अर्थ

डिपिआर निर्माण प्रक्रिया अघि बढ्यो

नौकुण्ड–गोसाइँकुण्ड पदमार्ग

रसुवाको नौकुण्ड गाउँपालिकाले नौकुण्ड–गोसाइँकुण्ड पर्यटकीय पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाभित्र रहेका नौवटा कुण्डको उचित प्रचार नहुँदा यो क्षेत्र ओझेलमा परिरहेको छ।  

गाउँपालिका भित्र पर्यटकीय क्षेत्रको कमी छैन। तर सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र उचित व्यवस्थापन नहुँदा ओझेलमा परेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्।  

गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको अभाव नहुने र स्थानीयको जीविकोपार्जनमा पनि प्रत्यक्ष रूपमा सहयोग पुग्ने भएकाले योजना अघि बढाइएको उनको भनाइ छ। ‘यो गाउँपालिका धार्मिक पर्यटनका हिसाबले पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो,’ उनले भनिन्, ‘यसकारण हामीले यसलाई अघि बढाएका हौं।’ गाउँपालिकाभित्र पर्यटकीय तथा धार्मिकस्थल हुँदाहुँदै पनि यससम्बन्धी कार्यक्रम सञ्चालन हुन नसक्दा यी क्षेत्रको विकास र विस्तार हुन सकेको छैन।  

नौकुण्ड गोसाइँकुण्ड पदमार्गमा दुईवटा बाटोलाई मुख्य प्राथमिकता दिइएको छ। उपाध्यक्ष लामाका अनुसार एउटा नुवाकोटको साततले दरबार प्रस्थान बिन्दु हुने छ भने अर्को रसुवाको उत्तरगयाधाम बेत्रावती हुने छ। उनका अनुसार एउटा बाटो हुँदै जाने र अर्को बाटो हुँदै फर्किन सकिने गरी दुईवटा प्रस्थान विन्दु बनाइएको हो।  

नुवाकोटको साततले दरबारदेखि सुरु भएर जिल्लाको नौकुण्ड गाउँपालिका–४, सरमथली–पाटीखर्क–पाच्र्याङ–लाच्र्याङटार–यार्सा–सिम्बन्दी–दोक्लाङ हुँदै नौकुन्डको रमणीय स्थलसम्म पुग्न सकिन्छ। यो बाटो जाँदा नुवाकोटबाट पहिलो दिन सरमथली, दोस्रो दिन सिम्बन्दी हुँदै तेस्रो दिनमा नौकुण्ड पुग्न सकिन्छ भने चौथो दिन गोसाइकुण्ड पुगिन्छ।  

त्यसैगरी रसुवाको उत्तरगयाधाम बेत्रावतीबाट अम्बास–आँपचौर–सस्र्यु–लोकिल–जुरेढुंगा–बिजुलीढुंगा–लाङ्बु–थाङदोर–सिम्बन्दी–देउराली–बालुवा–बक्सार हुँदै पनि नौकुण्ड पुग्न सकिन्छ। यो बाटोबाट यात्रा तय गर्दा पहिलो दिन लोकिल, दोस्रो दिन सिम्बन्दी हुँदै देउराली पुग्न सकिन्छ। नौकुण्ड जाँदा सातधारे हिमाल पनि देख्न सकिन्छ। गाउँपालिकाका अनुसार नौकुण्डको सबैभन्दा माथिको कुण्ड चार हजार पाच सय मिटर उचाइमा रहेको छ। त्यहाँ नौवटा कुण्डसँगै छन्। जसमा लाम कुण्ड, राजा कुण्ड, रानी कुण्ड, तेम कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड, शीर कुण्डलगायत नौवटा कुण्ड छन्।  

अहिले नौकुण्ड जाँदा बीचमा चौरी गोठ रहने भएकाले बस्न समस्या हुँदैन। अन्य समयमा भने त्यहाँ जाँदा बन्दोवस्तीको सामग्री लैजान पर्छ। गाउँपालिकाले दिएको जानकारी अनुसार डिपिआर निर्माणपछि पदमार्गमा विश्रामस्थल निर्माण, सार्वजनिक शौचालय निर्माण, थर्पु निर्माण लगायत काम हुने छ।  गाउँपालिकाले अहिले सम्भाव्यता अध्ययन गरेर डिपिआर निर्माण अघि बढाएको उपाध्यक्ष लामाले जानकारी दिइन्। 

प्रकाशित: ९ आश्विन २०७७ ०१:४४ शुक्रबार

नौकुण्ड–गोसाइँकुण्ड पदमार्ग डिपिआर निर्माण