अर्थ

रसुवागढी नाका सञ्चालनमा अन्योल

रसुवागढी नाका सञ्चालनमा ल्याउनेबारे अन्योल सिर्जना भएको छ। ६ दिनअघि रसुवागढी नाकामा लोड–अनलोड गर्ने नेपाली कामदारमा कोरोना संक्रमण भएपछि चिनियाँ पक्षले आयात रोकेको हो।  

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिलोङ काउन्टीका अधिकारीले तिब्बत अटोनोमस रिजनबाट आदेश आएपछि मात्र नाका खोल्ने बताए। नेपाली पक्ष स्वास्थ्य सुरक्षाप्रति संवेदनशील नभएको चिनियाँ पक्षको बुझाइ छ। चिनियाँ पक्षले नाकामा काम गर्नेहरूले अरुसँग घुलमिल हुन नहुने र १४–१४ दिनमा पिसिआर रिपोर्ट पेस गर्नुपर्ने सर्त राखेको छ।  

नाका सञ्चालनमा आएको भए पनि कोरोना भाइरस संक्रमणका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका थिए।  

मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भए पनि सामग्री आयात न्यून भएको छ।  

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी, नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

प्रकाशित: २४ भाद्र २०७७ ०४:४० बुधबार

रसुवागढी नाका