अर्थ

प्रदेश ५ मा अमलेखगन्जबाट तेल

नेपाल आयल निगमले प्रदेश नं ५ का उपभोक्ताका लागि अमलेखगन्जबाट पेट्रोलियम पदार्थ पठाउन सुरु गरेको छ । नेपाल आयल निगम प्रदेश नं ५ को प्रादेशिक कार्यालय रूपन्देही भलवारी डिपोमा कार्यरत कर्मचारीमा कोरोना देखिएर डिपो सिल गरेपछि सोमबारदेखि निगमले अमलेखगन्ज डिपोबाट तेल पठाउन थालेको हो ।

प्रदेश नं ५ का पम्पका लागि सात सय २० किलोलिटर डिजेल र पेट्रोप पठाएको निगमको प्रदेश नं २ प्रादेशिक कार्यालय बारा अमलेखगञ्जका प्रमुख भरत रेग्मीले बताए । रेग्मीका अनुसार २० किलोलिटरका २७ ट्यांकरमा पाँच सय ४० किलोलिटर डिजेल र नौ वटा ट्यांकरमा एक सय ८० किलोलिटर पेट्रोल पठाएको हो । ‘डिपो सिल भए पनि तेल अभाब हुन दिँदैनौं,’ प्रमुख रेग्मीले भने, ‘त्यस क्षेत्रबाट मागेजति तेल दिएका छौं ।’ निगमको भैरहवा भलबारी डिपोबाट रूपन्देही, नवलपरासी, कपिलबस्तु, स्याङ्जा, अर्घाखाँची, गुल्मी र बागलुङको पश्चिम क्षेत्रका पम्पका लागि पेट्रोलियम पदार्थ बिक्री गर्छ । त्यस क्षेत्रमा तीन सय ११ पेट्रोल पम्पले पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन् । अमलेखगञ्जबाट पठाएका ट्यांकरलाई डिपोले सिधै डाइभर्ट गरेर पम्पमा पठाउने व्यवस्था मिलाएको छ । ११ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि निगमले पाँच दिनका लागि डिपो बन्द गरेको छ ।  

यता पेट्रोलियम व्यवसायीले भने प्रदेश ५का पहाडी जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा कठिनाई भएको जनाएका छन् । पश्चिमाञ्चल पेट्रोयिम डिलर्स एसोसिएसनले सहज आपूर्तिको व्यवस्था गर्न माग गरेको छ । सबै जिल्लामा सहज रूपमा पेट्रोलियम पदार्थ पदार्थको अभाव हुन नदिने व्यवस्थ मिलाउन आग्रह गरिएका एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले बताए । पहाडी पाँच जिल्लामा अमलेखगञ्ज डिपोबाट आउने गाडीबाट आपूर्ति गर्न भौगोलिक हिसाबले नसकिने र पहाडी जिल्लामा चल्ने ट्यांकरमा निगमले पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा पहाडी क्षेत्रमा इन्धन पदार्थको अभाव हुने देखिएको न्यौपानेले बताए ।

प्रकाशित: २ भाद्र २०७७ ०५:०० मंगलबार

नेपाल आयल निगम पेट्रोलियम पदार्थ