अर्थ

जीवन बिमाबापतको रकम भुक्तानी

लघुवित्त वित्तीय संस्थाद्वारा मृत्यु दाबी भुक्तानी गरिँदै । तस्बिर: खगेन्द्र/नागरिक

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कर्जा लिएका व्यक्तिको मृत्युपछि उनका आफन्तलाई बिमाबापतको मृत्यु दाबी भुक्तानी गर्न थालेको छ ।  

कर्जा लिएकी एक सदस्यको मृत्युपछि स्वावलम्बनले बिहीबार उनका आफन्तलाई कर्जा लिएको रकममा ४० प्रतिशत थप गरेर जीवन बिमाबापतको रकम भुक्तानी गरेको हो ।  

संस्थाले आफ्ना सदस्यको कालगतिले मृत्यु भएको भए कर्जा रकममा ४० प्रतिशत र दुर्घटनामा परी मृत्यु भएको भए कर्जा रकममा १४० प्रतिशत थप  

गरेर बिमाबापत मृत्यु दाबी भुक्तानी गर्दै आएको छ ।  

संस्थाका ताप्लेजुङ प्रबन्धक मणिराज चेम्जोङका अनुसार केन्द्र सदस्य फुङ्लिङ नगरपालिका वडा नं ८ निवासी दीपा तामाङको मृत्युपछि उनका श्रीमान् दीपकलाई चार लाख ६३ हजार दुई सय पाँच रूपैयाँ हस्तान्तरण गरिएको छ ।

फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले दीपकलाई सो बराबरको चेक रकम हस्तान्तरण गरेका हुन् । चेम्जोङका अनुसार २०७१ माघ १५ गते स्वावलम्बनमा आवद्ध दीपाले सोही वर्षको फागुन १७ गते पहिलोपटक कर्जा लिएकी थिइन् । विभिन्न थरीका गरी उनको कर्जा तीन लाख ३० हजार रूपैयाँको थियो । दुईवर्षे हदम्याद अवधिको कर्जा लिएकी उनबाट तेस्रो पक्ष बिमा गराउन वित्तीय संस्थाले एक हजार दुई सय १५ रूपैयाँ अतिरिक्त रकम लिएको थियो ।  

कर्जा हद म्यादअघि नै गत असार ३ गते मृत्यु भएकाले स्वावलम्बनले दीपाबाट लिएको बिमाको प्रिमियमबापतको एक हजार दुई सय १५ रूपैयाँसमेत फिर्ता गरेको छ भने कुल कर्जा रकममा ४० प्रतिशत थप गरेर जीवन बिमा रकम भुक्तानी गरेको छ । उनका श्रीमान्ले भने दीपाले लिएको कुल कर्जामध्ये दुई लाख ८६ हजार चार सय ५८ रूपैयाँ कर्जा लिएको वित्तीय संस्थालाई तिर्नुपर्ने हुन्छ ।

प्रकाशित: १२ भाद्र २०७७ ०२:५८ शुक्रबार

जीवन बिमा रकम भुक्तानी