अर्थ

विदेशबाट फर्किएका भन्छन् : ‘सरकारले सहयोग गरे गाउँमै केही गर्छौं’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किनेहरू। फाइल तस्बिर: नागरिक

तीन वर्षदेखि मलेसियामा सेक्युरिटी गार्डको काम गरिरहेका मिक्लाजुङ– ७ लिम्बाका घनेन्द्र शर्माको जागिर कोरोना भाइरस (कोभिड–१९)ले खाइदियो। काम नभएपछि तलब पाउने कुरा भएन। होस्टेलमा आफ्नै खर्चले खाएर तीन महिनाजति बिताएपछि शर्मा नेपाल आउन पाए। ‘अझै एक वर्ष बस्ने योजना थियो। भर्खरै बढुवा भएकाले कमाइमा सुधार हुन्छ भन्ने आशा गरेको थिएँ। के गर्नु, कोरोना आयो, यस्तै दुःख जुरेको रहेछ, बढुवा भएर पनि राम्रो कमाउन पाइएन,’ शर्माले पीडा सुनाए, ‘कम्पनीले काम नदिएपछि फर्कनैप-यो। गाउँमा दुःख नभएको भए त कहाँ मलेसिया गइन्थ्यो र ?’

घर फर्कंदा उनले टिकट खर्च पनि आफैँ व्यहोर्नुप-यो। नेपाल आएर पनि घरसम्म पुग्न उनलाई सहज भएन। जिल्ला सदरमुकामको क्वारेन्टिनमा बस्नैपथ्र्यो। त्यहाँ बस्न खासै अहज थिएन तर त्यसपछि बर्खाको बाटो भएकाले गाउँसम्म पुग्न कठिन भयो।

उनको परिवारले गाउँमा खेतीकिसान गर्छ, तर त्यसले मात्रै पुग्दैन। छोराछोरी पढाउन, नुन–तेल, लत्ता–कपडा, औषधोपचार खर्च धेरै छ। त्यसैले उनी अब गाउँमै केही गर्न चाहन्छन् तर आफूसँग लगानी गर्ने पैसा छैन। उनले भने, ‘मलाई पशुपालन गर्ने मन छ। अनुदान तथा सस्तो ऋण पाएदेखि पशुपालन गर्थें।’  

शर्माजस्तै विभिन्न देशमा रोजगारीका लागि गएका घर फर्किएका छन्, कोरोना महामारीका कारण। धेरैलाई गाउँमा खेती गरेर लाउन–खान र दैनिकी चलाउन पुग्दैन। त्यसैले उनीहरूलाई नगद आउने कुनै काम गर्नुछ। अधिकांश सरकारले कुनै सहयोग गर्छ कि भन्ने आशामा पनि छन्। कुम्मायक गाउँपालिका रानीगाउँका नरवीर सम्बाहाफे भन्छन्, ‘तीन तहकै सरकारसँग आशा त छ तर भरोसा छैन।’

नरवीर कतारबाट फर्किएका हुन्। फर्किएको दुई महिनायता घरायसी काममै व्यस्त रहेका उनी अब के गर्ने भन्ने अन्योलमा छन्। करिब पाँच महिना कामविहीन बनेर स्वदेश फर्किएका उनी फेरि विदेश जाने योजनामा भने छैनन्। ‘करिब ३६ महिना अर्काको देशमा पसिना बगाएँ। अब त काबु भएँ,’ उनले भने, ‘अब गाउँमै सानोतिनो काम गर्नु पर्ला। हाम्रोमा अरु खेती त राम्रो हुँदैन। बाख्रा पाल्न पाए हुन्थ्यो।’

यसका लागि सरकारसँग कसरी सहयोग माग्ने भन्ने थाहा नभएको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले त तीन तहको सरकार छ, जनतालाई सहयोग गर्छ भन्ने सुनेको छु। तर सहयोग लिने तरिका थाहा छैन।’

खाडी तथा मलेसिया लगायत मुलुकमा श्रम गर्न जानेहरू निम्न तथा निम्न मध्यम आर्थिक अवस्था भएका परिवारका भेटिन्छन्। उनीहरूले विदेश जान पनि चर्को ब्याजदरमा ऋण लिएका थिए। फालेलुङ गाँउपालिका–२ का युभल थोक्लिहाङको पीडा यस्तै छ।

खाडी तथा मलेसिया लगायत मुलुकमा श्रम गर्न जानेहरू निम्न तथा निम्न मध्यम आर्थिक अवस्था भएका परिवारका भेटिन्छन्। उनीहरूले विदेश जान पनि चर्को ब्याजदरमा ऋण लिएका थिए। फालेलुङ गाँउपालिका–२ का युभल थोक्लिहाङको पीडा यस्तै छ। दुबई पुगेको एक वर्ष नपुग्दै कोरोनाका कारण उनले काम गर्ने होटल बन्द भयो र उनी फर्कनुप¥यो। दुई महिनाअघि नेपाल फर्किएका उनी विदेश जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन्। ‘काम त त्यस्तै ६ महिना गरियो होला। विदेश जाँदा लागेको ऋण नै तिरिनसकी फर्किनुप¥यो,’ उनले भने, ‘केही आश राखेर गइएको हुन्छ। अब कसरी ऋण तिर्ने भन्ने चिन्ताले सताएको छ।’ जानका लागि मेनपावर कम्पनीलाई एक लाख १५ हजार रुपैयाँ बुझाएको उनले सुनाए। योबाहेक विदेश जाने तयारीमा पनि उनको अरु थप खर्च भएको थियो। उनी भन्छन्, ‘मैले त घरमा एक लाख रुपैयाँ मात्र पठाउन पाएँ। सरकारले सहयोग गरे त गाउँमै कृषि अथवा व्यवसाय गर्न हुन्थ्यो। ऋण तिर्न हुन्थ्यो।’

कतारबाटै फर्किएका फालेलुङ–१ का जगदीश ढुंगेलले बाख्रापालनको योजना बनाएका छन्। उनलाई कतारमा हँुदै कोरोना पोजेटिभ देखिएको थियो। कोरोनाबाट निको भएर पनि उनी तीन महिना कामविहीन भएर कतारमै बस्नुप¥यो। उनी पनि सरकारबाट कुनै सहयोगका आशा गर्छन्। विदेशबाट फर्कनेलाई के गर्ने भन्ने राष्ट्रिय बहस सुन्दै आएका उनी भन्छन्, ‘आधुनिक रूपमा कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन सरकाराट सहयोग चाहिन्छ नै।’  

ग्रामीण क्षेत्रमा जीवनस्तर उठाउनका लागि वैदेशिक रोजगारीको योगदान  छ।  साउदी, कतार, मलेसिया, दुबई लगायत देशमा युवाहरू श्रम गर्न जानु बाध्यता पनि हो। झापाको वारादशी–६ की दिलमाया कार्की भन्छिन्, ‘रहरले को बिदेसिन्छ र ? गाउँघरमा कमाइ नभएपछि, कुनै व्यापार–व्यवसाय, जागिर नभएपछि केही कमाई हुन्छ होला भनेरै विदेश गइन्छ।’ कतारबाट हालै फर्किएकी कार्कीले फर्कने बेला आफूले काम गरेको तीन महिनाको तलब समेत नपाएको बताइन्। उनले नेपाल फर्कन पनि निकै झन्झट व्यहोर्नुप-यो। ‘नेपाल आउनका लागि दूतावास कति धाइयो धाइयो।’ आफूसँगै अरु थुप्रै नेपाल फर्किएको उनले बताइन्।  

कोरोना हटेपछि पुनः विदेश जाने हो कि यतै केही गर्ने भनी टुंगो नभएको उनको भनाइ छ।  

प्रकाशित: १७ आश्विन २०७७ ०३:४३ शनिबार

बेरोजगारी रोजगारी