अर्थ

गाडीका टायर जोगाउन प्लास्टिकको खोल

पोखराका कान्ति श्रेष्ठका १२ वटा ठूला आकारका बस छन्। ‘लालिमा डिलक्स’ नाममा उनले ती बस पोखराबाट कटारी र कटारी–काठमाडौं लगायत रुटमा चलाउँदै आएका थिए। उनका सबै गाडी चैत ११ पछि थन्किएका छन्।  

लकडाउनले चल्न नपाउँदा उनका गाडी कटारी, पोखरा र काठमाडौंमा रोकिएका छन्। केही गाडी साथीभाइको ग्यारेजभित्र राख्न पाए पनि सबै गन्तव्यमा उनले सुरक्षित ठाउँ पाएनन्। अनि खुला मैदान र सडकमै छाडेका छन्। महिनौंसम्म सडकमा गाडी रोकिँदा तिनका टायर कुहिन थाले, अनि उनले जुक्ति निकालेको बताए।  

रोकिएका गाडीको टायर जोगाउन उनले ठूला आकारका प्लास्टिक किनेर टायरकै आकारमा काटे, अनि गाडीका टायरलाई ¥यापिङ गरेर घामपानीबाट जोगाएका छन्। ‘गाडीको बडी’मा खिया लाग्नेभन्दा पनि महिनौंसम्म घामपानीमा सेकिँदा टायर पड्किने र कुहिने डर भयो,’ उनले भने, ‘त्यही भएर प्लास्टिकको खोल हालेको छु।’

सुरुमा केही दिनका लागि मात्र लकडाउन हुने ठानेर चालक र सहचालकले अन्तिम गन्तव्यमा गाडी ठड्याएर घर गए। महिनौंसम्मको लकडाउनले गाडी जहीँको तही रोकिए, घर पुगेका चालक र सहचालक व्यवस्थापनका लागि गाडीसम्म आउने अवस्था रहेन। खुलमखुला घामपानीमा ती गाडी सेकिँदै र डुब्दै गए। ‘गाडीका टायर र भित्री सरसामान जोगाउन सकस भयो। टायर कुहिने डर भयो, त्यही भएर केही दिनअघि प्लास्टिक किनेर ¥यापिङ गरेको छु,’ उनले भने, ‘घामपानीबाट गाडी नै जोगाउन त सकिएन नै, ती सवारीका टायरमात्रै जोगाउन सकियो भने पछि गुडाउन पाइएला कि भन्ने आशा छ।’ उनका अनुसार एक जोडी नयाँ टायरको बजार मूल्य ७२ हजार रूपैयाँ पर्छ। लामो दुरीमा चल्ने भएकाले सबैजसो गाडीमा नयाँ टायर छन्। ‘ती गाडीका टायर फेरेपछि धेरै दिन गुड्न पनि पाएका थिएनन्। गुड्नै नपाई कुहिने डर भएकाले प्लास्टिकले बेरेको हुँ,’ उनले भने।  

श्रेष्ठका अनुसार जहीँ तहीँ सडक र खुला मैदानमा सवारी रोकिँदा ती सवारीभित्र रहेका महŒवपूर्ण सामान चोरी भएका छन्। बसमा रहेका टिभी, म्युजिक सिस्टम, ब्याट्री लगायत सामान चोरिएका छन्। ‘रेखदेख गर्ने कोही छैन। यत्रतत्र खुला मैदानमा रहेका गाडीका सामान चोरी भएका छन्,’ उनले भने, ‘निकाल्न मिल्ने जति सामान चोरेर लगिसकेका छन्। घाटामाथि घाटा थपिएको छ।’  

उनका अनुसार गाडीभित्र मुसा पसेर सिटदेखि तारसम्म ठाउँठाउँमा काटेका छन्। रोकिएको ठाउँमा भुइँको घाँस र बिरुवा पलाएर गाडीभित्र पस्न थालिसकेको पनि उनले बताए। संक्रमण नरोकिँदा र लामो दुरीको बस सञ्चालन गर्न नपाउँदा आर्थिक रूपमा झनै डामाडोल हुँदै गएको उनले बताए। अब यी गाडी सडकमा निकाल्दा प्रत्येक गाडीका लागि कम्तीमा डेढ लाख रूपैयाँ खर्च हुने श्रेष्ठले बताए।

अर्का बस व्यवसायी सनतकुमार श्रेष्ठले पोखराबाट विभिन्न पर्यटकीय रुटमा गाडी चलाउँदै आएका थिए। सञ्जोग ट्राभल्सका ब्रान्डमा उनीसँग ३४ वटा ठूला आकार गाडी छन्। उनका गाडी पनि पोखरा, वीरगन्ज, चितवन, लुम्बिनी, काठमाडौंमा थन्किएका छन्। ‘बाटोबाटोमा गाडी ठडिएका छन्। गाडीका सामान चोरेर हैरान भयो,’ उनले भने, ‘महिनौंसम्म गाडी गुडाउन नपाउँदा नोक्सान भएको थियो। त्यसैमाथि थप घाटा हुनेगर टिभी, म्युजिक सिस्टम, ब्याट्री लगायत सामान चोरी भएका छन्।’  

सञ्जोगका सञ्चालक श्रेष्ठका गाडीका अहिलेसम्म चारवटा ब्याट्री, तीनवटा टिभी चोरी भइसकेका छन्। गाडीका सिसासमेत फुटाइएको उनले बताए। ‘एकै ठाउँमा गाडी अड्याउन सकेको भए सुरक्षित हुन्थे, ठाउँठाउँमा छन्। घामपानीमा सेकिएका छन्,’ उनले भने, ‘कहिले चलाउने भन्ने निश्चित छैन। दोहोरो घाटामा पर्ने अवस्था आएको छ। महिनांैसम्म चल्न नपाएका गाडीका सरसामान नै चोरी हुँदा थप नोक्सान भएको छ।’ जहाँतहाँ रोकिएका गाडी भएकाले पनि सामान चोर्न सहज भएको उनले बताए।  

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार खुलमखुला रूपमा सडक किनार र खुला चौरमा सवारी पार्किङ गर्दा अहिलेसम्म ५५ टिभी, तीन सय ब्याट्री र अझै बढी संख्यामा म्युजिक सिस्टम चोरी भइसकेका छन्। ‘एउटै टिभी र ब्याट्रीको २५ हजार रूपैयाँ हाराहारी पर्छ। त्यो नोक्सान व्यवसायीले नै खेप्ने हो,’ उनले भने, ‘यातायात व्यवसायीको बिल्लिबाठ हुने अवस्था आएको छ। गाडी चलाउने दिन एकादेशको कथाजस्तो भइसक्यो।’  

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, निजी उद्योग, कलकारखाना, सेयर बजार र अरू बजार खुलिसक्दा पनि यातायात व्यवसायीलाई मात्र प्रतिबन्ध लगाएर सरकारले असहजता निम्त्याएको उनले बताए। ‘सबैतिर बजार र कार्यालय खुलेका छन्। निजी सवारी पनि उस्तै चलेका छन्,’ उनले भने, ‘हामीले दुरी कायम गरेर सवारी चलाउँछौ भन्दा पनि सरकारले सुनेन। सरकारले नसुने र नदेखेपछि केही लागेन।’ सरकारले लामो दुरीको यातायात खुलाउँदा बढी आलोचना खेप्नुपर्ने र जनता सडकमा आउने भन्ने त्रासले यो सबै अवरोध गरेको उनले बताए। ‘सरकारले आलोचना खेप्नुपर्ने भएपछि जनतालाई घरभित्रै रोक्न खोजेको हो,’ केसीले भने।  

भदौ १ देखि लामो दुरीका सवारी चलाउन दिने भनेपछि व्यवसायीले लाखौं खर्च गरेर सवारी मर्मतसम्भार गरे पनि चल्न नदिएर भदौ १६ मा सारेकामा त्यो दिन पनि चलाउन नदिएर भदौ मसान्तसम्म धकेल्दा व्यवसायीलाई बिचल्ली बनाएको अध्यक्ष केसीले बताए। ‘अब भदौ मसान्तमा पनि चल्न दिएन भने हामीले त्यसपछि सडकमा सवारी निकाल्छौं र तेस्र्याउँछौं,’ उनले भने, ‘त्यसपछिको अवस्था सरकारले जिम्मा लिनुपर्नेछ। आन्दोलन बाहेक विकल्प भएन।’

प्रकाशित: २१ भाद्र २०७७ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App