अर्थ

कोरोना बिमाको मापदण्ड संशोधन

बिमा समितिले सोमबारदेखि लागू हुने गरी कोरोना बिमाको मापदण्ड संशोधन गरेको छ । संशोधित मापदण्डमा निजी ल्याबको परीक्षणको आधारमा पनि कोरोना बिमाको दाबी भुक्तानी गरिने उल्लेख छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्ने नयाँ मापदण्डमा उल्लेख छ । समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बिमा गर्नेले दाबी भुक्तानी नपाउने जनाएपछि चौतर्फी आलोचना भइरहेको थियो ।  

संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा बिमा समितिले पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरिएको छ । कोरोना बिमाको सबै प्रकृया पूरा गरेपछि सात दिनभित्र दाबी भुक्तानी गर्ने समितिले जनाएको छ । त्यस्तै, समितिले अबदेखि कोरोनामा एकल बिमालेख हटाएर सामूहिक मात्रै जारी गर्ने गरी मापदण्ड संशोधन गरेको छ ।

घरमै आइसोलेसनमा बस्ने संक्रमितले बिमांकको २५ प्रतिशत मात्र पाउने ।

त्यस्तै नयाँ संशोधनमा कोरोना संक्रमण भई घरको आइसोलेसनमा बसे बिमाङ्क रकमको २५ र अस्पताल भर्ना भई उपचार गरेका बीमितले ७५ प्रतिशत पाउने छन् । बिमितले दाबी गर्नको लागि पिसिआर जाँच गर्दा पोजेटिभ भएको रिपोर्ट, अस्पताल भर्ना र डिस्चार्ज भएको भौचर तथा होम आइसोलेसनमा बसेको भए स्थानीय तहबाट प्रमाणित सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।  

यसअघि पिसिआर पोजेटिभ रिपोर्ट मात्र लिएर बिमा दावी गर्न पाइने व्यवस्था तथा बीमाङ्कको पुरै रकम पाउने व्यवस्था थियो । अहिलेसम्म कोरोना बिमाका १० लाखभन्दा बढी पोलिसी बिक्री भएका छन् ।

प्रकाशित: ३० भाद्र २०७७ ०२:०८ मंगलबार

कोरोना बिमा