अर्थ

अलैची टिप्न जुट्दै किसान, मूल्य नबढ्दा चिन्तित

अलैची टिप्ने तयारी गर्दै पाँचथरको फिदिम–७ असिनेका कृषक। तस्बिर : गिरिराज/नागरिक

पाँचथर–पूर्वी पहाडका अलैची किसानहरु यतिबेला कतै अलैची टिप्ने काममा जुटेका छन् भने कतै तयारीमा रहेका छन्। अलैची टिप्ने, भट्टी लगाउने (प्रसोधन) गर्ने समय सुरु भएको छ।  

भुगोल अनुसार साउन अन्तिमदेखि अलैची टिप्ने काम सुरु हुन्छ। साउनदेखि कार्तिक अन्तिमसम्म ठाँउअनुसार अलैची टिप्ने काम हुन्छ। कतै अलैची बगानमा किसान खटिएका देखिन्छ भने कतै अलैची टिप्नलाई अन्य तयारी गरेका भेटिन्छन् ।

यस पल्ट बगानमा अलैची राम्रैसँग फलेको छ। तर अलैचीको बजार मूल्यका कारण राम्रो फसल लागेपनि किसानका चेहेरामा खुशी देखिदैन्। ‘यो वर्ष मौसमले साथ दियो, अलैचीको गजबले फलेको छ। तर के गर्नु बजारमा दामनै राम्रो छैन्’ फिदिम–७ असिलेका किसान भद्र तामाङ भन्छन् ‘पहिले अलैचीले जीवन स्तर सुधार्यो। केहि बर्ष भयो भाउ घट्या घट्यै छ। बजारमा अरु बस्तुको मूल्य बढ्या बढ्यै, अलैचीको मूल्य घट्या घट्यै छ। अलैचि टिप्ने बेला त भएको छ तर लागतनै पो उठ्दैन कि भन्ने पिर छ ।’

यस्तो भन्ने अलैची किसान प्रसस्त भेटिन्छन्। कुनै समय प्रतिमन (४० केजी) को १ लाख भन्दा बढि मूल्यमा अलैची बिकेको थियो। अहिले अलैचीको मूल्य प्रतिमन २५ हजार रुपैँया भन्दाकम रहेको छ। पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, खोटाङ लगायतका जिल्लामा बढि अलैची खेती हुन्छ।  

बगानमा राम्रोसँग अलैची फलेपनि केहि बर्षयता मूल्यमा गिरावट आएपछि समस्या भएको अर्का किसान विजय तामाङ बताउँछन्। उनले भने ‘खेती योग्य बारी मासेर लगाईएको अलैचीको भने जस्तो मूल्य नआएपछि मुस्किल भयो ।’

गत बर्षकै अलैचीनै विक्रि भईसकेको छैन्। भाउ कुर्दा कुर्दै नयाँ उत्पादनको सिजन सुरु भएको छ। नेपाल अलैची व्यवसायि महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीका अनुसार किसान र व्यसायीको गोदाममा गत बर्षकै अलैची ‘स्टक’ छ। नेपाली बजारले अलैचीको मूल्य निर्धारण गर्न नसक्ने उनको भनाई छ।  

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टका अनुसार यो पल्ट अलैचीको उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरीएको छ। ‘यो बर्ष अलैची उत्पादन बढ्ने देखिएको छ। मौसमले साथ थियो, खेती पनि विस्तार भएको छ। तर समस्या मूल्यको रहेको छ’ विष्टले भने ‘केहि बर्षयता अलैचीको मूल्यमा गिरावट भईदिदा समस्या भएको छ ।’

अघिल्लो आर्थिक बर्षको तथ्याङ्क हेर्ने हो भने प्रदेश १ मा १५ हजार ६ सय ९९ हेक्टरमा अलैची खेती हुने देखिन्छ भने ६ हजार ९ सय ५३ मेक्ट्रिटन अलैची उत्पादन भएको छ। सबैभन्दा धेरै ताप्लेजुङमा ४ हजार २ सय ९९ हेक्टर, पाँचथरमा ३ हजार ४ सय २५, संखुवासभामा २ हजार ८ सय ८१ ह्ेक्टरमा अलैची खेती हुने गरेको छ। यस्तै इलाममा १ हजार ७ १०, खोटाङमा १ हजार ४ सय २, भोजपुरमा ७ सय १२, तेह्थुममा ७ सय हेक्टरमा अलैची खेती हुने गरेको तथ्याङ्क पाईन्छ। नेपालमा उत्पादन भएको अलैचीको आन्तरीक खपत्त न्यून रहेको छ। 

प्रकाशित: २४ भाद्र २०७७ १०:४२ बुधबार