अर्थ

धमाधम बन्द हुँदै होटल

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देही कार्यालय। तस्बिर: नागरिक

पर्यटकलाई लक्षित गर्दै धमाधम होटलमा लगानी थपिरहेको बेला कोरोना महामारीले भने अवस्था ठिक उल्टो बनाइदिएको छ। रुपन्देहीको बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रलाई केन्द्रमा राखेर पछिल्लो दुई वर्षमा तारे होटल र पर्यटकमैत्री होटल खुल्ने क्रम बढेको थियो।  

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ देखि लकडाउन गरेपछि भने घरभाडा समेत बुझाउन नसकेपछि धमाधम होटल व्यवसाय नै बन्द गर्ने क्रम सुरु भएको छ।  

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल निर्माणले उत्साही भएका यहाँका व्यवसायी कोरोनाका कारण नराम्रोसँग थलिएका छन्। बुटवल बसपार्कमा विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको होटल सनराइज असारदेखि बन्द भएको छ। ‘तीन महिनासम्म कोरोना सकिएला भनेर जसोतसो भाडा तिरेको थिएँ, भाडामा पनि सहुलियत भएन। थेग्नै नसकेपछि सामान उठाएर बन्द गरेँ,’ होटल सञ्चालक रामप्रसाद गौतमले भने। उनले कोरोनाकै कारण १५ वर्षदेखि सञ्चालन गर्दै आएको होटल बन्द गर्न बाध्य भएको दुखेसो पोखे। उनले मासिक एक लाख रुपैयाँ घरवहाल बुझाउँथे।  

लामो समयसम्म कोरोना नियन्त्रणका लागि लकडाउन कायम भएपछि व्यवसायबाटै हात धुने व्यवसायी थपिने क्रम जारी छ। बुटवल बसपार्कमा विगत तीन वर्षदेखि होटल न्यू मनकामना गेस्ट हाउस सञ्चालन गर्दै आएका विष्णु अधिकारीले घरभाडा बुझाउन सकस भएपछि लाखौंका सामानसहित होटल छाडेका छन्। ‘घरभाडामा छुट पनि भएन, यस्तो संकटमा सरकारबाट पनि कुनै राहत पाइएन्,’ उनले भने, ‘होटल बन्द गरेर भाडा मात्रै बुझाएर बस्न सकिएन, बन्द गरेँ।’ उनले पानी बिजुली र घरभाडमा केही सहुलियत भए व्यवसाय छाड्न नपर्ने दुखेसो पोखे। होटलको मासिक एक लाख १५ हजार घरबहाल थियो।  

बुटवल बसपार्क आसपासका दर्जन होटल बन्द भएका छन्। लोकप्रिय होटल, होटल श्रीनगर, बुटवल बेलबासको सुपादेउराली होटल आर्थिक संकटकै कारण बन्द भएका छन्। अझै ६ महिनासम्म यस्तै अवस्था रहे अधिकांश होटल व्यवसायी पलायन हुने होटल तथा पर्यटन व्यवसायी माधव नेपालले बताए। ‘बैंकबाट ऋण निकालेर व्यवसाय गर्नेहरु धेरै छन्, घरभाडा र कर्मचारीको खर्च धान्न सक्ने अवस्था छैन,’ उनले भने।  

लामो समयसम्म कोरोना नियन्त्रणका लागि लकडाउन कायम भएपछि व्यवसायबाटै हात धुने व्यवसायी थपिने क्रम जारी छ। बुटवल बसपार्कमा विगत तीन वर्षदेखि होटल न्यू मनकामना गेस्ट हाउस सञ्चालन गर्दै आएका विष्णु अधिकारीले घरभाडा बुझाउन सकस भएपछि लाखौंका सामानसहित होटल छाडेका छन्।

बुटवल, भैरहवामा गरी साना ठूला करिब एक सय होटल बन्द भएको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले जनाएको छ। संघका अध्यक्ष समुन्द्र जिसीले ६ महिनासम्म लकडाउन हुँदा सबैभन्दा बढी होटल व्यवसायी मर्कामा परेको बताए। ‘यस्तो संकटमा पनि सरकारले व्यवसायीलाई बाँच्ने कुनै आधार देखाएन,’ अध्यक्ष जिसीले भने, ‘कतिपय साथी आत्महत्या पो गर्छन् कि भन्ने त्रास थपिएको छ।’ रुपन्देहीमा ९५ प्रतिशत होटल व्यवसायी भाडामा सञ्चालित छन्। आफ्नै घरमा सञ्चालन भएकालाई घरवहालको समस्या नभए पनि अधिकांश भने भाडा बुझाउन नसकेकै कारण व्यवसायबाट विस्थापित हुनुपरेको छ।

होटल तथा रेस्टुरेन्ट व्यवसायीसँग मात्रै आवद्ध १२ सय व्यवसायी छन्। यसमध्ये धेरैले होटल नै बन्द गरेर गाउँघर फर्कन थालेको संघका महासचिव माधवकुमार खनालले बताए। तारे होटलदेखि चिया नास्ता खुवाउने होटलसम्म थला परेको उनको भनाइ छ।

‘ठूला होटलमा कर्मचारी व्यवस्थापन र घरघाडा थेग्न सक्ने अवस्था छैन, अझै यहि अवस्था भए व्यवसायी भाग्नुपर्छ,’ उनले भने। उनले अब बाँच्नका लागि पनि होटल व्यवसाय बिस्तारै खोल्नुपर्ने पक्षमा पुगेको बताए। संघले होटल सञ्चालनको वातावरण सरकारले नबनाए पनि असोज १ गतेदेखि खुलाउने निर्णय गरेको छ। रुपन्देहीमा करिब १६ अर्बको हाराहारीमा होटलमा लगानी रहेको छ। ३० हजारभन्दा बढीले कोरोनाका कारण रोजगारी गुमाएको अनुमान संघले गरेको छ। 

प्रकाशित: २८ भाद्र २०७७ ०२:५२ आइतबार

होटल