अर्थ

सातामै उप्कियो कालोपत्रे

कोहलपुर नगरपालिका –११ मा कालोपत्रे उत्रिएको सडक । तस्बिर: नागरिक

बाँकेको कोहलपुर नगरपालिका–११ मा सडकमा गरिएको कालोपत्रे एक हप्ता नपुग्दै उप्किन थालेको छ । गुणस्तरीय सामग्रीको प्रयोग नहुँदा हप्तादिन नपुग्दै कालोपत्रे उप्किन थालेको स्थानीयको भनाइ छ । ठेकेदार कम्पनी ‘पिस कन्स्ट्रक्सन’ले निर्माण गरेको कालोपत्रे हप्तादिनमै उत्रिएको छ । कोहलपुर नगरपालिका कार्यालयका अनुसार सडक निर्माण गर्न गत असार १४ गते ४९ लाख रूपैयाँमा ठेकेदारसँग सम्झौता भएको थियो ।

सम्झौता भएपछि काम सुरु गरेको उक्त कम्पनीले साउन २ गते सडकमा कालोपत्रे गरेको थियो । सडकमा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएका कारण कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ । ‘कालोपत्रे निर्माण भएपछि दुई दिनसम्म पनि सुकेन, त्यसपछि कालोपत्रे धमाधम उप्किन थाल्यो, त्यसपछि सडकमा प्रयोग भएका सामग्री गुणस्तरीय नभएको पुष्टि भयो,’ एक स्थानीयले भने ।

सडक कालोपत्रे गर्न संघीय सरकारको समपूरक शिर्षकबाट ४१ लाख र नगरपालिकाको ४१ लाख गरि जम्मा ८२ लाख रूपैयाँको प्राविधिक प्रतिवेदन तयार गरिएको थियो । तर सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनीसँग ४९ लाख रूपैयाँमा सम्झौता भएको थियो । नगरपालिकाका इन्जिनियर बालकृष्ण महतराले कालोपत्रे गरेको सडक दुई÷तीनदिनसम्म पनि ‘सेट’ भएन त्यसपछि सडक भत्किएको बताए । उनकाअनुसार ९ सय मिटर मध्ये करिब ७ सय मिटर सडक कालोपत्रे भएको र ३ सय मिटरमा कालोपत्रे उप्किएको हो । ‘कालोपत्रे सेट नभएपछि सडकको गुणस्तरबारे यहाँका स्थानीयले हामीलाई खबर गरे,’ इन्जिनियर महतराले भने, ‘हामीले पनि सडक निर्माण भइरहेको ठाउँमा पुगेर निरीक्षण गरेका थियौं, गुणस्तर नभएको देखेपछि ठेकेदारलाई पुनः काम गर्न लगाएका छौं ।’

ठेकेदारले आफ्नो कमजोरी स्वीकार गरिसकेको र सडक पुनःनिर्माण गर्ने प्रतिवद्धता जनाएर काम सुरु गरेको उनको भनाइ छ । ‘अहिलेसम्म काम सम्पन्न भइसक्थ्यो होला, बीचमा पानी परेर काम रोकिएको हो,’ उनले थपे । सम्झौता अनुसारको म्याद आगामी भदौ अन्तिमसम्म बाँकी रहेकाले तोकिएको समय भित्र सम्पन्न हुने उनको विश्वास छ । पुनः गुणस्तरीय सामग्रीको प्रयोग नगरेमा निर्माण कम्पनीलाई भुक्तानी नदिने इन्जिनियर महतराको भनाइ छ । अहिलेसम्म निर्माण कम्पनीले नगरपालिकाको कार्यालयबाट २० लाख रूपैयाँ भुक्तानी लिएको छ, भने बाँकी भुक्तानी भएको छैन ।

ठेकेदार शुवास गिरीले सडक निर्माणको काम सम्पन्न नभएको र निर्माणकै क्रममा रहेको बताए । सम्झौताको म्याद भदौ अन्तिमसम्म बाँकी रहेको र कालोपत्रे निर्माण गरेपनि आफैलाई चित्त नबुझेपछि भत्काएर पुनः काम सुरु गरिसकेको उनको भनाइ छ । ‘सडक अहिले पनि निर्माणकै क्रममा छ, अझै ३० प्रतिशत काम बाँकी नै छ,’ उनले भने ‘सडकमा गुणस्तरहिन सामग्रीको प्रयोग भएको होइन, केही प्राविधिक कुरा नमिलेर मात्रै समस्या आएको हो ।’

नगरपालिकाका उपमेयर एवं अनुगमन समितिका संयोजक सञ्जुकुमारी थारुले सडकको कालोपत्रे उम्किएपछि ठेकेदारलाई पुनः बनाउन लगाइएको जनाइन् । ‘कालोपत्रे गरेको सडक हो, प्राविधिकसहित हामीले पनि अनुगमन ग-यौं, ठेकेदारलाई तीन÷चार सय मिटर जति भत्काएर पुनःनिर्माण गर्न लगाएका छौं,’ उनले भनिन् ।

प्रकाशित: २१ श्रावण २०७७ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App