अर्थ

१६ वर्षमा ६५ प्रतिशत प्रगति, सकिन अझै पाँच वर्ष लाग्ने

सिक्टा सिँचाइ आयोजना

फाइल तस्बिर।

सरकारले ०६१/६२ सालमा बाँके जिल्लाको पश्चिमतर्फ ३३ हजार सात सय ६६ र राप्तीपूर्व बायाँतर्फ नौ हजार गरी जम्मा ४२ हजार सात सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु-याउने लक्ष्यसहित सिक्टा सिँचाइ आयोजना निर्माण थाल्यो । सरकारले यो आयोजना सुरु गर्दा १० वर्षभित्र (०७१/७२) मा सम्पन्न हुने लक्ष्य थियो । तर आयोजना सुरु भएको १६ वर्ष बित्दा पनि आयोजनाको सम्पूर्ण संरचना निर्माण सम्पन्न हुन सकेको छैन ।  

सरकारले तोकिएको समयभित्रै आयोजना सम्पन्न हुन सकेपछि दोस्रोपटक आव ०७६÷७७ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर थप गरेको भाकामा पनि आयोजना सम्पन्न गर्न असफल भएको छ । तोकिएको समयभित्रै आयोजना सम्पन्न नहुँदा आयोजनाको लागत झण्डै दोब्बर पुगिसकेको छ । सुरु लागत अनुमान १२ अर्ब ८० करोड रहेको यो आयोजनाको संशोधित लागत अनुमान २५ अर्ब दुई करोड पुगेको छ ।  

तर आयोजना कहिले सम्पन्न हुने अहिलेसम्म कुनै निश्चित छैन । यो आयोजना विवादैविवादको भुमरीमा निर्माण भइरहेको छ । मूल्यवृद्धिको कारणले आयोजनाको लागत अझै बढ्ने सम्भावना कायमै छ ।

गत आवको अन्त्यसम्म यो आयोजनाको समष्टिगत प्रगति ६५ प्रतिशत मात्रैै भएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताए । ‘गत आवसम्म आयोजना निर्माणमा १६ अर्ब ९७ करोड रूपैयाँ खर्च भइसकेको छ । तर अझै ३५ प्रतिशत निर्माण कार्य अधुरै छ,’ उनले भने, ‘सरकारले आगामी पाँच वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।’  

आयोजनाको बाँध (हेडवक्र्स) र गेट निर्माण कार्य, पश्चिमी मूलनहर (४५ किलोमिटर) निर्माण कार्य र सिधनिया शाखाको निर्माण कार्य सम्पन्न गरेर गत वैशाखदेखि सिँचाइ सुरु गरेको आयोजनाले जनायो । आयोजनाका अनुसार गत आर्थिक वर्षदेखि १६ हजार हेक्टर क्षेत्रमा सिँचाई सुरु भएको छ । आयोजना निर्देशक लोकबहादुर थापाले सिँचाइका आयोजना एकदमै प्राविधिक खालको हुने भएकोले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न समस्या भएको बताए । ‘सिँचाइका आयोजना कुनै सामान खरिद गरेजस्तो हुँदैन,’ उनले भने, ‘सिँचाइका आयोजना निर्माण प्रक्रिया एकदमै जटिल प्रकृतिको हुन्छ । अर्काेतर्फ बजेटको अभावकै कारणले पनि समयमै निर्माण सम्पन्न हुन नसकेको हो ।’

आयोजनाका अनुसार अझै शाखा नहर ४० किलोमिटर र प्रशाखा नहर एक सय किलोमिटर निर्माण गर्नै बाँकी छ । आयोजनाका अनुसार शाखा नहर निर्माणको लागि ३.५ हेक्टर जग्गाको मुआब्जा वितरणको अधिकांश कार्य सम्पन्न भएको छ । समीक्षा अवधिमा भोइड फिलिङ र लाइनिङ रिपेयर कार्य भएको, नहर निर्माण, नहर लाइनिङ, कुलो निर्माण, मुआब्जा वितरण तथा लगत कट्टी जस्ता काम सम्पन्न भएको छ ।

लकडाउनले गत आवमा ७० प्रतिशत काम
गत आवमा ०७६/७७ मा उक्त आयोजनाको लागि एक अर्ब ५२ करोड तीन लाख विनियोजन भएकोमा एक खर्ब पाँच करोड अर्थात (७० प्रतिशत) मात्रै बजेट खर्च भएको आयोजनाले जनायो । निर्देशक थापाले लकडाउनको कारणले शतप्रतिशत बजेट खर्च गर्न नपाएको बताए । लकडाउन हुँदैनथ्यो भने शतप्रतिशत नै बजेट खर्च हुन्थ्यो,’ उनले भने, ‘मुख्य सिजनको चार महिना अवरुद्ध हुँदा लक्ष्य अनुसारको भौतिक प्रगति हात पार्न सकेनौं ।’  

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूलनहरको समस्याग्रस्त ६ किलोमिटर खण्डको विभिन्न स्थानमा भोइल्ड एन्ड लाइनिङ मर्मतसम्भार कार्य सम्पन्न भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । पूर्वी मूलनहरको १६ किलोमिटर नहर निर्माण र १.८ किलोमिटर नहरको लाइनिङ लगायत १७ वटा संरचना निर्माण सम्पन्न भएका छन् ।

प्रकाशित: ४ भाद्र २०७७ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App