अर्थ

भन्सारले जाँचपास गरेको सामान प्रहरीले रोकेको गुनासो

निषेधाज्ञाका बेला सरकारी निकायबीच समन्वय नहुँदा आयातित सामान अलपत्र परेको आयातकर्ता व्यवसायीले गुनासो गरेका छन् ।  

भन्सारले जाँचपास गरेर छाडेको सामान बोकेर गन्तव्यमा हिँडेका मालबाहक ट्रकहरूलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोकिदिँदा ठूलो हैरानी खेप्नुपरेको उनीहरूले बताएका छन् । यसो गर्दा ती गाडीका कर्मचारीले दुःख पाएको र सामान बिग्रने जोखिम बढेको व्यवसायीको भनाइ छ ।  

नेपाल समुद्रपार निकासी पैठारी संघका अनुसार देशको प्रमुख व्यापारिक नाका वीरगन्ज लगायत अन्यत्रका भन्सार कार्यालयहरूले विदेशबाट आयातित सामानको जाँचपास नियमित रूपमा गरिरहेका छन् । तर भन्सारबाट प्रक्रिया पूरा गरी जाँचपास गरिएका सामान बोकेका ट्रकहरूलाई विभिन्न ठाउँमा निषेधाज्ञा कार्यान्वयन गर्न खटिएका सुरक्षाकर्मीले रोकेर राखिदिने गरेको संघले जनाएको छ ।  

संघका महासचिव मदन मित्तल भन्छन्, ‘हाम्रा सदस्यका आयातित मालसामान बोकेका दर्जनौं ट्रकहरू बीच बाटोमै रोकिएका छन् ।’

महासचिव मित्तलको भनाइमा भन्सारबाट जाँचपास भएका सामान बोकेका ट्रकहरू सिधै व्यवसायीका गोदाम पुगेर सामान अनलोड गरी पुनः आफ्नो गन्तव्यमा फर्किने गर्दछन् । यस हिसाबले मालबाहक गाडीका कारण कोभिड १९ संक्रमणका हिसाबले जोखिमपूर्ण मानिने भीडभाड हुने सम्भावना रहँदैन । तैपनि त्यस्ता गाडी रोकिँदा व्यवसायीको लगानी जोखिममा परेको उनले बताए । ‘सरकारकै एउटा निकायले जाँचपास गर्ने र अर्को निकायले बीच बाटोमै रोकेर राखिदिने गर्दा त्यस्ता सवारी साधनका कर्मचारी अलपत्र पर्ने, उचित खाना र आरामको अवसरबाट वञ्चित हुने र कोभिड १९ संक्रमणको जोखिममा पर्ने तथा बर्खाको समयमा सामान समेत बिग्रने जोखिम बढेको छ,’ मित्तलले भने । संघले भन्सारले जाँचपास गरेको सामान बोकेर हिँडेका मालबाहक गाडीलाई सहज रूपमा गन्तव्यमा पुग्ने वातावरण बनाइदिन गृह मन्त्रालय, वाणिज्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत लेखेको मित्तलले जानकारी दिए । 

प्रकाशित: ११ भाद्र २०७७ ०४:३७ बिहीबार

आयातकर्ता भन्सार जाँचपास