अर्थ

बिजुलीको केन्द्रीय प्रशारणलाईनमा जोडियो लोमान्थाङ

लोमान्थाङमा तानिएको विद्युतको केन्द्रीय प्रशारण लाईन । तस्बिरः ईन्द्रधारा विष्टको फेसबुक पेजबाट

साना माईक्रो हाईड्रोपावरबाट उत्पादित विजुलीकै भरमा उज्यालोमा बस्नुपर्ने बाध्यता लोमान्थाङबासीको अब अन्त्य भएको छ। कहिले आउने र कहिले जाने समस्याबाट ग्रसित लोमान्थाङबासीलाई केन्द्रीय प्रशारण लाईन विस्तार भएपछि अब अध्याँरोमै बस्नुपर्ने अवस्था भने आउने छैन।  

लोमान्थाङ गाउँपालिकाको वडा नं ५ र लोघेकरको चराङमा माइक्रो हाईड्रो सञ्चालित छ। त्यसबाट उत्पादित विजुलीले दुईवटा वडाका बासिन्दाले उपयोग गर्दै आएका थिए। तर अब गाउँपालिका सबै वडामा उज्यालो पुग्ने छ। ‘गाउँपालिकाको सबै वडामा अब विजुली पुग्छ। केन्द्रीय प्रशारण लाईन जोडिसकिएको छ’ लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेशका सदस्य ईन्द्रधारा विष्टले भने–‘अब घर घरमा पुग्ने वितरण लाईन जडान गर्नुपर्ने छ।’

केन्द्रीय प्रशारण लाईन मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका र लोघेकर गाउँपालिकामा तानिसकिएको थियो। लोमान्थाङ गाउँपालिकाको लाईन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य भएको उनले बताए। ट्रान्सफर्मर छोनुप नजिकै चार्ज गरिएको थियो। अर्को तर्फ छोसेरमा समेत ट्रान्सफर्मर चार्ज गरिएको छ। ‘अब घर घरमा पुर्‍याउने वितरण लाईन विस्तार गर्नुपर्ने छ’ उनले भने–‘ नाङ्गो तारकै कारण घर घरमा राखिने दाउराले समस्या बनाएको छ।’ चिसो मरुभूमी लोमान्थाङमा वर्षेनी पर्यटक उक्लिदैं गएका छन्।  

लोमान्थाङमा २९ किलोवाटको विद्युत उत्पादन हुँदै आएको छ। उत्पादित विजुलीले घर घरमा बत्ती बाल्न समेत पुग्ने अवस्था थिएन। दशक अघि एक्याप, अमेरिकम हिमालयन फाउण्डेशन र स्थानीयबासिन्दाको संयुक्त लगानीमा निर्माण गरिएको विद्युतगृहले जेनतेन गुजारा भने गर्दै आएका छन्। अहिले बस्ती बाक्लिएको छ। १४० घरपरिवार छन्। ८ सय भन्दा बढी जनसंख्या छ। लोमान्थाङको पनि विभिन्न ठाँउमा बत्ती अझै पुगेको छैन। मैनबत्तीको भरमा जीवन गुर्जानुपर्ने बाध्यता अझै छ।  

‘अब विजुलीको सहज हुन्छ।’ उनले भने–‘सबै वडामा शाखालाईन विस्तार गरेर घर घरमा जडान गरिने छ।’ केन्द्रीय प्रशारण लार्ईन मुस्ताङको सदरमुकाम जोमसोमदेखि तानिएको हो। जोमसोमदेखि लोमान्थाङ झण्डै १ सय किलोमिटर दूरी छ। अब चारै गाउँपालिकामा बासिन्दालाई विद्युतको पहुँच पुग्ने विश्वास प्रदेश सदस्य विष्टको छ। झण्डै ७ सय घरपरिवार बसोबास छ।  

विद्युत अभावको समस्या सुल्झाउन एक घर एक सोलारको अभियान समेत छ। सोलार बत्तीको लागि एक वडालाई १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ। ‘मुस्ताङ हेरिटेज सेन्टर हो। हेरिटेज सेन्टरमा विद्युतीकरण गर्दै उज्यालो बनाउने योजनामा छौं।’ उनको भनाई थियो–‘त्यसको लागि गण्डकी प्रदेश सरकारले प्रदेशका ११ जिल्लालाई ४० करोड छुट्टाएको छ।’

लोमान्थाङमा विद्युतीकरण गर्नको लागि केन्द्रीय विद्युत प्राधिकरणले पनि चासो दिदैं आएको थियो। विद्युत प्रशारण लाईनको लागि केन्द्रीय विद्युत प्राधिकरणले १ करोड १३ लाख रुपैयाँ बजेट छुट्टाएको थियो। छुट्टाईएको बजेटले विद्युत नपुगेको वडाहरुमा विद्युत पोल विस्तार गरिदैं छ।  

लोमान्थाङका मुखिया ज्ञानेन्द्र (घिर्मी वाङ्गेल) विष्टले लोमान्थाङ क्षेत्रका सबै वडाहरुलाई विद्युतीकरण गर्नुपर्नेमा जोड दिए। ‘विद्युतीकरण गर्दै उज्यालो अभियानमा छौं’ उनले भने–‘उज्यालो नै विकासको प्रतीक हो। त्यसैले विद्युतीकरण तर्फ ध्यान दिएका छौं। केन्द्रीय प्रशारण लाईन तानिएको छ।’ सबै क्षेत्रमा विजुलीको पहुँच पुर्‍याउन सकिए लोमान्थाङको विकास र विस्तारमा नयाँ आयाम हुने उनको भनाई थियो।

प्रकाशित: ८ आश्विन २०७७ १२:३२ बिहीबार