कोरोना महामारीका कारण मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान गराउनका आन्तारिक पर्यटन प्रवर्धन गर्न स्थानीय व्यवसायीहरुले जोड दिएका छन्। मेची करिडोर अन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढाउनका लागि आवश्यक रहेको व्यवसायीहरुको भनाई छ।
यो क्षेत्रका प्राकृतिक, धार्मिक, सास्कृतिक्षेत्रमा आन्तरीक पर्यटन प्रवद्र्धन गर्नका लागि सरकार र सम्बन्धीत क्षेत्रले सहयोग गर्नु पर्ने उनीहरुको भनाई छ। कोरोना महामारीले सिर्जना गरेको परिस्थितिले पर्यटन क्षेत्र धरासायी भएकाले यसलाई उकास्न आन्तरिक पर्यटकलाई घुमफिरको वातावरण बनाउन पहल गर्नु पर्ने बताइएको छ।
यहाँका पर्यटन व्यवसायीहरु आवश्यक सर्तकता अपनाएर पर्यटकलाई स्वागत गर्न तयार रहेको बताउँछन्। ‘महामारीले थलिएको पर्यटन क्षेत्रलाई उठाउँन आन्तरिक पर्यटनलाई बढुवा दिनु पर्छ। पूर्वबाट पश्चिम जाने, पश्चिमबाट पूर्व आउने गर्नु पर्छ। यसका लागि पर्यटन व्यवसायीहरुले गन्तव्य पहिचान गरेर अघि बढ्नु पर्ने अवस्था छ’ ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले भने ‘यसका लागि सरकारले सहयोग गर्नु पर्छ।’
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नका लागि भन्दै झापा तथा इलामका पर्यटन व्यवसायी गन्तव्य पहिचानका लागि पाँचथर आहिपुगेको थियो। यो टोलीले हिमाली दृष्य तथा सुर्योदयको सुन्दर दृष्य देखिने पौवाभञ्याङ, सुकेपोखरी, लोहकिल जस्ता क्षेत्रको भ्रमण गरेको थियो।
पर्यटकीय स्थल पौवाभञ्याङमा आयोजित कार्यक्रममा मेचीका झापा, इलाम, पाँचथर र ताप्लेजुङका पर्यटकिय केन्द्रहरुलाई केन्द्रविन्दुमा राखेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु पर्नेमा जोड दिइएको हो। संघ, प्रदेश तथा स्थानीय सरकारले पर्यटन क्षेत्र उकास्न विशेष योजना अघि सार्नु पर्ने व्यवसायीहरुको जोड रहेको थियो।
‘पर्यटन व्यवसायी पलायन हुने अवस्था छ। मेचीका व्यवसायी एकजुट भएर अघि बढ्न खोजीरहेका छौं। अब हामी उठ्न चाहान्छौँ। यसका लागि सरकारले सहयोग गर्नु पर्छ’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेल भन्छन्, ‘सुरक्षा सचेतनाका साथ हामीले व्यवसाय संचालन गर्न थालेका छौं। सबै पर्यटकीय केन्द्रहरुलाई संचालनमा ल्याउन आवश्यक छ। कोभिडदेखि डराएर भन्दा पनि सचेत भएर अघि बढ्नु पर्ने देखिन्छ। पूर्वका क्षेत्रमा आन्तरिक पर्यटकलाई स्वागत गर्न चाहान्छु।’
यो क्षेत्रका हिमाली, उच्च पहाडी, मध्यपहाडी तथा तराईमा अनेकन पर्यटकीय केन्द्रहरु छन्। महत्वपूर्ण धार्मिक स्थल, हिमाल, ताल, पोखरी, झरना, चिया, दृष्यावोलोकनलगायत अन्य क्षेत्र पनि छन्। घुमफिरको सिजन भएकाले यो बेला आन्तरिक पर्यटनलाई विस्तार गर्ने नीति आवश्यक रहेको व्यवसायीहरुको भनाई छ।
अहिले विदेशबाट आउने पर्यटक आउने सम्भावना कम भएकाले आन्तरिक पर्यटनलाई जोड दिन आवश्यक रहेको महसुस गरेको इलामका व्यवसायी विजय राई बताउँछन्। पर्यटन क्षेत्रमा जोडिएका विभिन्न क्षेत्रमा असर पुगेकाले यो क्षेत्रलाइ विशेष प्राथमिकतामा राख्नु् पर्ने उनको भनाइ छ।
पर्यटकीय क्षेत्रलाई चलमायन बनाउन आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने अपेक्षा राखिएको छ। चैतदेखि पर्यटकीय क्षेत्र सुनसान छन्। व्यवसायी निरास देखिन्छन् भने कामदारहरु बेरोजगार भएका छन्।
पर्यटन क्षेत्रलाई संचालनमा ल्याउन १ नम्बर प्रदेश वन, उद्योग, वातावरण तथा पर्यटन संसदिय समितिका सभापति सिता थेबे बताउँछिन्। ‘कोभिडको कारणले पर्यटन व्यवसाय अन्योल भएको छ। समितिको तर्फबाट प्रदेश सरकारलाई अलपत्र परेको पर्यटन व्यवसायलाई उठाउनका लागि अनुरोध गर्ने र्छौं’, थबेले भनिन् ‘सबैकाम पहिलाको जस्तो गर्न नसकिएपनि पूर्वाधारलाई व्यवस्थित गर्ने, व्यवसायीलाई सहयोग गर्ने तर्फ काम गर्नु पर्ने देखिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर सचेतनाका साथ आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि हामी सबै लाग्नु पर्ने देखिन्छ।’
प्रकाशित: १७ आश्विन २०७७ १२:२७ शनिबार