अर्थ

प्रदेश १ लाई कृषिमा आत्मनिर्भर बनाइने

भवन सिल्यान्स कार्यक्रममा राज्यमन्त्री राना र समन्वय प्रमुख परियारलगायत । तस्बिर : महेश्वर/नागरिक

प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानामगरले प्रदेश १ लाई कृषिमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेको बताएका छन् । बुधबार सदरमुकाम गाईघाटस्थित पशु सेवा विज्ञ केन्द्र उदयपुरको ‘कार्यालय र आवास भवन’ सिल्यान्यास गर्दै राज्यमन्त्री रानाले प्रदेश सरकार जनतालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान छेडिसकेको बताए ।

राज्यमन्त्री रानाले कृषिको विकल्प कृषि नै भएको भन्दै तर, अव परम्परागत ढंगको कृषि पद्धतिलाई बदल्दै आधुनिक, वैज्ञानिक र प्रविधियुक्त तरिकाले गर्नुपर्ने धारणा राखे । कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण र प्रविधिमैत्री बनाउँदै प्रदेशबासी जनतालाई कृषिमा पूर्ण आत्मनिर्भर बनाउन प्रदेश सरकारले बिभिन्न कृषिमैत्री कार्यक्रम अघि सारेको उनले बताए । यो अभियानमा सफल हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको उनको भनाई थियो ।

राज्यमन्त्री रानाले साविक जिल्ला पशु सेवा कार्यालय (हाल पशु विज्ञ केन्द्र) परिसरमा निर्माण हुने भवनको सिल्यान्यास गरे । १४ कोठे अढाई तले भवन आधुनिक र सुविधा सम्पन्न हुने पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. अजयकुमार साहले बताए ।

उनका अनुसार पुरानो र जिर्ण भवनमा बसेर कार्यालय सञ्चालन गर्न बाध्य कार्यालयले आर्थिक वर्ष ०७६/७७ मै नयाँ भवन निर्माण कार्य थाल्ने तयारी गरेको थियो । तर, विश्वभर फैलिएको कोरोना भाईरस (कोविड–१९) बाट बँच्न सरकारले चैत ११ देखि जारी गरेको लकडाउनले भवन निर्माण सुरुवात चालु वर्षसम्म धकेलिएको साहले बताए ।

मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक २ करोड ८२ लाख ९४ हजार १ सय ५६ रुपैंया लागत मूल्यको भवन भ्याटबाहेक १ करोड ९८ लाख ७७ हजार ५ सय ८२ रुपैंयामा निर्माणसम्झौता भएको लेखा अधिकृत विजय गेलालले बताए । अधिकृत गेलालका अनुसार निर्माण व्यवसायीबीच प्रतिस्पर्धा हुँदा घटाघटमा ३२ प्रतिशत कम मूल्यमै भवन बन्न लागेको हो ।

गत असार १२ गते सम्झौता भएको भवन निर्मााको जिम्मा पवित्र निर्माण सेवा गाईघाटले पाएको छ । भवन आगामी दुईवर्ष अर्थात २०७९ असार ७ गतेभित्र बनाईसक्ने गरी सम्झोता भएको केन्द्रका प्रशासन अधिकृत अर्जुन खड्काले बताएका छन् ।

भवन सिल्यान्यासपछि राज्यमन्त्री राना बुधबारै जिल्ला समन्वय समितिको ‘वार्षिक समीक्षा कार्यक्रम’मा सहभागी हुँदै कृषि व्यवसायलाई सबै स्थानीयतहमा प्राथमिक्ताका साथ लागू गर्न आग्रह गरे । उनले त्यसको समन्वय गर्न जिल्ला समन्वय समितिले सक्दो भूमिका खेल्न आग्रह गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय प्रमुख खड्ग परियारले प्रदेश सरकारले थालेको कृषि क्रान्ति अभियान सफल बनाउन जिल्ला समन्वयले कुनै कसर बाँकी नराख्ने बताए । स्थानीयतहको मात्र पहलले कृषिलाई उपलब्धीमूलक बनाउन नसकिने भन्दै आधुनिक तरिकाले वैज्ञानिकरण, यान्त्रिकरण र प्रविधिमैत्री कृषि व्यवसायका लािग प्रदेश र संघीय सरकारबाट पनि उत्तिकै सहयोग हुनुपर्ने मागग परियारले गरे । पछिल्लो ६ महिनायता विश्वभर फैलिएको कोरोना कहरले कृषि नै जनताको निर्बिकल्प आयआर्जनको माध्याम भएको भन्दै प्रमुख परियारले तर, संघ, प्रदेश र स्थानीयतहको समन्वय हुनुपर्नेमा जोड दिए ।

प्रकाशित: २१ श्रावण २०७७ १६:३८ बुधबार

कृषि आत्मनिर्भर बनाइने