अर्थ

धानबाली संरक्षण गर्न समस्या

अहिले सबै क्षेत्रमा कोरोना भाइरसले गर्दा विश्वको अर्थतन्त्रमा ठूलो असर पर्दा नेपाल पनि अछुतो रहेको छैन। नेपालको अन्न भण्डारका रूपमा प्रदेश १ र २ का तराई क्षेत्र पर्दछन्।तर, अन्न भण्डार मानिए पनि अन्न उत्पादन गर्ने किसानलाई सधैँ दुःख र चिन्ताले कहिले छाड्न आँटेन। देशमा तीन तहको सरकार भएपछि सबै समस्याको हल हुने आश गरेको किसानले कहिले पनि सरकार भएको अनुभूति गर्न पाएको छैन।  

पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा लगाइएको धान बालीमा डढुवा रोग र गँवारो लागेर नष्ट हुन थालेको छ। तर, सम्बन्धित निकायले खासै ध्यान नदिँदा बाली जोगाउनुका साथै उत्पादन वृद्धि गर्न नसक्ने किसानहरू बताउँछन्।  

किसानहरूको सधैँको एउटै गुनोस वा माग रहेको छ। अब त तीन तहको सरकार हुँदासमेत हामीले रुनु पर्ने। हामी किसानले जहिले पनि कुनै बाली लगाउँदा वा उत्पादन गरेपछि बिक्री गर्ने समय होस् रुनुपर्ने परिपाटीको अन्त्य कहिले हुन्छ ? कटहरी–६ थलाहाका डम्बरलाल सरदारले भने।

‘जहिलो पनि खाद्य मलको समस्या हुन्छ। बाली लगाउने समयमा कहिले पनि पर्याप्त खाद्य मल प्राप्त गर्न सकेनौं,’ सुनबर्षी–२ का तोर्ण कट्वालले भने, ‘सरकारले कहिले पनि किसानको मर्म बुझ्न सकेन। हामीलाई चाहिने मुख्य कुरा सिँचाइ र मल नै हो। त्यो कहिले पनि प्राप्त गर्न सकेनौं। अहिलेसम्म मल प्राप्त गर्न सकेका छौनौं।’सरकारले साउनको दोस्रो सातासम्म खाद्य मल आइपुग्ने बताए पनि भदौ तेस्रो साता भइसक्दासम्म पर्याप्त मल आइपुगेको छैन। विराटनगरमा मल लिने घन्टौं लाइनमा बस्नु परेको छ।

प्रदेश–१ को अन्न भण्डारका रूपमा रहेको उदयपुर, मोरङ, सुनसरी र झापाको धानबालीमा डढुवा रोग र गँवारो लागेर नष्ट पारेको छ। तत्काल नियन्त्रण गर्न नसके ६० प्रतिशत धान बालीमा क्षति गर्ने प्राविधिक बताउँछन्। धान पसाउने बेलामा लागेको रोगका कारण किसान पीरोलिएका छन्। धानमा रोग लागेर किसान समस्यामा परेका छन् भने अर्कातिर समयमै धानबालीमा रासायनिक मल हाल्न नपाउँदा उत्पादन घट्ने पीरलो किसानमा छ।

चार जिल्लामा धान पसाउने बेलामा लागेको रोगका कारण किसान समस्यामा परेका  छन्। समयमै पानी परेका कारण राम्रो उत्पादन हुने किसानले आशा गरेका थिए। तर, धानका पात डढुवा रोग र गँवारोले सखाप पारेपछि खेतको ठेक्का र धान रोप्दा लागेको ऋण अब कसरी तिर्ने भन्ने किसान उल्टो चिन्तामा रहेका छन्।  

‘धानबाली यस्तो अवस्थामा पुग्यो कि पूरै डढेर खतम भइसक्यो,’ कटहरीका सरदारले भने, ‘कुनै खेत बाँकी छैन रोग नलागेको। अब कसरी जोगाउने भन्ने चिन्ताले छाएको छ।’  धानमा लागेको रोगको उपचारका लागि प्राविधिकसँग सल्लाह नगरी पसलबाट विषादी किनेर छर्ने चलन छ। ‘यसरी रोगको पहिचान नगरी जथाभावी विषादी प्रयोग गरिएका कारण धान मरेको हो,’ बाली संरक्षण प्रयोगशालाका अधिकृत मुकेश यादवले भने, ‘मल नपाएर कमजोर भएको धानमा ब्याक्टेरियाले आक्रमण गरेका कारण बढी क्षति भएको पाइएको छ। किसानले रोगको पहिचान नगरी आफू खुशी दबाइ गर्नाले थप समस्या सिर्जना हुन्छ।’

यहाँ धानबालीमा ब्याक्टेरियाले समस्या गरेको। तर, किसानहरूले किटनाशक र जिङ प्रयोग गर्दै आएका छन्। ‘रोग एउटा लागेको छ। दबाइ अर्को गरेर कहाँबाट निको हुन्छ,’ अधिकृत यादवले भने, ‘रोग नियन्त्रणका लागि ब्याक्टेरिया नाशकको सट्टा ढुसी नाशक औषधि प्रयोग गरेको भेटियो। यसरी रोग पहिचान नगरी अर्को औषधि गर्दा रियाक्सन हुन्छ नै।’ यसवर्ष प्रदेश १ मा ३ लाख ३२ हजार ९ सय १७ हेक्टर जमिनमा धान खेती गरिएको छ।  

प्रकाशित: २२ भाद्र २०७७ १२:३६ सोमबार