माटोमा क्षारीयपन भएकाले गर्दा सुनसरीका विभिन्न स्थानको धानबालीमा ‘खैरा रोग’ लागेको छ । जिल्लाको केही स्थानको माटोमा क्षारीयपन भएसँगै धानमा पनि ‘खैरा रोग’ लागेको हो । क्षारीयपन भएको माटोमा जिंक तत्वको कमीले गर्दा पातमा अण्डाकारको थोप्ला–थोप्ला बढ्दै गएपछि पहेलो हुने गर्छ ।
जिल्लाको ठूला–ठूला नदीको छेउछाउमा पानीको सतह माथि भएको स्थानको माटोमा क्षारीयपन भएकाले गर्दा तिनै स्थानको धानमा ‘खैरा रोग’ लागेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उरावले बताए । सप्तकोसीसँगै मोरङ–सुनसरीको सीमावर्ती भएर बग्ने बुढीखोला, सुनसरी खोला, सेरा खोलालगायत ठूला नदीका छेउछाउको माटोमा क्षारीयपन रहेको पाइएको छ ।
कोशीमा २०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर डुबाएको अहिलेको कोशी गाउँपालिका क्षेत्रको हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही क्षेत्रको माटोमा पनि क्षारीयपन बढी नै रहेको पाइएको छ । २०६५ मा सप्तकोसीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकामा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो ।
जिल्ला ज्ञान केन्द्रका प्रमुख उरावका अनुसार ‘खैरा रोग’को निराकरणका लागि किसानले धान लगाउदा जोत्ने बेलामा जिङ्क सल्फेड हाल्नुपर्ने थियो । तर, अब भने स्प्रेको रूपमा जिंकलाई पानीमा घोलेर लगाउन सुल्झाए । पानी कम पर्ने, रासायनिक मल मिलाएर नहाल्दा र माटोलाई चाहिने खाद्य तत्व पोटासको ब्यालेन्स नमिल्दा माटोमा क्षारीयपन हुने गर्छ ।
जिल्लामा विगतका वर्षको तुलनामा केही हदसम्म माटोमा सुधार हुने क्रम चाँहि छ । तर, पूर्ण रूपमा सुधार गर्न किसानले निकै नै मिहिनेत गर्नुपर्ने जानकारी दिइयो । अनुकूल माटो हुँदा स्वाभाविक रूपमा उत्पादन बढ्छ । माटोलाई स्वस्थ्य राख्न सक्दा उत्पादनको रेसियो बढ्छ ।
जिल्लाका विभिन्न स्थानमा रञ्जित र बिबिइ एघारमा पनि गुभो सुक्ने खालको रोग देखा पर्न थालेको छ । गुभो सुक्ने रोगको निराकरणका लागि किसानले बेलैमा औषधि प्रयोग गर्न पनि कार्यालय प्रमुख उरावु सुल्झाए । अन्नबाली उत्पादनको उर्वर भूमि मानिएको सुनसरीमा ५५ हजार हेक्टरमा धान खेती लगाउने गरिएको छ ।
प्रकाशित: ८ भाद्र २०७७ ०३:०८ सोमबार