अर्थ

ऊर्जा उपयोग प्रवृत्ति बदल्न विज्ञको सुझाव

हिमालय क्षेत्रमा पर्यावरणीय अनुसन्धान गर्दै आएको अन्तरसरकारी संस्था इसिमोडका प्रमुख अर्थशास्त्री मणि नेपालले मुलुकको ऊर्जा उपयोग प्रवृत्ति बदल्नुपर्ने बताएका छन्। उनले विश्वव्यापी ऊर्जा खपतको प्रवृत्तिसँग नेपालको तालमेल नभएको बताए।  

अत्यधिक प्रदूषण गर्ने र तीव्र वन फँडानीमा सघाउने बायोमास (दाउरा लगायत) को उपयोग नेपालमा अत्यधिक भएको उनले बताए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार आयोजना गरेको ‘हरित अर्थतन्त्र’ सम्बन्धी भर्चुअल अन्तक्र्रियामा उनले यस्तो बताएका हुन्।  

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले केही महिनाअघि नेपालमा अहिले पनि ७४ प्रतिशत ऊर्जाको स्रोत बायोमासमा निर्भर रहेको तथ्यांक प्रकाशित गरेको थियो। जबकि, विश्व ऊर्जा खपतमा बायोमासको हिस्सा नौ प्रतिशत हाराहारीमात्र छ। नेपालमा ८८ प्रतिशत ऊर्जा खपत कृषि एवं गार्हस्थ उपयोगमा हुने गरेको छ।  

औद्योगिक क्षेत्रमा चार प्रतिशत र यातायातमा सात प्रतिशत ऊर्जा खपत हुने गरेको तथ्यांक छ। धेरै ऊर्जा चुल्हो–चौकोमा खपत हुने भएकाले यसले पर्यावरणमात्र होइन, मानव स्वास्थ्यमा समेत सिधा घातक असर गरिरहेको डा नेपालले बताए। ‘अहिले विश्वमा वायुप्रदूषणबाट बर्सेनि ७० लाख मान्छेको मृत्यु हुन्छ,’ उनले भने, ‘यो वर्षभरमा हुने युद्ध, हत्या र टिबी, एचआइभी एड्स र मलेरियाजस्ता घातक रोगका कारण हुने कुल मृत्युभन्दा पनि बढी हो।’  

चुल्होबाट निस्कने धुवाँ मानव स्वास्थ्यका लागि निकै घातक हुने वैज्ञानिकहरुले बताउँदै आएका छन्। यससँगै पकाउन र आगो ताप्न प्रयोग हुने दाउराका कारण वन फँडानी बढ्दा प्राकृतिक प्रकोप र जलस्रोत सुक्ने जोखिम बढिरहेको उनले बताए। अर्कातिर हानिकारक ग्यासको उत्पादनले जलवायु परिवर्तनमा समेत प्रतिकूल प्रभाव परेको डा नेपाल बताउँछन्।  

ऊर्जाको स्रोतमा मात्र होइन, सहरीकरण र औद्योगिक विकासमा पनि दिगो र हरित विकास रणनीतिलाई अंगीकार गर्न नसकिएको उनले बताए। न्यून कार्बन उत्सर्जन, दिगो लाभ, स्रोतको समुचित उपयोग र समावेशी विकासलाई हरित अर्थतन्त्रको आधार मान्न सकिने उनले बताए।  

विकास तथा वातावरणीय अर्थशास्त्रीहरुको दक्षिण एसियाली सञ्जालका संयोजक समेत रहेका नेपालले अहिले खाना पकाउने ग्यासमा दिएको अनुदान हटाइदिने हो भने नेपालमा पनि विद्युत्मा खाना पकाउने प्रवृत्ति बढ्ने बताए। ग्यासको अनुदान न्यून आय भएका गार्हस्थ विद्युत् उपभोक्तालाई दिन सकिने उनले सुझाए। तर विद्युत्को आपूर्तिमा हुने समस्याले विश्वसनीयता तयार हुन नसकेको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने बताए।  

त्यस्तै, बायोमास अहिलेकै अवस्थामा निकै खराब भए पनि चुल्हो सुधार गर्ने र जंगलको दिगो खपत गर्ने हो भने लाभदायक हुन सक्ने उनको बुझाइ छ। चुल्हो सुधारमा अहिले भइरहेका प्रयासहरु पर्याप्त नभएको भन्दै सर्वसुलभ र उपयोगी प्रविधिको विकासमा अनुसन्धान गर्नुपर्ने उनले सुझाए। ‘सहरी क्षेत्रमा विद्युतीय सवारीको व्यवस्था गर्न सकिन्छ। तत्काल विद्युतीय प्रविधिमा लान नसक्ने लामो दुरी र बढी भार बोक्ने मालबाहक गाडीमा अहिले जस्तै जैविक इन्धनको प्रयोग गर्दा पनि वातावरणीय क्षति कम गर्न सकिन्छ,’ उनले भने। 

प्रकाशित: २९ भाद्र २०७७ ०२:५१ सोमबार

ऊर्जा उपयोग