अर्थ

गत वर्ष २२ प्रतिशत बिजुली आयात

गत आर्थिक वर्ष नेपालको लोडसेडिङ हटाउन भारतीय बिजुलीले २२ प्रतिशत योगदान गरेको छ।  नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा कुल ७ अर्ब ७४ करोड युनिटमध्ये छिमेकी मुलुक भारतबाट एक अर्ब ७२ करोड युनिट आयात गरेर माग पूरा गरेको हो। भारतबाट आयात गरिएको बिजुलीको मूल्य १३ अर्ब ५८ करोडभन्दा बढी हुन्छ।  

गत आवमा खपत भएको ७७४१ गिगावाट आवर (सात अर्ब ७४ करोड युनिट)  बिजुलीमध्ये भारतबाट २२.३४ प्रतिशत आयात गरिएको थियो । गत आर्थिक वर्षमा प्राधिकरण मातहतका आयोजनाबाट तीन अर्ब २ करोड युनिट आपूर्ति भएको थियो भने निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट दुई अर्ब ९९ करोड युनिट बिजुली खरिद गरिएको थियो। प्राधिकरणले अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारतबाट आयात हुने बिजुलीको परिणाम स्वाट्टै घटेको जनाएको छ।  

आर्थिक वर्ष ०७१/७२ मा ५ अर्ब युनिट बिजुली खपत हुँदा भारतबाट एक अर्ब ३७ करोड युनिट आयात गरेको थियो। सोको लागि ९ अर्ब ६६ करोड रुपैयाँ बाहिरिएको थियो। त्यो बेला प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुन्थ्यो। निजी जलविद्युत् प्रवद्र्धक कम्पनीका आयोजनाबाट एक अर्ब २६ करोड युनिट बिजुली उत्पादन थियो। प्राधिकरणले आर्थिक वर्ष ०७२/७३ मा भारतबाट एक अर्ब ७७ करोड युनिट आयात गरेको अभिलेख छ। यसका लागि १३ अर्ब १२ करोड रुपैयाँ तिरिएको थियो। प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेको आर्थिक वर्ष ०७३/७४ मा भारतबाट दुई अर्ब १७ करोड युनिट बिजुली आयात गर्दा १६ अर्ब ५८ करोड रुपैयाँ बाहिरिएको थियो।  

त्यो बेला कुल वार्षिक बिजुली खपत ६ अर्ब २५ करोड युनिट थियो। यसमा प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ३० करोड युनिट, निजी क्षेत्रबाट एक अर्ब ७७ करोड युनिट आपूर्ति भएको थियो। त्यो बेला भारतबाट आयातित बिजुलीको हिस्सा ३५ प्रतिशत थियो।  

आर्थिक वर्ष ०७४/७५ मा कुल विद्युत् खपत  सात अर्ब पाँच करोड युनिट रहेकोमा भारतबाट दुई अर्ब ५८ करोड युनिट आयात गरिएको थियो। यसका लागि प्राधिकरणले १९ करोड ८६ करोड रुपैयाँ खर्च गरेको थियो। प्राधिकरणले आव ०७५/७६ मा खपत भएको सात अर्ब ५५ करोड युनिटमध्ये भारतबाट २ अर्ब ८१ करोड युनिट आयात गरेको थियो। यसको लागि २२ अर्ब ९५ करोड रुपैयाँ खर्च भएको थियो।

आव ०७६/७७ मा खपत भएको ७ अर्ब ७४ करोड युनिटमध्ये छिमेकी भारतबाट एक अर्ब ७२ करोड युनिट आयात भएको छ। यसको लागि प्राधिकरणले १३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ। ‘देश जतिबेला १४ घन्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कुल विद्युत् खपतको करिब ३५ प्रतिशत भारतबाट आयात गर्नुपर्ने अवस्था थियो,’ प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘अहिले  विद्युत् खपत करिब ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत ३५ देखि ३७ को हाराहारीमा छ। तर गत आवसम्म आइपुग्दा कुल उपलब्ध विद्युत्कोे २२ प्रतिशत मात्रै आयात भएको छ।’

प्राधिकरणले चालु आवमा यो घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहने बताएको छ। प्राधिकरणले आव ०७८÷७९ बाट नेपाल बिजुलीमा पूर्णतः आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने प्रक्षेपण गरेको छ।  

निर्यात बढ्यो

प्राधिकरणले आव ०७२/७३ मा ३१ लाख ५० हजार युनिट बिजुली निर्यात गरेको थियो । आव ०७३/७४ मा २६ लाख ९० हजार युनिटमा झ¥यो। त्यसपछिको आव ०७४/७५ मा २९ लाख ४० हजार युनिट निर्यात गरेको अभिलेख छ । स्वदेशमा विद्युत् उत्पादन हुने क्रम बढेसँगै प्राधिकरणले क्रमशः निर्यात बढाउँदै लगेको छ । आव ०७५/७६ मा तीन करोड ४७ लाख युनिट र आव ०७६/७७ मा १० करोड ७० लाख युनिट बिजुली छिमेकी भारतमा निर्यात गरेको छ।

प्रकाशित: १४ भाद्र २०७७ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App