अर्थ

सुरुङ गेट दुर्घटना प्रकरण : दसैंमा पनि मेलम्ची नआउने निश्चित

गेट जडानमा भएको त्रुटी सच्याउँन तीन महिना लाग्ने

मुख्य संरचना सुरुङमार्गमा नयाँ डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्ची पानी नपाउने निश्चित भएको छ । योसँगै बहुप्रतिक्षित तथा बहुचर्चित मेलम्ची खानेपानी आयोजना अझै कम्तिमा तीन महिना पछाडि धकेलिने पक्कापक्की जस्तै छ ।  

डिजाइन र जडानमा नै त्रुटी भेटिएको हालको गेट झिकेर नयाँ स्वरुपमा राख्नु पर्ने भएकाले मेलम्ची पछाडि धकेलिन लागेको आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए । ‘नयाँ डिजाइन अनुसार गेट राख्न तीन महिना लाग्छ,’ उनले नागरिकसँग भने, ‘दसैंसम्म मेलम्ची पानी राजधानी ल्याउन अब सम्भव रहेन ।’ पटक–पटक भाखा सार्दै आएको सरकारले पछिल्लो पल्ट आउँदो दसैंसम्म उपत्यकावासीलाई मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।  

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएपछि गेटको डिजाइन र जडानमै त्रुटी भएको फेला परेको थियो । गेट खुल्दा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो । तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो । घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शव फेला पारे पनि एक कर्मचारी अझै बेपत्ता छन् ।

घटनापछि खानेपानी मन्त्रालयद्धारा सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा गठित बिज्ञ सम्मिलित छानविन प्राविधिक समितिले गेट डिजाइन र जडानमा त्रुटी औँल्याएको हो । १५ दिनभन्दा बढी गेटको अध्ययन गरेर ६ सदस्यीय समितिले साउन दोस्रो साता सुझावसहित छानविन प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । समितिको सुझावअनुसार नै गेटमा भएको त्रुटी सच्याउँने काम थालिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताए ।  

उनका अनुसार अहिले गेट निकाल्ने काम भइरहेको छ । साढे २६ किलोमिटर लामो सुरुङको अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल अडिटमा चार गेट छन् । सुझावअनुसार चारै गेट निकालेर नयाँ स्वरुपमा जडान गरिने श्रेष्ठले जानकारी दिए । खुलेको अम्बाथानस्थित १७ नम्बर गेट र ग्याल्थुम अडिटको गेट निकाली सकिएको छ । ‘गेट फुकाल्न विष्फोट नै गर्नुपर्ने हुन्छ । यसले गेट अडिने ढलान फ्रेम नै बिगार्छ,’ उनले भने ।

आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । ‘जसरी हामी बाहिरबाट भित्रतिर ढोका खोलेर घरमा पस्छौँ । अब राखिने गेटको नयाँ स्वरुप भनेको घरको ढोका जस्तै हो,’ उनले भने ।  

पूरानो गेट बाहिरबाटै बाहिरै खोलेर नटबोल्ट कसिने डिजाइन हो । परीक्षणको क्रममा पानी चापले नटबोल्ट स्लिप भएर खुस्किएपछि गेट सुरुङ बाहिर खुलेको थियो । बाहिरबाट भित्र खोल्ने गरी डिजाइन गरिएको भए दुर्घटना नहुने छानविन समितिको ठहर थियो । सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्सको पनि काम गरिरहेको छ । इप्टिसा नामक परामर्शदाता कम्पनीको निगरानी र सुपरीवेक्षणमा गेट डिजाइन, निर्माण, जडान गरिएको थियो । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको थियो ।

नयाँ डिजाइनमा फलामे गेट (ढोका) पुरानै प्रयोगमा ल्याउन मिल्ने भए पनि चौकोस भारतबाट मगाउनु पर्ने उपकार्यकारी निर्देशक श्रेष्ठले बताए । उनका अनुसार ढलान फ्रेम भएको चौकोसमा फलामे गेट झुण्डाइन्छ । पुरानो फ्रेम गेट निकाल्दा नष्ट हुने भएकाले नयाँ झिकाउनु परेको छ । ‘कोरोना र सीमा नाका बन्द भएको अवस्थामा भारतबाट फ्रेम झिकाउन त्यति सहज छैन,’ उनले भने । उनका अनुसार समयमै फे्रम झिकाउन सकेको खण्डमा तीन महिनामै गेट जडान सकिन्छ, अन्यथा यो समय अझै धेरै लाग्न सक्छ ।

गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो । परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो । सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो । सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो ।

आयोजनाका अनुसार सुरुङमा प्रतिसेकेण्ड ६ हजार लिटर पानी पठाउन सकिने भए पनि पाँच प्रतिशत मात्र छिराइएको थियो । तर सुरुङको गेटले त्यति पाँच प्रतिशत पानीको चाप पनि थेग्न सकेन । आयोजनाकै अनुमानमा गेट जडान तीन महिनामा सकिए पुनः सुरुदेखि नै सुरुङ परीक्षण गर्न थप दुई महिना समय लाग्छ । चाँडोमा अझै पाँच महिना मेलम्ची उपत्यका नपुग्ने आयोजनाका अधिकारीहरु नै स्वीकार्छन् ।

प्रकाशित: १४ भाद्र २०७७ १५:०० आइतबार

मेलम्ची खानेपानी आयोजना मेलम्ची खानेपानी सुरुङ