यसपटक बैंक तथा वित्तीय संस्थामा गरेको लगानीबाट आउने लाभांशबाट कुनै नयाँ योजना बनाउनुभएको छ रु त्यसो हो भने भने पर्खनु्स् है। त्यस्तो योजना बनाउनुअघि बैंक तथा वित्तीय संस्थाको वासलात हेर्नुपर्ने हुन्छ।
किनकि कोरोना महामारीका कारण गत वर्ष वाणिज्य बैंकहरूले ठूलो मात्रामा आम्दानी गुमाएका छन्। बैंकहरूले आम्दानी गुमाएपछि त्यसको असर लगानीकर्ताले पाउने लाभांशमा पर्दैछ। अघिल्लो वर्षको भन्दा बढी नाफा अपेक्षा गरेका लगानीकर्ताले यसपटक थोरै लाभांशमा चित्त बुझाउनुपर्ने हुँदा तयार पारिएका कैयौं योजना फेरबदल हुन सक्छन्।
कोरोना महामारीका कारण यसपटक अधिकांश वाणिज्य बैंकको नाफा गुमेको छ। आर्थिक वर्ष ०७५/७६ मा औसत १८.८५ प्रतिशत लाभांश वितरण गरेका बैंक तथा वित्तीय संस्थासँग गत वर्षको आम्दानीबाट औसतमा ११ प्रतिशत हाराहारी मात्र लाभांश वितरण गर्ने क्षमता छ। त्यस्तो लाभांशमा पनि नगद हात लाग्ने सम्भावना कम छ।
२७ वाणिज्य बैंकले हालै प्रकाशित गरेको विवरण अनसार आर्थिक वर्ष ०७६/७७ मा सबैको नाफा ७ अर्ब ३७ करोड रूपैयाँले घटेको छ। ती बैंकले आर्थिक वर्ष ०७५÷७६ मा ६१ अर्ब ६९ करोड १ लाख रूपैयाँ खुद नाफा कमाएका थिए। तिनै बैंकले गत आर्थिक वर्ष ५४ अर्ब ३१ करोड ६० लाख रूपैयाँ मात्र कमाउन सकेका छन्।
गत आर्थिक वर्षको फागुन महिनासम्म राम्रो आम्दानी गरिरहेका बैंकलाई कोरोना महामारीसँगै चैत ११ पछि सुरु गरिएका लकडाउनले समस्या सिर्जना गरेको बैंकरहरूको भनाइ छ। गत वर्ष सबभन्दा बढी सिभिल बैंकको नाफा ३६ प्रतिशतले घटेको छ। सोही वर्ष नाफामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ।
बैंकको नाफा घट्नुका मुख्य कारण
गतवर्ष बैंकहरूको नाफा घट्नुको मुख्य कारण समयमै ऋणको ब्याज र साँवा नउठ्न नसक्नु हो। समयमै ब्याज र साँवा नउठेपछि बैंकहरूले प्रोभिजनिङ गरिरहेका छन्। जसले गर्दा नाफामा मुख्य असर परेको बैंकरहरूको भनाइ छ।
११ अर्ब रूपैयाँ बढीले लोन लस प्रोभिजन गर्नुपरेको एक बैंकरले बताए। ऋणीबाट लिनुपर्ने साँवा, ब्याजमा निश्चित भाका नाघेपछि पनि उठ्न नसकेमा बैंकहरूले आफ्नो कमाइबाट साँवा, ब्याजको निश्चित हिस्सा छुट्ट्याउनुलाई प्रोभिजन मानिन्छ। एक वर्षको अवधिमा यस्तो प्रोभिजन ७ अर्बबाट बढेर १८ अर्ब पुगेको छ।
लकडाउनका कारण गत आर्थिक वर्ष ५१ अर्ब रूपैयाँ बराबरको साँवा, ब्याज उठ्न सकेको छैन। अघिल्लो वर्ष यस्तो ११ अर्ब रूपैयाँ उठ्न सकेको थिएन। समयमै साँवा, ब्याज नउठ्दा बैंकहरूको निश्क्रिय कर्जा पनि बढेको छ।
त्यस्तै ब्याज र सेवा शुल्क वापतको आम्दानी पनि बढ्न नसक्दा बैंकको आम्दानी घट्न पुगेको छ। कर्जा विस्तार भएअनुरूप बैंकको ब्याज आम्दानी बढ्न सकेन। यसले पनि नाफामा असर पारेको बैंकर बताउँछन्। लकडाउन हुँदा बैंकले लगानी गर्न नसक्दा समस्या परेको धेरैको भनाइ छ। त्यस्तै स्प्रेडदर घट्दा पनि असर पारेको ती बैंकरले बताए। असोजपछि सरकारले लकडाउनलाई खुकुलो पारेपछि बैंक तथा वित्तीय संस्थाले पुनः आम्दानी बढ्ने अपेक्षा गरेका छन्।
बोनसलाई प्राथमिकता
गतवर्ष नाफामा संकुचन आएपछि अधिकांश बैंक तथा वित्तीय संस्थाले आम्दानीबाट नगद लाभांशको साटो बोनस सेयरलाई प्राथमिकता दिने तयारी गरेका छन्।
अधिकांश बैंक तथा वित्तीय संस्थासँग नगद अभाव हुने भएकाले बोनस सेयर दिने नीति अवलम्बन गरेको एक बैंकरले बताए। कोरोना महामारीले निम्त्याएको असरका कारण बैंकहरूमा परेको असरको सामना गर्न नेपाल राष्ट्र बैंकले लिएको नीति अनुसार बोनस सेयर वितरण गर्नुपर्ने बाध्यता रहेको बैंकरहरू बताउने गर्छन्।
आर्थिक वर्ष ०७६/७७ मा गरेको नाफाबाट सुरुमै लाभांश घोषणा गरेको माछापुच्छ«े बैंकले पनि नगदभन्दा बोनस सेयरलाई प्राथामिकता दिएको छ। उक्त बैंकले गत वर्षको नाफाबाट ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। अघिल्लो वर्ष सोही बैंकले ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। अन्य बैंकले पनि नाफाको हिस्सालाई बोनस सेयरमा वितरण गर्ने तयारी गरेका छन्। बोनस सेयर वितरण गर्दा बैंकहरूको चुक्ता पुँजी वृद्धि हुन्छ ।
प्रकाशित: ५ आश्विन २०७७ ०२:४८ सोमबार