अर्थ

लक्ष्यको तीन सय प्रतिशत राजस्व संकलन

सुठौली भन्सार

कोरोना भाइरसका कारण जारी लकडाउना बिच कपिलवसतुको दोस्रो ठूलो नाका सुठौली भन्सारले चालु आर्थिक वर्ष ०७७/७८ को साउन महिनामा लक्ष्यको करिब तीन प्रतिशत राजस्व संकलन गरेको छ । तोकिएको लक्ष्यको दुई सय ९६ प्रतिशत भन्सार उठेको हो ।  

साउनका लागि तीन करोड ४५ लाख ७६ हजार तोकिएकामा १० करोड २४ लाख १५ हजार राजस्व उठेको भन्सार प्रमुख तिर्थराज पासवानले बताए । चालु आवका लागि ५३ करोड ४० लाख ३० हजार लक्ष्य दिइएको छ । स्तरोन्नति भएको ढेड वर्षपछि सुठौलीमा अहिले राजस्व सकलन राम्रो भएको प्रमुख पासवानले बताए ।  

कृष्णनगर र रूपन्देहीको बैलहिया नाकाबीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए । जारी लकडाउनमा लक्ष्यको करिब तीन सय प्रतिशत राजस्व उठ्नु आफैंमा राम्रो संकते भएको उनले बताए । यो नाकाबाट कृषिजन्य सामग्री भारतबाट बढी आयत हुने गर्छ । संकलित राजस्वमध्ये चामल, आलु प्याजलगातय सामग्रीबाट उठेका हो ।  

आव ०७६/७७ मा ४८ करोड राजस्व  
सुठौली भन्सारमा आव ०७६/७७ मा ४७ करोड ९५ लाख आठ हजार तीन सय ५२ रूपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष भन्सारका लागि ६२ करोड २१ लाख तीन हजार लक्ष्य तोकिएकामा त्यसको ७७ प्रतिशत मात्र राजस्व संकलन भएको हो । ०७५/७६ मा ४४ करोड ७८ लाख ३० रूपैयाँ राजस्व संकलन भएको थियो ।  

भन्सार प्रमुख तिर्थराज पासवानका अनुसार लकडाउनले भन्सार राजस्व संकलनमा प्रभाव परेको बताए । ८० प्रतिशत बढी रकम कृषिजन्य सामग्री आयतबाट उठेको हो । सबैभन्दा बढी असारमा सात करोड ८८ लाख रूपैयाँ उठेको थियो । यस्तै जेठमा पाँच करोड ७६ लाख चैतमा चार करोड १७ लाख तथा वैशाख तीन करोड ४१ लाख  उठेको थियो ।  

कृषि शुल्क, सुधार शुल्क, पैठारी, अग्रिम आयकर, मूल्य अभिवृद्धि करलगायत शीर्षकमा राजस्व उठेको हो । आलु, प्याज, गहुँ, तरकारी फलफूललगायत सामग्री यो नाकाबाट नेपाल ल्याइने गरिन्छ । ढेड वर्षअघि सरकारले सुठौलीलाई स्तरोन्नति गरी भन्सार कार्यालय बनाएको थियो । कृष्णगनरपछि जिल्लामै दोस्रो ठूलो नाका सुठौलीमा गोदामसमेत छैन । कर्मचारी र पूर्वाधार अभावले यो भन्सार नाकाको राजस्व संकलनमा प्रभाव परेको व्यापारी बताउँछन् ।

प्रकाशित: ४ भाद्र २०७७ ०६:४९ बिहीबार

राजस्व संकलन सुठौली भन्सार