अर्थ

लोप हुँदै रैथाने धान

फाईल फोटा : खेतमा फलेको स्थानीय जातको कालानमक धान ।

पश्चिम तराइमा उत्पादन हुँदै आएका रैथाने धानहरु लोप हुने अवस्थामा पुगेका छन्। कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअनदी, थापाचिनी र स्यामजिरा लगायतका  स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका हुन्। किसानहरूले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेपछि रैथाने जातका धानहरू हराउँदै जान थालेका हुन्।  

रैथाने जातको धानको बजार मूल्य अन्य धानको तुलनामा धेरै छ। तर उत्पादन कम हुने भएकाले कपिलवस्तु, बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका किसानले स्थानीय जातका धानको खेती गर्न छाडेका कृषकहरु बताउँछन्। कृषकहरु बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेका छन्। मसिनो, बास्नादार र स्वादिलो भएका कारण झिनुवा, रातोअनदी, थापाचिनी, स्यामजिरा, कालानमक र मसिनो बासमती जस्ता स्थानीय जातको चामल उपभोक्ताबीच लोकप्रिय छ।  

पछिल्लो समय नेपालको तराई भेगमा ७४, मध्य पहाडी क्षेत्रमा ३० र उच्च पहाडी क्षेत्रमा १० प्रतिशत उन्नत जातका धानको खेती हुँदै आएको छ। वर्षेनी नयाँ र उन्नत जातका धानखेती गर्ने क्रम बढ्दै गएका कारण धानका रैथाने जातहरू संकटमा पर्ने खतरा बढ्दै गएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले जनाएको छ। हाल जिन बैंकले ११ हजार रैथाने बीउ बैंकमा राखेको छ। २० औं शताब्दीसम्ममा नेपालबाट आधा भन्दा बढी रैथाने बीउहरू लोप हुने अवस्थामा पुगेका छन्।    

पछिल्ला दिनहरूमा किसानका खेतमा कालो रंगका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बालाहरू झुलेको देखिन छाडेका छन्। जनसंख्या वृद्धिलाई मुख्य समस्या बनाएर अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको किसानहरु बताउँछन्। ‘नयाँ पुस्ताले रैथाने बिउको प्रयोग गर्नै चाहदैनन्’ कृषक राका यादवले भने, ‘रोगप्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो, व्यापार व्यवसायतर्फ नयाँ पिढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थेर भनेर चकित पर्ने दिन आउन सक्छ।’ मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानको भन्दा धेरै पानी चाहिन्छ।  

पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिरा जस्ता स्थानीय जातका धानहरू खेती गर्न छाडेर सुख्खा सहन सक्ने राधा ४, सुख्खा १ देखि सुख्खा ६ सम्मका उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन्। रैथाने जातका धानहरू प्रति हेक्टर ३ मेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातका धानहरू प्रति हेक्टर ५ मेट्रिक टनसम्म उत्पादन हुन्छ।

नेपालका रैथाने जातका धानका गुण भएको, उत्पादन धेरै हुने, कम पानी लाग्ने र छिटो पाक्ने धानका नयाँ जात विकसित गर्नका लागि सरोकारवालासँग निरन्तर प्रयास गरिरहेको कृषि ज्ञान केन्दका कपिलवस्तुका प्रमुख रामगोबिन्द आर्याले बताए।

प्रकाशित: ३१ भाद्र २०७७ १०:३८ बुधबार