अर्थ

आन्तरिक उडानबाट दैनिक पाँच हजार ओहोर–दोहोर

फाइल तस्वीर

पछिल्लो समय लामो दुरीका यातायातमा यात्रु चढ्न डराएका बेला आन्तरिकतर्फका जहाज भने पूर्ण क्षमतामा उडिरहेका छन्। कोरोनाको बढ्दो संक्रमणबीच चाडपर्व नजिकिँदै गएपछि हवाई माध्यमबाट राजधानीबाहिर जाने र भित्रने यात्रुको संख्या बढ्दै गएको छ।

असोज ५ देखि सामान्य अवस्था (चैतअघि) को तुलनामा २५ प्रतिशत उडान सुरु भएको थियो। बिहीबारदेखि उडान कोटा ५० प्रतिशत पुगको छ। हाल प्राधिकरणले दैनिक ८० को हाराहारीमा उडान तथा अवतरण हुने गरी हप्तामा झन्डै ६ सय उडानलाई अनुमति दिएको छ।  

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै भित्रिनेभन्दा बाहिरिनेको संख्या बढेको देखिन्छ। लामो दुरीको यात्रामा संक्रमण जोखिम हुने भएकाले अधिकांशको हवाई यात्रामा आकर्षण बढेको देखिन्छ। प्राधिकरणका अनुसार हवाई सेवा तोकिएको स्वास्थ्य मापदण्डको आधारमा सञ्चालन भएकोले सुरक्षित यात्राको लागि धेरैले रोजेका हुन्।

लामो समय बसमा यात्रा गर्नुभन्दा एक घन्टाको हवाई यात्रा स्वास्थ्यको हिसाबले सहज भएकाले अचेल दैनिक पाँच हजार यात्रु काठमाडौंबाट ओहोरदोहोर गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ। आइतबार आन्तरिकतर्फका ५६ उडान तथा अवतरणबाट २३ सय ६३ यात्रु काठमाडौं आएका छन्। २४ सय १५ जनाले राजधानी छोडेको विमानस्थलको तथ्यांकले देखाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ यात्रुको संख्या बढ्दै गएपछि सरकारले उद्धार उडानको संख्या घटाएको छ। प्राधिकरणका अनुसार अन्तर्राष्ट्रियतर्फ नियमित उडान संख्या बढ्दै गएपछि चार्टर्ड उडान घटाउँदै लगिएको हो। हाल हप्तामा एक सय अन्तर्राष्ट्रिय उडानलाई अनुमति दिइएको प्राधिकरणले जनाएको छ। चैतअघि नेपालबाट ३२ गन्तव्यमा उडान हुने गरेकामा अहिले २२ गन्तव्य मात्र खुला छन्। अन्तर्राष्ट्रियतर्फ दैनिक १५ उडानलाई अनुमति छ।

असोज २५ गते कोरियाबाट एउटा चार्टर्ड उडानको अनुमति रहे पनि त्यसयता चार्टर्ड उडानको तालिका नरहेको प्राधिकरणले जनाएको छ। मेडिकल तथा कार्गाेका चार्टर्ड उडानमा भने रोकटोक नरहेको प्राधिकरण स्रोतले बतायो। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन छ।

कात्तिक १ देखि पर्वतारोहण र पदयात्राका लागि नेपाल आउन चाहने विदेशीलाई अनअराइभल भिसा दिने सरकारको निणर्यले भने अब विस्तारै चहलपहल बढ्न सक्ने अनुुमान गरिएको छ। तर पर्यटन व्यवसायीले पर्यटन मन्त्रालयले हालै स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड परिमार्जन गर्नुपर्ने भन्दै भिसा खोले पनि झन्झटिलो प्रक्रियाका कारण आवागमन सोचेअनुरूप नहुने बताउँदै आएका छन्।  

सरकारले तयार गरेको मापदण्डमा विदेशी नागरिकले अनअराइभल भिसाका लागि नेपाल आउनुपूर्व नै पर्यटन विभाग तथा बोर्डसँगको समन्वय गरी अध्यागमन विभागमा सिफारिस गर्न लगाउनुपर्ने भएकाले भिसा लिने प्रक्रिया सहज नभएको व्यवसायीको गुनासो छ।

नेपाल आएपछि होटल क्वारेन्टिनमा सात दिन बस्नुपर्ने नियमले पर्यटक आउँने सम्भावना घटाएको आरोहण सम्बद्ध एक व्यवसायीले बताए।

पहिले नै हिमाल आरोहणको अनुमति लिएका तर नपाएका विदेशीले बारम्बार सरकारी निणर्यबारे सोध्ने गरेको बताउँदै भिसा र क्वारेन्टिनको झन्झटिलो व्यवस्थाले आउन चाहेर पनि नसक्ने अवस्था रहेको ती व्यवसायीले गुनासो गरे।

सरकारले पिसिआर परीक्षण गरेर नेपाल आएका विदेशीलाई तीन दिन क्वारेन्टिनमा राखेर पुनः पिसिआर परीक्षण गराएर मात्र आरोहण वा पदयात्रामा जान दिए विमानस्थल मात्रै नभई पर्यटन क्षेत्र नै चलायमान हुने उनको विश्वास छ।

विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार चैतयता एक सय ३३ बच्चासहित ९३ हजार सात सय ४१ जना नेपाल भित्रिएका छन् भने चार सय ५८ बच्चासहित ३६ हजार चार सय ५९ बाहिरिएका छन्।

प्रकाशित: १९ आश्विन २०७७ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App