अर्थ

घरजग्गा व्यवसायी आन्दोलित

मोरङका घर जग्गा व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरू गरेका छन्। सरकारले कृषि योग्य जमिनको कित्ता काट खोल्न गरेको निर्णय मालपोत र नापी कार्यालयहरूले कार्यान्वयन नगरेको अरोप लगाउदै व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन्।  

शुक्रबार मोरङका घर जग्गा व्यवसायीहरुले आन्दोलन स्वरुप मालपोतकालय विराटनगरकाको मुल गेट एक घण्टा बन्द गरे। शुक्रबार एक घण्टा मालपोतको काम बन्द गरे पनि आइतबारदेखि कित्ताकाट सेवा सुरू नभए अनिश्चित कालका लागि कार्यालयको काम रोकेर व्यवसायी आन्दोलनमा उत्रने  घरजग्गा व्यवसायी संघ मोरङका अध्यक्ष घनश्याम पोखरेलले बताए।  

उनले भने, ‘विभागले पत्र पठाएर दिएको निर्देशनमा कित्ताकाट खुलाउन स्पष्ट व्यवस्था गरेपनि कर्मचारीहरूले काम नथालेर अलमल्याइरहेका छन्।’ उनले कित्ताकाटको काम सुरू नगरे आइतबारदेखि मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिए।  

मन्त्रालय र विभागले संयुक्त रुपमा मातहत कार्यालयलाई पठाएको पत्रमा   कृषि योग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरू वदर भएको उल्लेख छ। तर, सोहि पत्रमा भू उपयोग निती जारी भई भू उपयोग नक्सा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुनेगरी हाललाई भू उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउने व्यवस्था गर्न कार्यालयहरूलाई निर्देशन दिइएको छ। 

मन्त्रालय र विभागले पत्रमा स्पष्ट रुपमा कित्ताकाट खुलाउने नभनि भू उपयोग ऐनलाई पनि जोडेको र स्थानीय तहलाई भू उपयोग नक्सा उपलब्ध गराएपछि त्यसका आधारमा भनिएका कारण मालपोत र नापी कार्यालयहरू कित्ताकाट सेवा सुरू गर्ने कि नगर्ने भन्ने अन्यौलमा परेका छन्।  

विभागबाट स्पष्ट निर्देशन नआएसम्म कित्ताकाट खुलाउन नसकिने मालपोत र नापी कार्यालयका कर्मचारीहरूले अडान लिंदै आएका छन्।

प्रकाशित: २६ भाद्र २०७७ ११:३७ शुक्रबार