लागि दैनिक दुई हजारभन्दा बढी सेवाग्राही पुग्छन् । तर त्यहाँ सामाजिक दूरी भने फिटिक्कै कायम भएको देखिन्न । बेपर्वाह सेवाग्राहीका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण अझै तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।  

यातायात व्यवस्था कार्यालयका सानाठूला सवारी प्रमुख यादवनाथ आचार्य सेवाग्राहीले सामाजिक दूरी कायम नगर्दा संक्रमणको जोखिम उच्च भएको बताउँछन् । ‘कार्यालयले सामाजिक दूरी कायम गर्न जति आग्रह गरे पनि सेवाग्राहीले फिटिक्कै मान्दैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्दा हामी पनि उच्च जोखिममा छौं ।’

कोरोनाका कारण यातायात कार्यालय लामो समयसम्म बन्द भएकाले पनि विगतको तुलनामा दैनिक दोब्बरभन्दा धेरै सेवाग्राही आएको आचार्यको भनाइ छ । ‘सामान्य अवस्थामा दैनिक आठ सयजति सेवाग्राही आउँथे,’ उनले भने, ‘अहिले दैनिक दुई हजारभन्दा धेरै सेवाग्राहीलाई सेवा दिइरहेका छौं ।’ चारपांग्रे सवारीसाधन नवीकरण गर्न एकान्तकुना पुगेका अनिल शर्माले सरकारले सवारी नवीकरण दस्तुर कात्तिकभित्र तिर्नुपर्ने नत्र जरिवाना लाग्ने प्रावधान राखेका कारण भीड भएको बताए ।  ‘सामाजिक दूरी त भन्नेमात्रै हो,’ उनले भने, ‘सरकारले कात्तिकसम्म मात्रै सवारीचालक तथा सवारीसाधन नवीकरणमा विलम्ब शुल्क नलाग्ने भनेकाले भीड भएको हो । सरकारलाई कोरोनाभन्दा करको चिन्ता देखिन्छ ।’ 

‘सीमित कर्मचारीका कारण चाहेर पनि सहज रूपमा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।’ यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुुधारामा ५५ स्थायी र १४ अस्थायी कर्मचारी छन् । तर सेवाग्राहीको चापअनुसार कार्यालयमा १ सयभन्दा धेरै कर्मचारी आवश्यक भएको कार्यालयले जनायो । 

अहिले सेवाग्राही सवारीसाधनको नवीकरण, जाँचपास, प्रदूषण जाँच, इम्बोस्ड नम्बर प्लेट जडानलगायत कामका लागि यातायात कार्यालय पुग्छन् । कार्यालयले सेवाग्राहीका लागि लाइनमा बस्न गोलो चिह्न लगाउने, साबुनपानी तथा सेनिटाइजरलगायत राख्दै आएको जनाएको छ । ‘हामीले चाहेर पनि भीड नियन्त्रण गर्न सकेका छैनौं,’ आचार्यले भने, ‘जोखिम मोलेरै भए पनि सेवा दिँदै आएका छौं ।’ कार्यालयले प्रदूषण जाँचका लागि भने दैनिक दुई सय कोटा तोकेको जनायो ।

गुर्जुधारामा पनि भीड उस्तै
दुईपांग्रे सवारीसाधानका धनी भने नवीकरणका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुुर्जुधारा काठमाडौंमा पुग्ने गरेका छन् । उक्त कार्यालयका प्रमुख दीपक पोखरेल पनि कोरोनाको महामारीबीच सेवाग्राहीको चाप बढेको बताउँछन् । ‘कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड भएकाले जोरबिजोरका आधारमा सेवा प्रवाह गर्दै आएका छौं,’ उनले भने, ‘जोर गते जोर नम्बर प्लेटका सवारीसाधनको नवीकरण तथा अन्य काम गर्छाैं । बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधनको काम गर्दै आएका छौं ।’

पोखरेलले कोरोना महामारीबीच पनि दैनिक एक हजारभन्दा धेरै सेवाग्राही आउने गरेको बताए । सामाजिक दूरी कायम गर्न सूचना जारी गर्नुका साथै सेनिटाइजर, साबुनपानीलगायत कार्यालय परिसरमा उपलब्ध गराए पनि अधिकांशले प्रयोग नगर्ने कार्यालयले जनाएको छ । ‘कार्यालयमा आएका सेवाग्राहीलाई भरसक नफर्काउने गरेका छौं,’ पोखरेलले भने, ‘सीमित कर्मचारीका कारण चाहेर पनि सहज रूपमा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।’ यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुुधारामा ५५ स्थायी र १४ अस्थायी कर्मचारी छन् । तर सेवाग्राहीको चापअनुसार कार्यालयमा १ सयभन्दा धेरै कर्मचारी आवश्यक भएको कार्यालयले जनायो ।

भक्तपुर कार्यालयमा सेवा बन्द
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र कार्यालय भक्तपुरमा केही दिनअघि मात्र सवारीचालक अनुमतिपत्र नवीकरण गराउन पुगेका सेवाग्राही रमेश शर्माले व्यवस्थित ढंगले सेवा प्रवाह नभएको गुनासो गरेका थिए । ‘सरकारले सवारीचालक अनुमतिपत्र तथा सवारीसाधन नवीकरणमा म्याद थप गरेको भए भीड नियन्त्रण हुन्थ्यो,’ उनले भनेका थिए, ‘कार्यालयले करारमा कर्मचारी थपेरै भए पनि कोरोना कहरमा सेवा प्रवाह सुधार गर्नुपर्ने हुन्छ ।’ तर अहिले उक्त कार्यालय तीन दिनदेखि ठप्प छ ।  

त्यहाँका कार्यालय प्रमुख शशीशंकर महर्जनले कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएसँग सेवा अवरुद्ध भएको बताए । ‘अहिले सबै कर्मचारीको कोरोना जाँच गरेका छौं,’ उनले भने, ‘परीक्षण नतिजा आएसँगै कार्यालय खोल्ने टुंगो लाग्नेछ ।’ कार्यालयले स्मार्ट लाइन्सेस वितरण तथा सवारीचालक अनुमतिपत्रको नवीकरणलगायत काम गर्दै आएको छ । कार्यालय प्रमुख महर्जनले सेवाग्राहीले भनेजस्तो अत्यधिक भीड नहुने बताए । ‘कार्यालय खुल्दा दैनिक सयदेखि २ सय सेवाग्राहीलाई सेवा दिँदै आएका छौं,’ उनले भने ।

प्रकाशित: २३ आश्विन २०७७ ०१:२२ शुक्रबार

भौतिक दूरी सेवाग्राही काठमाडौँ उपत्यका