अर्थ

चीनतर्फका दुबै मुख्य नाका बन्द

चीन जोड्ने उत्तरतिरका दुई मुख्य तातोपानी र रसुवागढी नाका बन्द छन्। तातोपानी साढे दुई र रसुवागढी महिनादेखि बन्द रहेका हुन्। नाका बन्द भएसँगै आयात÷निर्यात रोकिँदा आर्थिक गतिबिधि ठप्प छ।  

दुबै नाका बन्द गर्नुको आधिकारिक धारणा चीनले अझै सार्वजनिक गरिसकेको छैन। नेपाल सरकारले पनि महत्वपूर्ण यी नाका खुलाउन प्रभावकारी पहल गरेको पाईँदैन। दुबै सरकारको मौनताले नाका सञ्चालन अनिश्चित बन्दै गएको छ। यही अनिश्चयकै कारण नजिकिँदो दसैँ, तिहारमा चीनबाट चाडबाड लक्षित सामाग्री आउने सम्भावनासमेत क्षिण बन्दै गएको व्यवसायी बताउँछन्।  

चीनले दुबै नाका बन्द हुनुमा दुई फरक कारण बताउँदै आएको छ। कोरोना संक्रकणको कारण रसुवागढी र बाढी, पहिरो लगायत बिपद्ले तातोपानी नाका बन्द गर्नु परेको जानकारी दुबै भन्सारलाई पठाएको छ। तर नाका सञ्चालनबारे कुनै धारणा सार्वजनिक नगरेको दुवै भन्सारका अधिकारी बताउँछन्। दुबै नाका यतिबेला अघोषित ‘नाकाबन्दी’को अवस्थामा गुज्रिरहेका छन्।  

तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले गएको असार २५ गतेदेखि नाका बन्द रहेको बताए। उनका अनुसार असार २४ गतेको जम्बु बाढीपहिरोले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि नाका बन्द रहँदै आएको छ। ‘सम्वद्ध सरकारी निकाय र निजी क्षेत्रको प्रयासमा २० दिनमै राजमार्ग सञ्चालनमा आयो। तर चीनले सामाग्री पठाएन,’ प्रमुख खत्रीले नागरिकसँग भने।  

जम्बु बाढीपहिरोकै बखत चीनले तिब्बतस्थित तालमा पानी भरिएर फुट्ने जोखिम रहेको भन्दै तातोपानी तल्लो तटीय क्षेत्रमा सतर्क रहन अनुरोध पठाएको थियो। सामाग्री पठाउन आग्रह गर्दा तिब्बतको स्थानीय भन्सारका अधिकारीले अझै पनि तालको जोखिम कम भइनसकेको बताउँदै आएको प्रमुख खत्रीले जानकारी दिए। ‘दैनिक चिनियाँ भन्सार अधिकारीसँग सम्पर्कमा छु। उनीहरुले नाका सञ्चालनबारे केही जानकारी दिएका छैनन्,’ उनले भने। उनका अनुसार भन्सार अधिकारीहरुले बोर्डर म्यानेजमेन्टले आदेश नदिएसम्म नाका खोल्न नसकिने बताउँदै आएका छन्।  

उत्तरको अर्को मुख्य रसुवागढी नाका पनि भदौ दोस्रो सातादेखि बन्द छ। केरुङ नाकामा सामाग्री लोड/अनलोड गर्ने कामदारमा कोरोना संक्रमण भेटिएपछि नाका बन्द रहँदै आएको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताए। ‘दुबैतिर स्वास्थ्य मापदण्ड थप प्रभावकारी बनाएर मात्र नाका सञ्चालन गरौँ भन्ने कुराकानी भएको थियो,’ उनले भने, ‘तर अझै नाका बन्दै छ।’ नेपालमा कोरोनाले माहामारीको रुप लिएपछि स्वास्थ्य सुरक्षाकै कारण चीनले नाका बन्द गरेको हुन सक्ने खड्काले औँल्याए।  

कोरोनाले महामारीको रुप लिएपछि चीनले खासा र केरुङ अन्तर्राष्ट्रि«य नाका गत माघमा बन्द गरेको थियो। नेपालमा समेत कोरोना भित्रिएपछि स्वास्थ्य सामाग्री आयात गर्ने प्रयोजनको लागि सरकारले दुबै नाका खोल्ने निर्णय गर्दै चीनलाई आग्रह गरेको थियो। चैतदेखि तातोपानी नाका खुले पनि रसुवागढी भने असार २२ बाट मात्र सञ्चालनमा आएको थियो। २०७२ वैशाख १२ गतेको भूकम्पपछि चार वर्षदेखि बन्द तातोपानी नाका अघिल्लो वर्षको जेठ १५ मा खुलेको थियो।  

कोरोनापछि स्वास्थ्य सामाग्री मात्र आयात गर्ने भनिए पनि दुबै नाकाबाट नियमित सामान आयत हुन थालेका थिए। गएको आर्थिक वर्षमा तातोपानीबाट नौ अर्ब र रसुवागढीबाट २७ अर्ब रुपैयाँ मूल्यका सामाग्री आयात भएको भन्सार तथ्यांक छ। तातोपानी भन्सार प्रमुख खत्रीसमेत चीनले ताललाई कारण देखाए पनि नेपालमा बढ्दो कोरोना संक्रमणकै कारण ऊ तत्काल नाका खोल्न अनिच्छुक देखिएको हुन सक्ने औँल्याउँछन्।  

‘नजिकिँदो चाडबाडमा नेपाली उपभोक्ताको हितलाई ध्यानमा राख्ने हो भने सरकारले नाका खोल्न कुटनीतिक पहल गर्न बिलम्व भइसक्यो,’ दुवै भन्सारका प्रमुख खत्री र खड्काको भनाईँ छ। उनीहरुले वाणिज्य र परराष्ट्र« मन्त्रालयलाई नाका बन्द रहेको जानकारी दिँदै खुलाउन कुटनीतिक पहल गर्न अनुरोधसहितको पत्र पठाइ सकिएको बताए।  

लगातार र लामो समयदेखिको नाका बन्दले निजी क्षेत्र भने निराश छ। ‘बन्द नाका खुलाउन सुरुदेखि नै सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ। तर सुनुवाई भएको छैन,’ आयातकर्ता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले भने। नाका खुलाउनेबारे सरकारले प्रभावकारी कुटनीतिक पहल नगर्दा व्यवसायी थप निराश बनेको उनी बताउँछन्। उनका अनुसार अझै कुटनीतिक प्रयास नथाल्ने हो भने नजिकिँदो दसैँ, तिहारमा चिनियाँ सामाग्री आउँने सम्भावना ज्यादै न्यून देखिएको छ। पछिल्लो समय सस्तोका कारण मध्यम बर्गीय नेपाली उपभोक्तामाँझ चिनियाँ सामाग्री लोकप्रिय बन्दै गएको छ।  

हजार कन्टेनर सामाग्री बीचमै अलपत्र

बिगत सात महिनादेखि चिनियाँ भू–भागमा रोकिएका झण्डै एक हजार कन्टेनर सामाग्री अझै नेपाल भित्रन सकेका छैनन्। सरकारले पहल नगरिदिँदा सामाग्री बाटोमै अलपत्र परेको व्यवसायीको आरोप छ।  

विभिन्न सहरबाट सामाग्री लिएर कन्टेर नेपालतर्फ अघि बढिरहँदा कोरोना महारमारीका कारण चीनले खासा र केरुङ अन्तर्राष्ट्रि«य नाका गएको माघमा बन्द गरेको थियो। त्यति बेलैदेखि कन्टेनरसहितका सामाग्री बीचमै रोकिँदै आएका छन्। चैतमा तातोपानी र असारमा रसुवागढी नाका खुले पनि रोकिएका सामाग्री भित्रन सकेनन्। 

कोरोनालाई देखाउँदै चीनले सामाग्री लैजान रोक लगाउँदै आएको व्यवसायी बताउँछन्। कोरोनापछि दुबै नाका केही समय खुल्दा स्वास्थ्य सामाग्री आयातलाई प्राथमिकता दिइएको थियो। मेडिकल प्रोटोकल पूरा गरेर अन्य सामाग्री आयात भए पनि रोकिएका सामाग्री ल्याउन दिइएन। नेपाल ट्र«क कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले दुबै नाकातिरका नजिकका सहरमा आठ सयदेखि एक हजार कन्टेनर सामाग्री अलपत्र परेको जानकारी दिए।  

उनका अनुसार केरुङ, ल्हासा, सिगात्से, न्यालम लगायत सहरमा नेपाली व्यवसायीका सामाग्री अलपत्र छन्। रोकिएका सामाग्रीमा धेरै तयारी पोशाक छन्। यो गर्मीलाई लक्षित गरेर गएको जाडो मौसममा ती सामाग्री लोड गरिएका थिए। आयातकर्ता रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ कन्टेनर रोकिँदा अर्बौँ रुपैयाँ मूल्यका सामाग्री जोखिममा परेको बताउँछन्। ‘ती सामाग्री नेपाल ल्याउँदा राज्यलाई मात्र ३०–३५ करोड रुपैयाँ राजस्व प्राप्त हुने देखिन्छ,’ उनले भने।  

लामो समय रोकिँदा घामपानीले कन्टेनरमा घाँस उम्रन थालेको, टायर पन्चर भएको र पाटपूर्जा हराउँदै गएको व्यवसायीको गुनासो छ। ‘पटक–पटक सरकार गुहा¥यौँ। व्यसायीले भन्ने सरकारलाई नै हो। तर सरकारले गुहार सुनेन,’ व्यवसायी श्रेष्ठले भने। उनका अनुसार व्यवसायीले बैक ऋण सामाग्रीमा लगानी गरेका थिए। त्यही सामाग्री बेचेर व्यवसायीले ऋण तिर्थे। लामो समय ऋणको किस्ता र ब्याज तिर्नु पर्दा व्यवसायी शिथिल बनेका छन्। ‘कति व्यवसायी किस्ता र व्याज तिर्न नसकेर टाट पल्टने अवस्थामा पुगेका छन्,’ श्रेष्ठले भने।

प्रकाशित: ६ आश्विन २०७७ ११:०८ मंगलबार