अर्थ

एक्याप क्षेत्रमा २१ जना पाहुना

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सन् १९८६ मा स्थापना भयो। तर यसले औपचारिक रूपमा १९९२ देखि मात्र अन्नपूर्ण क्षेत्र पुगेका विदेशी पर्यटकको तथ्यांक राख्न थाल्यो। पछिल्लो समय (सन् २०१९) मा अन्नपूर्ण क्षेत्रमा एक लाख ८१ हजार विदेशी पाहुना पुगेका थिए। वर्षभरिमा त्यत्ति धेरै पाहुना पुग्ने क्षेत्रमा सबैभन्दा कम संख्यामा जाँदा पनि महिनामा पाँच हजारको हाराहारीमा त्यो क्षेत्र (एक्याप) मा विदेशी पाहुना रहिरहन्थे।  

तर कोरोना भाइरस संक्रमणले विदेशीको आउजाउ रोकिँदा अहिले अन्नपूर्ण क्षेत्रमा जम्मा २१ जना विदेशी पाहुना बसेका छन्। ती पनि तीनवटा जिल्लामा बाँडिएका छन्। एक्यापका सूचना अधिकारी ऋषि बरालका अनुसार कास्कीको ल्वाङमा १५ जना छन्। हिमालपारिको जिल्ला मुस्ताङमा पाँच र अर्काे हिमाली जिल्ला मनाङमा एकजना मात्र विदेशी बसिरहेका छन्। कोरोना संक्रमणका कारण लकडाउन हुनुअघि नै नेपाल भित्रिएका ती पाहुना त्यसपछि फर्किन सकेका छैनन्। स्वदेश फर्किने अवसर पाउँदा पनि नेपालमै सुरक्षित ठानेर ती विदेशी बसिरहेको बरालले बताए।  

‘जम्मा २१ जना विदेशी पाहुना अहिले एक्याप क्षेत्रमा छन्। लकडाउन हुँदाताका केही संख्यामा पाहुना यतै थिए। तर ती पाहुना बीचमा चार्टर उडान हुँदा घर फर्किए,’ उनले भने, ‘बसिरहेका यी पर्यटक भने चार्टर्ड फ्लाइटमा पनि फर्किन चाहेनन्। नेपाल सुरक्षित ठानेर उनीहरू यतै बसेका छन्।’ आफ्नो देशमा फर्किंदा झनै संक्रमणको जोखिम भएको भन्दै ती विदेशी अहिले पनि त्यही ठाउँमा बसिरहेको उनले बताए। भिसा अवधि सकिएको भए पनि उनीहरू उडान सहज नभएको भन्दै यतै रोकिएका छन्। उनीहरूको भिसा प्रक्रिया अध्यागमन कार्यालयले हेर्ने उनले बताए।

‘तथ्यांक राख्दाको दिनदेखि हेर्ने हो भने पनि सबैभन्दा कम संख्यामा विदेशी योपटक एक्याप क्षेत्रमा छन्,’ बरालले भने। उनका अनुसार अघिल्लो वर्ष (सन् २०१९)को तथ्यांंक हेर्दा सबैभन्दा कम जुलाईमा पाँच हजार चार सय ४३ र अगस्टमा ६ हजार एक सय ७९ पाहुना एक्याप क्षेत्रमा थिए। सबैभन्दा बढी अक्टोबरमा १९ हजार तीन सय थिए। विभिन्न ठाउँमा रोकिएका ती विदेशी पाहुना योगा गरेर दिन कटाउने गरेका छन्। स्थानीय होटलमा ती पाहुना बसेका छन्। बरालका अनुसार ल्वाङमा रहेका विदेशीहरू चीन, अमेरिका, रसियालगायत मुलुकका छन्।  

एक्यापका मनाङस्थित संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार पर्यटक आउजाउ नभएपछि एक्यापले समुदायमा आधारित चोरी शिकारी नियन्त्रणका लागि काम गरिरहेको छ। ‘पर्यटकका लागि अहिले काम गर्नुपरेको छैन। नत्र संरक्षणका लागि हुने नियमित काम भइरहेका छन्,’ उनले भने, ‘अहिले नआए पनि संक्रमण रोकिएपछि पक्कै पाहुना आउनेछन्।’ उनका अनुसार मनाङमा अहिले एकजना मात्र रसियन पर्यटक छन्। उनी अहिले पनि पिसाङको होटलमा बसेका छन्। उनी अन्नपूर्ण सर्किट पूरा गर्न आएका थिए। त्यसबाहेक घान्द्रुक घोरेपानी पनि पुग्ने योजना थियो। लकडाउन सुरु हुँदा उनी पिसाङ पुगेका थिए। पिसाङमा रोकिएका उनी सर्किट पनि पूरा नगरी पिसाङमै बसेका छन्।  

‘ती रसियन पाहुनाको यात्रा रोकिएको छ। स्वदेश फर्किन पनि चाहेनन्,’ तिरुवाले भने, ‘रसियामा भन्दा नेपालमै बस्न सुरक्षित ठानेर बसेका छन्।’  

एक्याप मुस्ताङका संरक्षण अधिकृत तुलसी दाहालका अनुसार पाँचजना पर्यटक दुईवटा गाउँमा बसेका छन्। मुक्तिनाथ माथिको ठिंगुर गाउँमा चार र झारकोटमा एक पर्यटक बसिरहेको उनले बताए। मुस्ताङमा अस्टे«लियाका दुई, रसिया, अमेरिका र युक्रेनका एक–एक गरी पाँचजना छन्। गाउँमा रहेका ती पर्यटक त्यहाँका होटलमा बसेका छन्। उनीहरू पनि घर फर्किन मानेका छैनन्। 

प्रकाशित: ५ आश्विन २०७७ ०२:१४ सोमबार

पाहुना