अर्थ

पोखराका होटल तत्काल नखुल्ने

सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेको र पाहुना आउजाउ हुने अवस्था नरहेकोले तत्काल होटल र रेस्टुरेन्ट खोल्न हतार हुने उनीहरूको भनाइ छ ।  

सरकारले निकै कम समय दिएर अनुमति दिएकोले बिहीबारदेखि नै खोल्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । घर गएका कर्मचारी नफर्केकोले पनि तत्काल काममा फर्किन सहज नहुने उनीहरू बताउँछन् ।  

पोखराको सांग्रिला रिसोर्टका आवासीय म्यानेजर गुप्त गिरीले बिहीबारदेखि नै होटल खोल्ने तयारी नरहेको बताए । ‘हाम्रो तयारी अहिलेका लागि छैन,’ गिरीले भने, ‘कामदार पनि यहाँ छैनन् । घर गएका उनीहरूलाई तत्कालै बोलाउने अवस्था छैन ।’ पाहुना आउने अवस्था नरहेकोले पनि होटल खोल्न नसकिने उनले बताए । सांग्रिला रिसोर्ट अक्टोबरदेखि सञ्चालनमा ल्याउने तयारीमा जुटेको उनले बताए । गिरीले भने, ‘अक्टोबर १ सम्ममा अवस्था सामान्य हुन सक्छ । चहलपहल बढ्न सक्छ ।’ होटल र रेस्टुरेन्टका अहिलेका पाहुना आन्तरिक मात्र हुने भएकोले पनि व्यवसाय खोल्न हतार गर्न नहुने उनले बताए ।  

लामो दुरीको गाडी र आन्तरिक हवाई यात्रा खुलेपछि अक्टोबरसम्म आन्तरिक पाहुना आउन थाल्ने उनको अनुमान छ ।  

पोखराकै अतिथि रिसोर्ट भौतिक रूपमा तयारी अवस्थामा रहे पनि अहिले नै पाहुना आउने सम्भावना नहुँदा कमाइभन्दा घाटा हुने सञ्चालक भरतरात शर्मा बताउँछन् । ‘९० प्रतिशतभन्दा बढी कर्मचारी घरमा छन,’ उनले भने, ‘अहिले नै पाहुना आउने सम्भावना नरहेकोले ती कर्मचारीलाई बोलाउने अवस्था छैन ।’

अहिले निकै कम जनशक्तिमा होटल तयारी अवस्थामा राखिएकोले आएका पाहुनाले पनि पहिले झैं सबैखाले सुविधा पाउने अवस्था नरहेको उनले बताए । ‘सरकारले फेरि पनि होटल बन्द गराउन सक्छ । अहिलेको संक्रमण अझै डरलाग्दो भयो भने फेरि बन्द गर्ने अवस्था आउनेछ,’ उनले भने । आएका सीमित पाहुनालाई सेवा दिन सकिने उनले बताए । यो बेला होटल सञ्चालनमा ल्याउनु भनेको ‘पाइला चाल्नु’ मात्र रहेको उनले बताए । ‘अकुपेन्सी बढेर १० प्रतिशत पुग्छ, त्यो बेला मात्र होटल सिस्टमले चलेको मानिन्छ,’ उनले भने, ‘अहिले खोल्नका लागि होटल खोल्न सकिन्छ, तर पाहुना आउने अवस्था छैन ।’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि तत्काल होटल सञ्चालन गर्न सकिने अवस्था नरहेको बताउँछन् । ‘कहिले खोल्न र कहिले बन्द भनेर सरकारले निर्देशन दिने गरेको छ । जसोतसो खोल्नका लागि कर्मचारी बोलाउने, अनि केही दिनपछि फेरि बन्द गर भनेर निर्देशन आयो भने ती कर्मचारीलाई के गर्ने भन्ने तनाव हुन्छ,’ उनले भने, ‘त्यही भएर पनि अहिले होटल खोल्न सकिन्न ।’

स्थल र हवाई यातायात सुरु भएर सहज हिँडडुल भएपछि मात्र होटल सञ्चालनमा आउने उनले बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि अहिले तत्काल होटल खोल्ने अवस्था नरहेको बताउँछन् । ‘अहिले नै होटल खोल्ने अवस्था छैन । पाहुना आउने सम्भावना नै छैन,’ तुलाचनले भने, ‘पाहुना आउने अवस्था नदेखेपछि व्यवसायी पनि तयारीमा जुटेका छैनन् ।’  

रेस्टुरेन्ट पनि तत्काल खोल्ने तयारी नरहेको व्यवसायीले बताएका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्वअध्यक्ष गोपि भट्टराई भन्छन्, ‘अघिल्लोपटक केही दिनका लागि खुलेका रेस्टुरेन्ट पनि सरकारले पछि बन्द गरायो । त्यो बेला व्यवसायीमा जोश थियो,’ भट्टराईले भने, ‘अहिले भने तत्काल खोल्ने तयारीमा व्यवसायी छैनन् । केही सीमित रेस्टुरेन्टले सेवा दिन सक्ने अवस्था रहेपनि अझै एक महिनापछि मात्र सबै रेस्टुरेन्ट सञ्चालनमा आउन सक्छन् ।’ 

प्रकाशित: १ आश्विन २०७७ ०३:०६ बिहीबार

होटल रेस्टुरेन्ट पोखरा