अर्थ

रसुवागढी नाका सञ्चालनमा ल्याउन छलफल

एक सातादेखि बन्द रहेको रसुवागढी नाका सञ्चालनमा ल्याउनेबारे चिनियाँ पक्षसँग छलफल भएको छ । नाकाको अवस्था, रसुवामा कोरोना भाइरस संक्रमणको अवस्था र स्वास्थ्य सुरक्षा लगायतबारेमा जानकारी लिन चीनको स्वशासित क्षेत्र तिब्बतको पोर्ट म्यानेजमेन्ट अथोरिटिजका टोली बुधबार रसुवागढी आएका थिए ।  

छलफलका क्रममा नेपाली पक्षले नाका सञ्चालनमा आएपछि नेपाली सामग्री चीनतर्फ निर्यात गर्न दिन र नेपालतर्फ सामग्री झार्नका लागि निर्धारण गरिएको क्षेत्रमा चिनियाँ पक्षको स्वीकृति नरहे चीनतर्फको यार्डमा सामग्री झार्ने व्यवस्था मिलाउन आग्रह गरिएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।  

चिनियाँ टोलीले तिब्बत सरकारले नै नाका सञ्चालनबारे निर्णय लिने भएकाले नेपाली पक्षले उठाएको मागको सम्बोधनका लागि माथिल्लो निकायमा कुरा गरिने जानकारी दिए । एक साताअघि रसुवागढी नाकामा लोड–अनलोड गर्ने नेपाली कामदारमा कोरोना संक्रमण भएपछि चिनियाँ पक्षले आयात  रोकेको हो ।  

नेपालतर्फ स्वास्थ्य सुरक्षाप्रति संवेदनशील नभएको चिनियाँ पक्षको बुझाइ छ । चिनियाँ पक्षले नाकामा काम गर्नेहरूले अरूसँग घुलमिल हुन नहुने र १४–१४ दिनमा पिसिआर रिर्पोट पेस गर्नुपर्ने सर्त राखेको छ । यी लगायत अन्य सर्त चिनियाँ पक्षले राखेको भए पनि नेपाली पक्षले यसअघि नै अस्वीकृति जनाएको छ ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ । कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले यसअघि सामग्री मितेरी पुलमा झार्दै आएका थिए ।  

मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ । चीनको केरुङमा ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भए पनि सामग्री आयात न्यून भएको छ ।

प्रकाशित: २६ भाद्र २०७७ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App