अर्थ

युरिया मल एक साताभित्र किसानले सजिलै पाउने

धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन सुरु भएको छ । साल्ट ट्रेडिङ लिमिटेडले युनाइटेड अरब इमिरेट्स (युएई)बाट आयात गरेको ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कोलकाता हुँदै नेपाल ल्याउन थालिएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

अहिले मल युएईबाट भारतको कोलकातास्थित बन्दरगाहमा आइपुगेको छ । सो मललाई कोलकाताबाट वीरगन्ज र विराटनगर हुँदै नेपाल ल्याउन थालिएको हो । उनका अनुसार मंगलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ । बुधबार मात्र तीन हजार मेट्रिक टन मल नेपाल भित्रिएको छ । वीरगन्जबाट दुई हजार ५०० टन र विराटनगरबाट ५०० टन नेपाल आएको उनले बताए । उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उनले जानकारी दिए ।

वीरगन्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिक टन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिक टन मल कोलकाताबाट आउँदैछ । ‘एक दिन बिराएर अब भोलिदेखि एकपटकमा दुई हजार ५०० मेट्रिक टन मल नियमति वीरगन्ज आउनेछ,’ उनले भने, ‘विराटनगरबाट भने कोलकाताबाट ट्रकमा मल आउनेछ ।’ करिब १५ दिनमा नेपालमा ल्याउन थालेको मल सबै आइपुग्छ । उनले मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने बताए । यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ ।  

धान रोपाइँ गरेपछि दुईपटक युरिया मल हाल्ने गरिन्छ । एकपटक धान रोपेको एक महिनापछि र अर्कोपटक बाला निस्कने बेलामा मल हाल्ने गरिन्छ । धान रोप्ने बेला भने पोटास र डिएपी मल हालिन्छ । नेपालमा मल आएसँगै करिब १० लाख कृषकले धानमा मल प्रयोग गर्न पाउनेछन् । मल कोलकाताबाट वीरगन्जसम्म रेलमा आउनेछ र त्यहाँबाट नेपालका विभिन्न साल्ट ट्रेडिङका  डिपोमा पुर्याइनेछ ।  

अहिले ल्याउन थालिएको मलले यो वर्ष रोपिएका सबै धानलाई पुग्ने मन्त्रालयका प्रवक्ता डा केसीले बताए । ‘केही किसानले जेठ महिनामा वितरण गरिएको मल मौज्दात राखेका छन् ।
रासस

प्रकाशित: ११ भाद्र २०७७ ०४:४६ बिहीबार

युरिया मल