अर्थ

न्यून मूल्यले अलैंची किसान निराश

पाँचथरका किसानको बारीमा अलैंची । तस्बिर: नागरिक <div><br></div>

पूर्वी पहाडी जिल्लाका किसान यतिबेला अलैंची टिप्न जुटेका छन् । अलैंची टिप्ने, भट्टी लगाउने (प्रशोधन) गर्ने समय सुरु भएकाले किसानलाई यतिबेला भ्याइनभ्याई छ ।  

भूगोलअनुसार साउन अन्तिमदेखि अलैंची टिप्ने काम सुरु हुन्छ । साउनदेखि कात्तिक अन्तिमसम्म ठाउँअनुसार अलैंची टिप्ने काम हुन्छ । कतै अलैंची बगानमा किसान खटिएका देखिन्छन् भने कतै अलैंची टिप्ने अन्य तयारी गरेका भेटिन्छन् ।

यसपल्ट बगानमा अलैंची राम्रैसँग फलेको छ । तर अलैंचीको बजार मूल्यका कारण राम्रो फसल लागे पनि किसानका मुहारमा खुसी देखिँदैन ।

‘यो पल्ट मौसमले साथ दियो, अलैंची गजबले फलेको छ । तर के गर्नु बजारमा दाम नै राम्रो छैन्,’ फिदिम–७ असिलेका किसान भद्र तामाङ भन्छन्, ‘पहिले अलैंचीले जीवनस्तर सुधा¥यो । केही वर्ष भयो भाउ घट्याघट्यै छ । बजारमा अरू वस्तुको मूल्य बढ्याबढ्यै, अलैंचीको मूल्य घट्याघट्यै छ । अलैंची टिप्ने बेला त भएको छ तर लागत पो उठ्दैन कि भन्ने पिर छ ।’

यस्तो भन्ने अलैंची किसान प्रशस्त भेटिन्छन् । कुनै समय प्रतिमन (४० केजी)को लाख रूपैयाँभन्दा बढी मूल्यमा अलैंची बिकेको थियो । अहिले अलैंचीको मूल्य प्रतिमन २५ हजार रूपैयाँभन्दा कम  रहेको छ । पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, खोटाङलगायत जिल्लामा बढी अलैंची खेती हुन्छ ।  

बगानमा राम्रोसँग अलैंची फले पनि केही वर्षयता मूल्यमा गिरावट आएपछि समस्या भएको अर्का किसान विजय तामाङ बताउँछन् । उनले भने, ‘अन्य बाली मासेर लगाइएको अलैंचीको बजार मूल्य राम्रो नभएपछि गारो हुने भइहाल्यो नि ।’

गत वर्षकै अलैंची नै बिक्री भइसकेको छैन । भाउ कुर्दाकुर्दै नयाँ उत्पादनको सिजन सुरु भएको छ । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीका अनुसार किसान र व्यवसायीको गोदाममा गत वर्षकै अलैंची ‘स्टक’ छ । नेपाली बजारले अलैंचीको मूल्य निर्धारण गर्न नसक्ने उनको भनाइ छ ।  

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टका अनुसार यो पल्ट अलैंचीको उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । ‘यो वर्ष अलैंची उत्पादन बढ्ने देखिएको छ । मौसमले साथ दियो, खेती पनि विस्तार भएको छ । तर समस्या मूल्यको रहेको छ,’ विष्टले भने, ‘केही वर्षयता अलैंचीको मूल्यमा गिरावट आउँदा किसान मर्कामा परेका छन् ।’

अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने प्रदेश १ मा १५ हजार ६ सय ९९ हेक्टरमा अलैंची खेती गरिन्छ भने ६ हजार नौ सय ५३ मेट्रिक टन अलैंची उत्पादन भएको छ । सबैभन्दा धेरै ताप्लेजुङमा चार हजार दुई सय ९९ हेक्टर, पाँचथरमा तीन हजार चार सय २५, संखुवासभामा दुई हजार आठ सय ८१ हेक्टरमा अलैंची खेती हुने गरेको छ । यस्तै इलाममा एक हजार सात सय १०, खोटाङमा एक हजार चार सय दुई, भोजपुरमा सात सय १२, तेह्थुममा सात सय हेक्टरमा अलैंची खेती हुने गरेको तथ्यांक पाइन्छ । नेपालमा उत्पादन भएको अलैंचीको आन्तरिक खपत भने न्यून रहेको छ ।

प्रकाशित: २६ भाद्र २०७७ ०४:२१ शुक्रबार

अलैंची किसान