अर्थ

थन्किएका सवारी मर्मतमा लाखौं खर्च

पोखरामा खुला आकासमुनि पार्किङ गरिएका लामो दुरीमा चल्ने बस । फाइल तस्बिर: उमेश पुन/नागरिक

सरकारले भदौ १ गतेदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने भनेपछि यातायात व्यवसायी सनतकुमार श्रेष्ठले १० वटा ठूला बस मर्मतसम्भार गरी तयारी अवस्थामा राखे । कोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण चैत ११ देखि रोकिएका गाडी भदौ १ गतेका लागि तयार पार्दा उनले करिब ३५ लाख रूपैयाँ खर्च गरे ।

श्रेष्ठले पोखराबाट देशका विभिन्न सहरमा ३४ वटा सुविधासम्पन्न बस चलाउँदै आए भदौ १ का लागि १० वटा मात्र मर्मत गरेका थिए । तर त्यो मितिमा गाडी सडकमा ल्याउन पाएनन्, बरु ग्यारेजमै फर्किए । अब ती गाडी कहिले गुड्छन् भनेर अनुमान समेत लगाउन सक्दैनन् ।  

सरकारले भदौ १६ पछि लामो दूरीको सवारीलाई अनुमति दिने सम्भावना रहे पनि विभिन्न जिल्लामा निषेधाज्ञा रहेकाले अझै कम्तीमा एक महिना गाडी चल्ने सम्भावना व्यवसायीले देखेका छैनन् । ‘म त अनुमानसमेत लगाउन सक्दिन । सरकारले अनुमति दिए पनि गाडी निकाल्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘राजमार्गका ठाउँठाउँमा निषेधाज्ञा छ । त्यसबाहेक संक्रमणको गति पनि अझै तीव्र छ ।’ सरकारले पहिले भने झैं भदौ १६ गतेपछि पनि लामा दुरीको यातायात खुल्ने सम्भावना नदेखेको उनले बताए ।

गाडी सडकमा फर्किने निश्चित नहुँदा पछि गरिएको लगानी खेर जाने सम्भावना रहेको उनले बताए । ‘३५ लाख खर्च गरेर ती गाडी तयार पारियो । चार महिनाभन्दा बढी थन्किएका गाडी मर्मत गर्दा ऋण थपियो । तर एक दिन पनि गुडाउन पाइएन,’ उनले भने, ‘अझै एक महिना गाडी चल्ने अवस्था नहुँदा फेरि पहिले झैं लाखौं खर्चेर मर्मत गर्नुपर्ने अवस्था आउनेछ ।’  

यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकीको इन्धनलगायत नोक्सान हुन्छ ।

यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकीको इन्धनलगायत नोक्सान हुन्ग्छ । गुडाउँदाको अवस्थामा ६ महिना चल्ने सवारी रोकिरहँदा दुई महिनामा नोक्सान हुने उनीहरूको भनाइ छ । गाडीका पार्टपुर्जामा खिया लाग्दा भनै समस्या हुने व्यवसायी बताउँछन् । ‘कम्तीमा एक महिना गाडी चल्ने अवस्था रहन्न । त्यसैले फेरि केही रकम यिनै गाडीका लागि खर्चनुपर्छ,’ उनले भने, ‘पहिले जति खर्च नभए पनि कम्तीमा ५० प्रतिशत लगानी फेरि हुन्छ ।’  

पोखराबाट विभिन्न क्षेत्रमा सिधा बस सेवा दिइरहेको जगदम्बा यातायातसँग ६५ गाडी छन् । सञ्चालक केशव अधिकारीले पोखरा–काठमाडौं–पोखरा र पूर्वका गन्तव्यमा चलाउने भनेर भदौ १ गतेका लागि १२ गाडी तयार पारेका थिए । ती गाडी चलाउन बिदामा रहेका कर्मचारीलाई बोलाएर प्रशिक्षण दिनुका साथै सवारी मर्मत गरेर चिटिक्क पारेका थिए । अधिकारीले पनि गाडी गुडाउन पाएनन । मर्मतका लागि ग्यारेज लगिएका गाडी मर्मतपछि बाहिरै निकाल्नु नपरेको उनले बताए । ती गाडी मर्मतमा अधिकारीले २५ लाख रूपैयाँ खर्च गरेको बताए ।

‘सरकारले भदौ १ गतेदेखि लामो दूरीको सवारी चल्ने भनेपछि बिदाका कर्मचारी बोलाएर भौतिक दुरी कायम गर्ने र स्वास्थ्य मापदण्ड पालनाको तरिका सिकाइयो,’ अधिकारीले भने, ‘तर एक दिन पनि गाडी गुडाउन पाइएन ।’ बसका सबै यात्रुलाई मास्क, पञ्जा दिने, हरेक पटकको दुरी पूरा गरेपछि सवारी निःसंक्रमणबारे प्रशिक्षण दिएको उनले सुनाए ।  

उनका अनुसार लकडाउनले झन्डै पाँच महिना थन्किएका गाडीमा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयलमा नोक्सान पुगेको थियो । हरेक गाडीका अघिल्ला दुईवटा टायर फेरेको उनले बताए । एउटा टायरको करिब ३० हजार रूपैयाँ पर्छ । गाडीका अघिल्ला टायर बढी संवेदनशील हुने भएकोले रिस्क हुने ठानेर १२ वटै गाडीको अघिल्ला दुवै टायर फेरेको उनले बताए । ‘झन्डै २५ लाख रूपैयाँ त्यो बेला खर्च भयो,’ उनले भने, ‘अघिल्लो पटकको मर्मतपछि ती गाडी चल्न पाएनन् । अब पनि एक–दुई महिना चल्ने अवस्था छैन । लामो समय रोकिँदा गाडी पुनः मर्मत गर्नुपर्ने हुन्छ ।’  

प्रतिबन्ध लम्बिए ती गाडीमा फेरि त्यति नै लगानी गरेर मर्मत गर्नुपर्छ । ‘बरु पहिल्यै तयार नगरेको भए अहिलेको खर्च जोगिन्थ्यो,’ अधिकारीले भने ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार कम्पनीमा सबै गरी १३९७ गाडी छन् । ६३ जिल्लामा पृथ्वीका यी गाडी गुड्छन् । हरेक दिन पृथ्वीका पाँच सय गाडी कुनै न कुनै रुटमा गुडिरहेका हुन्छन् । भदौ १ देखि लामो दुरीमा सवारी चलाउने भनेर सरकारले तयारी गर्न लगाएपछि पृथ्वीका करिब एक हजार गाडी मर्मतसम्भार गरेर तयार पारिए पनि ती गुड्न नपाउँदा व्यवसायीलाई ऋणको भार बढेको केसीले बताए ।  

‘भदौ १ बाट गाडी चलाउने भनेर तयारी ग¥यौं । तर फेरि भदौ १६ गतेसम्म सरकारले रोक्यो । भदौ १६ पछि पनि लामो दुरीको सवारी चल्ने सम्भावना न्यून छ,’ केसीले भने ।  

‘व्यवसायीले ऋण खोजेर भए पनि गाडी मर्मतसम्भार गरे । घरमा पुगेका कर्मचारीलाई पास बनाएर पोखरा बोलाए,’ उनले भने, ‘तर ती कर्मचारीले एक दिन पनि काम पाएनन् । जसोतसो पोखरा आएका कर्मचारी घर फर्किन सकेनन् ।’  

यसअघि सरकारले अन्तरजिल्ला सवारी चलाउन अनुमति दिँदा करिब पाँच सय सवारी छोटो रुटमा केही दिन चले पनि त्यसपछि थन्किएको उनले बताए । ‘अन्तरजिल्लाका रुटमा केही दिन गाडी गुडे । तर ती गाडी अहिले पुनः थन्किए । लामो दूरीको गाडीको त अहिले कल्पना नै नगरौं,’ उनले भने ।  

उनका अनुसार क्यु अनुसार सबै रुटका बस चलाउन व्यवसायीले एउटा गाडीका लागि कम्तीमा एक लाख खर्च गरेका छन् । ‘गाडी गुडाउँदा ६ महिना चल्ने सवारी रोकिरहँदा दुई महिनामा नोक्सान हुने रहेछन्,’ उनले भने, ‘अझै डेढ–दुई महिना गाडी चल्ने अवस्था नआउँदा अहिले लगानी गरेका व्यवसायीले कम्तीमा ५० प्रतिशत लागत पुनः तिनै गाडीमा थप्नुपर्छ । समय लम्बियो भने त्यो लागत झनै थपिँदै जानेछ ।’  

यातायात क्षेत्र अनिश्चित बन्दा व्यवसायी पलायनको बाटोमा लागेको उनले बताए । ‘सरकारले यातायातलाई अझै पनि आंशिक प्रभावितमा राखेर लाचारिपन देखाएको हो । अति प्रभावित क्षेत्रमा नपरेकाले बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा कोषको ऋण नपाउने अवस्था छ,’ उनले भने, ‘यसले व्यवसायीको ठूलो लगानी जोखिममा पर्ने पक्का छ ।’

प्रकाशित: १० भाद्र २०७७ ०३:३२ बुधबार

लकडाउन थन्किएका सवारी मर्मत खर्च