तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । केपिलासगढी गाउँपालिकास्थित विद्युत्गृहबाट उत्पादित बिजुली मंगलबारदेखि राष्ट्रिय प्रसारणमा जोडिएको हो ।
आयोजना प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाका अनुसार केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सब–स्टेसनको काम पूरा नभएकाले हाललाई गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन अन्तर्गत बुइपा सब–स्टेसनमा जोडिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करिब ६० करोड लागतमा यसको काम सम्पन्न भएको हो । २०६८ देखि पहल थालिए पनि २०७३ देखि आयोजना निर्माण सुरु गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले माथिल्लो रावा खोला साना जलविद्युत आयोजनाको विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न अझै ट्रायल भइरहेको जानकारी दिए ।
प्रकाशित: २३ भाद्र २०७७ ०२:११ मंगलबार