समयमा मल पाउन नसकेका किसान तरकारीको ब्याड राख्ने समयमा बीउ नपाउँदा समस्यामा परेका छन् । एग्रोभेटहरूमा बीउ नपाएपछि समय भइसक्दा पनि हिउँदे तरकारीको लागि ब्याड राख्न पाएका छैनन् ।
यो समयमा बेर्ना उमारी सक्नुपर्ने भए पनि बजारमा बीउ नपाउँदा ब्याड राख्न समेत नपाएको चितवन खैरहनीका किसान पुरन महतोले बताए । ‘असोजको पहिलो हप्तासम्ममा त बेर्ना सारी सक्नुपर्छ तर अहिले कुनै पनि एग्रोभेटमा बीउ पाइएको छैन,’ महतो भन्छन्, ‘अहिलेसम्म बीउकै टुंगो छैन । यो वर्ष समयमा बेर्ना सार्न सक्ने सम्भावना छैन ।’
उनले एग्रोभेटमा सम्पर्क गर्दा बीउ जापान लगायत मुलुकबाट आउनुपर्ने तर हवाई सेवा सञ्चालन नहुँदा आउन नसकेको जवाफ पाएको बताए । उनले अहिले बजारमा भारतबाट आउने केराउ समेत नपाइएको बताए । उनले भने, ‘अहिले बीउ पाइन्न, तरकारी तयार भएपछि बजार पाइन्न । समयमा उत्पादन गर्न नसक्दा किसान जहिल्यै मारमा पर्छन् ।’ सिरहा गोलबजारका किसान मुक्तिनारायण यादव केही किसानले मात्र स्थानीय बीउ छर्ने बताउँछन् । वर्णशंकर प्रयोग गर्दै आएका अधिकांश किसान बीउ नपाएर समस्यामा परेको उनले बताए । एग्रोभेटमा बीउ नै छैन, बीउ भएका एग्रोभेटले पनि बाहिरबाट आउने सम्भावना नदेखेपछि चर्को मूल्यमा बिक्री गरिरहेका छन् । उनी भन्छन्, ‘वर्णशंकर बीउ पाउन सक्ने अवस्था छैन । लोकल लगाउँदा उत्पादन घट्ने र उत्पादन समयमा नहुने डर हुन्छ ।’
नेपालमा अधिकांश व्यावसायिक तरकारी खेती गर्ने किसानले वर्णशंकर बीउको प्रयोग गर्दै आएका छन् । कोभिड १९ का कारण बीउ आयात सहज हुन नसक्दा बजारमा अभाव देखिएको हो । केन्द्रीय बीउबिजन परीक्षण प्रयोगशालाका प्रमुख मदन थापा गोलभेंडाको एक जातबाहेक कुनै पनि तरकारीको बीउ नेपालमा उत्पादन नहुने हुँदा आयातमा भर पर्नुपर्ने बताउँछन् ।
‘किसानले छिटो र बढी उत्पादन हुने खालका तरकारी खोज्छन्, वर्णशंकरमा उत्पादन बढ्नेदेखि समयमा उत्पादन हुने विशिष्ट गुण हुन्छ । हाम्रो स्थानीय र उन्नत जातले प्रतिस्पर्धा गर्न सक्दैन,’ थापा भन्छन्, ‘खाद्यान्न बालीमा उन्नत र वर्णशंकर बीउ उत्पादन र अनुसन्धानमा खासै प्रयास भएको छैन, यसले हाम्रो प्राविधिक कमजोरी देखाउँछ ।’
थापामा अनुसार अहिले जापान, कोरिया, थाइल्यान्ड, इटली, भारत लगायत सात मुलुकबाट वर्णशंकर बीउको आयात हुँदै आएको छ । प्रयोगशालाले सात सय ५० भन्दा बढी बीउ सिफारिस गरेको छ ।
प्रयोगशालाकै स्वीकृतिका आधारमा आयातकर्ताले बीउ आयात गर्छन् । ‘खुला सिमाना छ । आफ्नै तरिकाले पनि बीउ आउँछ । त्यसमा हाम्रो नियन्त्रण रहन्न । गएको वर्ष हाम्रो स्वीकृतिमा सय मेट्रिक टन बीउ आयात भएको थियो,’ उनी भन्छन्, ‘अहिले पनि बीउको अभाव नहोस् भनेर राजस्व पछि जम्मा गर्ने गरी अनलाइनबाटै स्वीकृति दिँदै आएका छौं । आयात गर्ने कुरा आयातकर्तामा भर पर्ने कुरा हो ।’
उनले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ वटा तरकारीका ११ हजार ६ सय ५० किलो बीउ आयात गर्ने स्वीकृति लिएको बताए । थापाले भने, ‘यो ८७ करोड ७३ लाख बराबरको बीउ हो, यस वर्षको अन्तिमसम्ममा १३० मेट्रिक टन तरकारीको बीउ आयात हुने अनुमान गर्न सकिन्छ ।’
बीउ उद्यमी मित्रराज दवाडी अहिले बजारमा वर्णशंकर बीउको अभाव देखिए पनि स्थानीय बीउले बजार नपाएको गुनासो गर्छन् । ‘मैले लामो समयदेखि स्थानीय बीउको वकालत गर्दै आएको छु । किसान वर्णशंकर बीउ नपाए खेती नै नगरी बस्लान्, स्थानीय बीउ लगाउँदैनन्,’ दवाडी भन्छन्, ‘बाहिरबाट आउने बीउ कार्गो गर्न नसक्दा उतै रोकिएको छ, खुला सीमा भएको भारतबाट सहजै आउँथ्यो । त्यो पनि कोभिडको कारण आउन सकेको छैन ।’
दवाडी सरकारले नेपाली बीउको स्तर बढाउन पहल नगरेको गुनासो गर्छन् । उनी भन्छन्, ‘नार्क लगायत निकायले कृषि अनुसन्धानमा ठूलो रकम खर्चंदै आएका छन् । वैज्ञानिकको पनि कमी छैन । तर तरकारीको जातीय विकासमा कसैले चासो देखाएको देखिन्न ।’
उनले ५० को दशकमा नेपालकै स्थानीय मुलाको बीउ बंगलादेश, भारत लगयात मुलुकमा निकासी हुने गरेकामा अहिले सरकारी बेवास्तामा कारण गुणस्तरमा कमी आउँदा माग नभएको बताए । ‘अहिले हामीसँग भएको बीउमा थप अनुसन्धान गर्न सकिन्थ्यो, बाहिरबाट ल्याएर क्रसिङ गर्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘सरकार मनपरी आयातमा मूकदर्शक बनेको छ । किसानले यति दिनमा तरकारी तयार गर्ने भनेर हिसाब गरेर खेती गर्दै आएका छन् ।’
प्रकाशित: ८ भाद्र २०७७ ०४:०६ सोमबार