अर्थ

बानेश्वर र कोटेश्वरको आकाशे पुल अलपत्र

ठेक्का सम्झौताअनुसार बानेश्वर र कोटेश्वर चोकको व्यस्त सडकमा २०७६ पुस मसान्तभित्रै आकाशे पुल बनिसक्नुपर्ने थियो । निर्धारित समयको आठ महिनाभन्दा धेरै गुज्रिसक्यो । तर अहिलेसम्म पनि दुवै चोकमा आकाशे पुल ठडिन सकेको छैन । गत फागुनसम्म बानेश्वर चोकमा आकाशे पुल निर्माण गर्न कुनै अवरोध थिएन । तर अहिले डिभिजन सडक कार्यालय काठमाडौंले कोरोना महामारीको कारणले निर्माण सम्पन्न गर्न नसकेको भन्न गतिलो बहाना पाएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले कोरोना महमारीको कारण निर्धारित समयभित्रै निर्माण सम्पन्न नभएको बताए । ‘कोरोनाको हटस्पट वीरगन्जबाट कामदार ल्याउनुपरेकाले पनि केही ढिलासुस्ती हुन गएको हो,’ उनले भने, ‘गत साउनमा लकडाउन खुकुलो भएसँगै कामदार साइटमा आए पनि पछिल्लो निषेधाज्ञाले पुल निर्माणको काम गर्न पाइरहेका छैनौं ।’ प्रमुख नेपालीले पुल निर्माण अघि बढाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागे पनि पाइनसकेको दाबी गरे ।

प्रमुख नेपालीले कोरोना महामारी कारण देखाए पनि सरकारले गत वैशाख १५ देखि कोरोना महामारीको बाबजुद पनि निर्माण क्षेत्र काम सुचारु गर्ने निर्णय गरेको थियो । प्रमुख नेपालीले बानेश्वर चोकको आकाशे पुलको निर्माण कोरोनाको कारणले ढिलासुस्ती भए पनि कोटेश्वर चोकको भने ठाउँको विवादले बन्न नसकेको बताए । ‘त्रिभुवन अन्तर्राष्टिय विमानस्थल र वडा कार्यालयको अवरोधले कोटेश्वर चोकको पुलको जग खन्नसमेत सकेका छैन,’ प्रमुख नेपालीले भने, ‘काम गर्न पाएको खण्डमा बानेश्वरको आकाशे पुल डेढ महिनाभित्रै निर्माण सम्पन्न गर्नेछौं ।’  

कम गर्न नसकेको कमजोरी ढाक्न सम्बद्ध अधिकारीहरूलाई कोरोना महामारी गतिलो बहाना बनेको छ ।  

कार्यालयका अनुसार बानेश्वर चोकको आकाशे पुलको जग तथा पिलर राख्ने काम सम्पन्न भइसकेको छ । अब पुलको माथिल्लो भागमा सुपर स्ट्रक्चर राख्न मात्रै बाँकी छ । २०७५ चैतमा बानेश्वर चोक र कोटेश्वर चोक दुवैमा पुल निर्माण गर्ने ठेक्का पवन–प्रकृति जेभीले पाएको थियो । बानेश्वर चोकको पुलको ठेक्का सम्झौता दुई करोड चार लाख रूपैयाँमा भएको थियो । उक्त पुलको लम्बाइ ३८ मिटर छ । संघीय सरकारले पैदल यात्रुको उच्च चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएपछि बानेश्वर र कोटेश्वर चोकमा आकाशे पुलको योजना अघि सारेको थियो । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार बानेश्वर चोकमा टेलिफोन र भूमिगत ट्रान्सफर्मर लाइनको अवरोध समयमा हटाउन र पुलको डिजाइन पुनः रिभ्यू गर्नु परेकाले तोकिएको समयमा निर्माण हुन नसकेको हो ।

कार्यालयका अनुसार हालसम्म बानेश्वर चोकको पुलको प्रगति ६० प्रतिशत छ । कोटेश्वर चोकमा अहिलेसम्म जगको कामसमेत सुरु भएको छैन । कोटेश्वर चोकमा निर्माण गर्न खोजिएको पुल भ्याटसहित दुई करोड ८९ लाख रूपैयाँ लागतको हो । प्रमुख नेपालीले कोटेश्वर चोकको पुलको ठेक्का रद्द गर्ने कि अर्काे ठाउँमा सार्ने भन्नेमा अध्ययन भइरहेको बताए । उनले स्थानीय र विमानस्थल कार्यालयको अवरोधसँगै काटेश्वर चोकमा पुल निर्माण कार्यले गति लिन नसकेको बताए । ‘जहाँ डिजाइन गरेका थियौं, त्यहाँ पुल निर्माण गर्न पाएनौं,’ उनले भने, ‘अब पुरानै डिजाइन अनुसारको पुल कहाँ निर्माण गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ । त्यसैले कोटेश्वरको निर्माणमा ढिलासुस्ती भएको हो ।’  

काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले गरेको सर्भेले कोटेश्वर चोकमा बिहान ९ देखि ११ बजेसम्मको पिक आवरमा १० हजार एक सय ७५ जना पैदल यात्रुले बाटो काट्ने गर्छन् । त्यस्तै, बेलुकाको ४ देखि ६ बजेसम्मको अवधिमा १० हजार ७० जनाले बाटो काट्ने गरेका छन् । भक्तपुरबाट सातदोबाटोतर्फ जाने सवारीको संख्या १० प्रतिशत मात्रै देखिएको छ । बानेश्वर चोकमा बिहानको पिक आवरमा पाँच हजार आठ सय ६२ पैदल यात्रुले बाटो वारपार गर्ने भेटिएको छ । बेलुकको पिक आवरमा ६ हजार चार सय ७४ जनाले बानेश्वरको चोकबाट बाटो वारपार गर्ने आयोगको अध्ययनले देखाएको छ । सर्भेले भक्तपुरबाट कोटेश्वरतर्फ बिहान र बेलुकाको पिक आवरमा १९ हजार तीन सय ३४ दुईपांग्रे सवारी साधन भित्रिने गर्छन् ।

सर्भे अनुसार भक्तपुरबाट कोटेश्वरतर्फ बिहान ६ हजार चार सय ६८ चारपांग्रे सवारी साधन भित्रिने गर्छन् । बेलुकीपख कोटेश्वरबाट भक्तपुरतर्फ आठ हजार एक सय ७० चारपांग्रे गाडी जाने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । 

प्रकाशित: १८ भाद्र २०७७ ०२:४९ बिहीबार

पुल अलपत्र