अर्थ

भक्तपुरको पाँंचतल्ले मन्दिरको जीर्णाेद्धारः इष्टमेट ६५ लाख, खर्च ३८ लाख

खर्च प्रतिवेदन प्रस्तुत गर्दै तमखू ।

भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिर जिर्णाेद्धारमा लागत इष्टमेट ६५ लाख भन्दा बढीको भए पनि अनुमान भन्दा निकै कम ३८ लाखमा इष्टिमेट अनुसारको सम्पूर्ण कार्य सम्पन्न भएको छ । ६५ लाख १२ हजार तीन सय ५८ रुपैयाँं २७ पैसा लागत इष्टमेट भएकोमा इष्टमेट अनुसारको सम्पूर्ण काम ३८ लाख ७७ हजार ६ सय २८ रुपैयाँं ४१ पैसामा सम्पन्न भएको जनाएको छ ।  

मन्दिर जीर्णोद्धार निर्देशक समितिको शुक्रबारको बैठकमा मन्दिर जीर्णाेद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले उक्त हिसाव किताव प्रस्तुत गरेका  हुन् । मन्दिर उपभोक्ता समितिमार्फत भएको हो । उपभोक्ता समितिमार्फत भएकोले जनश्रमदान तथा जनताबाट आर्थिक सहयोग प्राप्त भएकोले लागत इष्टमेट भन्दा कम खर्चमा काम सम्पन्न भई नगरपालिकालाई रकम बचाउन सफल भएको हो ।

प्रतिवेदनमा मन्दिर संरक्षण कार्यको लागि भक्तपुर नगरपालिकाको तर्फबाट इष्टमेट अनुसारको रकम विनियोजित भएकोमा विभिन्न सहृदयीबाट १५ लाख ४७ हजार पाँंच सय ६९ रुपैयाँं आर्थिक सहयोग प्राप्त भएको उल्लेख छ ।  यसका साथै नजिकै रहेको भैरवनाथ मन्दिर जीर्णाेद्धार गर्दा बाँंकी रहेको एक हजार ६ सय वटा र ख्वप इन्जिनियरिङ कलेजबाट एक सय १० वटा गरी जम्मा एक हजार सात सय १० वटा बास सहयोग प्राप्त भएको जनाएको छ । साथै, तिलमाधव नारायण मन्दिर, लोकेश्वर मन्दिरलगायत विभिन्न व्यक्तिबाट १७ हजार ६ सय ७० वटा झिंगटी, चार सय भन्दा बढी क्वपूअपा (विशेष प्रकारको इटा), चार वटा ग्वंग अपा (विशेष प्रकारको इटा), एक वटा घोडा अपा (विशेष प्रकारको इटा) र माटोलगायत विभिन्न सामग्रीहरू गरी जम्मा.पाच लाख ६३ हजार सात सय रकम बराबरको सहयोगको रुपमा प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

साथै मन्दिर संरक्षणको लागि झिंगटी सफा गर्न १५ समूहबाट तीन सय २१ जना र छाना छाउनको लागि ५४ समूहबाट तीन हजार आठ सय ६६ जना गरी जम्मा चार हजार एक सय ८७ जना सम्पदाप्रेमीहरूले श्रमदान गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मन्दिर संरक्षण कार्यको सिलसिलामा संरक्षण कार्य अवधिभर ज्यामी, मिस्त्री, सिकर्मी, ताम्रकर्मी र पोल्हँकर्मीसमेत गरी जम्मा दुई हजार तीन सय ६१ जनाले ज्यालामा काम गरेको  र उक्त संख्याको करिब दोब्बर जनताले श्रमदान गरी जनताको धरोहर संरक्षण कार्यमा योगदान गरेको उल्लेख छ ।

मन्दिर संरक्षण कार्यको लागि पहिलो पेश्की स्वरुप ३० लाख रुपैयाँ र चन्दा रकम १५ लाख ४७ हजार पाँंच सय ६९ रुपैयाँ गरी जम्मा ४५ लाख ४७ हजार पाँंच सय ६९ रुपैयाँं उपभोक्ता समितिलाई प्राप्त भएकोमा व्यापक जनश्रमदान र विभिन्न व्यक्तिहरूकाे उपलब्ध आर्थिक तथा भौतिक सहयोगबाट जम्मा नगद ३८ लाख ७७ हजार ६ सय २८ रुपैयाँं ४१ को खर्चमा इष्टिमेट अनुसारको सम्पूर्ण कार्य सम्पन्न भएको जनाएको छ । उक्त खर्च रकममध्ये ज्यालातर्फ २६ लाख १७ हजार पाँंच सय, सामग्रीतर्फ ११ लाख दुई हजार चार सय ७८ रुपैयाँं ४१ र भाडातर्फ एक लाख ५७ हजार ६ सय ५० खर्च भई बाकी रकम ६ लाख ६९ हजार नौ सय ४० रुपैयाँं ५९ पैसा भक्तपुर नगरपालिकाको पूँजीगत खर्चमा जम्मा गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

बैठक भक्तपुर नगरपालिकाका प्रमुख एवम् मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको थियो । बि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक ङातापोल्हँ मन्दिरको जीर्णोद्धार कार्य भक्तपुर नगरपालिकाको आर्थिक लागतमा २०७६ कार्तिक महिनाबाट सुरु भई २०७७ असार मसान्तसम्ममा कार्य सम्पन्न भएको थियो ।

बैठकले स्थानीय जनताको व्यापक जनश्रमदान तथा आर्थिक सहयोग समेत प्राप्त भई निर्धारित समयावधिभित्रै मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न भएकोमा उपभोक्ता तथा अनुगमन समितिमा रही सक्रियातापूर्वक जिम्मेवारी बहन गर्ने पदाधिकारीहरु, निर्देशक समिति र प्राविधिक समितिमा रहेर महत्वपूर्ण कार्य गर्ने पदाधिकारी र प्राविधिक सल्लाहकारहरु, जीर्णोद्धार कार्यमा खटेका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय ग¥यो ।

प्रकाशित: २३ श्रावण २०७७ १३:५७ शुक्रबार